“फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला”

“फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला”

काठमाडौं, ३० जेठ । राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधनको माग गर्नेहरु अहिले सरकार र प्रतिपक्ष दुवैतिर रहेकोे भन्दै विगतको प्रतिबद्धतालाई नभूल्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, “हामीलाई ससदबाट नधकेल्नुस्, हामी संसदबाहिर जाँदाको समयको याद होला तपाईलाई? यही ठाउँबाट हामी गएका हौँ बाटोमा, फेरि हामी बाटोमा गयौ भने यो देशको स्वास्थ्य राम्रो रहन नसक्ला ।” संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चतावनी दिएका छन् ।

उनले थपे, “सरकारलाई अबिलम्ब यसबारेमा चिन्तन गर्न र अन्य पार्टी पनि सरकारमा खुसी भएर नबस्नुहोस् यो विषयमा तपाईंहरु पनि अगाडि बस्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।”

काठमाडौंको माइतीघर मण्डलामा दिनहुँ आन्दोलन र जुलुस भइरहेको भन्दै उनले सरकार र संवैधानिक निकायले संसदको मर्यादा र गरिमाको उपहास गर्ने काम गरेको आरोप लगाए । उनले भने, ’संसदको निर्देशन सरकारले नमान्ने, संसदीय समितिको निर्देशन लोकसेवा आयोगले नमान्ने हो भने त योभन्दा ठूलो उपहास संसदको हुँदैन ।’ संसदको गरिमा कायम नहुने र सांसदको आवाजको सुनुवाइ नहुने हो भने संसदमा उभिएर बोल्नुको अर्थ नरहेको भन्दै उनले संसद र संसदीय समितिका निर्देशन पालना गरेर संसदको मर्यादा र गरिमा कायम राख्न आग्रह गरे । 

लोकसेवा आयोगका सम्बन्धमा संसदीय समितिबाट गएको निर्देशनलाई लोकसेवा आयोगका अध्यक्षले मान्दिन भन्नु संसदको उपहास भएको उनले बताए । उनले प्रश्न गरे, संसदले निर्देशन जारी गर्ने सरकारले नमान्ने, सम्बन्धीत मन्त्रीले पनि नमान्ने, लोकसेवा आयोग पनि नमान्ने भन्या छ भने लोकसेवा आयोगमाथि अर्को कुनै संस्था छ कि यही संसद हो? यही संसदले निगरानी गर्ने बाहेक अन्य कुनै सस्था बन्या छ?’