दीगो विकास लक्ष्य पूरा गर्न दैनिक साढे पाँच अर्बको लगानी आवश्यक

दीगो विकास लक्ष्य पूरा गर्न दैनिक साढे पाँच अर्बको लगानी आवश्यक

काठमाडौ । संयुक्त राष्ट्र संघसमर्थित विश्वव्यापी  अभियान अन्तर्गतको दीगो विकास लक्ष्य पूरा गर्न नेपालले दैनिक साढे पाँच अर्ब रूपैयाको लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

गरिबी निवारण, शिक्षा, स्वास्थ्य, वातावरणदेखि सफा ऊर्जा, औद्योगिकीकरण, शहरी विकास, सूचना प्रविधि र सुशासनजस्ता विषयका लक्ष्यहरूलाई दीगो विकास लक्ष्य अन्तर्गत राखिएका छन् ।

दीगो विकास लक्ष्य पूरा गर्न राष्ट्रिय योजना आयोगले विकासको खाका कोरेको छ । यो लक्ष्य पूरा गर्न नेपालले वर्सेनी २२ खर्ब २४ अर्ब ८० करोड रूपैयाको लगानी लगाउनुपर्ने आवश्यकता औंल्यइएको छ ।

यो लक्ष्य सन् २०३०सम्म पूरा गर्नुपर्ने गरी तोकिएको छ ।

राष्ट्रसंघको यो लक्ष्य सन् २०१६देखि शुरू भएको छ । सन् २०१५सम्मको सहश्राब्दी विकास लक्ष्य पछि अर्को चरणको विकास लक्ष्यलाई दीगो विकास लक्ष्यको रूपमा परिभाषित गरिएको छ ।

अहिलेसम्म दीगो विकास लक्ष्यको क्षेत्रमा नेपालले के कति प्रगति गरेको छ त्यसको नयाँ प्रतिवेदन नेपालस्थित राष्ट्रसंघीय नियोगले केही समय भित्र सार्वजनिक गर्ने देखिएको छ ।

क्षेत्रगतरूपमा अन्यदेशको तुलनामा राष्ट्रसंघीय विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा राम्रो प्रगति हासिल गरेको अहिलेसमम देखिएको नियोगका प्रतिनिधिहरूले जनाउँदै आएका छन् ।

तर नेपालका लागि दीगो विकास अन्तर्गतका लक्ष्यहरू पूरा गर्न अब ११ वर्ष मात्र बाँकी रहेको छ ।

नयाँ सरकारले यसमा विषय ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ । सरकारले लिएको नारा समृद्ध नेपाल र सुखी नेपालीलाई कार्यान्वन गर्न सके दीगो विकास लक्ष्य भेटाउन गाह्रो नभएको यस क्षेत्रमा क्रियाशील कार्यकर्ताहरूको बुझाइ छ ।

सहश्राब्दी विकास लक्ष्य प्राप्त गरेको बेला देशमा सशस्त्र युद्ध चलिरहेको थियो ।

त्यसबेला सहश्राब्दी विकास लक्ष्यमा राम्रो प्रगति हासिल गरेको नेपालले दीगो विकास लक्ष्य हासिल गर्न नेपाल पछि नपर्ने उनीहरूको विश्वास छ ।