कोशी टप्पु वन्यजन्तुको शिकार बन्दै सर्वसाधारण

कोशी टप्पु वन्यजन्तुको शिकार बन्दै सर्वसाधारण

सप्तरी, ३२ जेठ । सुनसरी, सप्तरी र उदयपुर जिल्लाका केही भागमा फैलिएको कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्किने हात्ती र अर्ना लगायतका जनावरले आरक्ष वरिपरिका स्थानीयहरुलाई आतंकित बनाएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको आरक्षबाट निस्केको हात्ती र अर्नाले आरक्ष वरिपरिका सप्तरीको पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनताहरु त्रसित छन् । 

हात्ती, अर्ना लगायतका जंगली जनावरको आक्रमणबाट सप्तरी र सुनसरीमा बर्सेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । आरक्षको हात्ती र अर्ना लगायतको आक्रमणबाट हालसम्म कञ्चनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षिया दुर्गीदेवी मुखिया, कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, वैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादव लगायतले ज्यान गुमाइसकेका छन् । 

जंगली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भए पनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ । विगत दुई वर्षको अवधिमा स्थानीय सुवाराम चौधरी, गोपाल राउत, प्रेम खत्री लगायत एक दर्जनभन्दा बढीलाई जंगली जनावरले घाइते बनाएको छ ।

वि.सं. २०३२ सालमा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । कुल एक सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यो आरक्ष सन् १९८७ रामसार सूचीमा सुचीकृत भई नेपालको पहिलो ठूलो रामसार क्षेत्रको रूपमा चिनिएको छ । यस आरक्षमा चार सय ८९ प्रजातिका चराहरू, दुई सय १९ को संख्यामा दुर्लभ अर्ना र करिव ११–१२ वटा दुर्लभ डल्फिन समेत संरक्षित रहेका छन् । 

स्थापनाकालदेखि नै कोशी टप्पु आरक्षको जीवजन्तुहरुले बर्षेनी उत्पात मच्चाउँदै व्यापक धनजनको क्षति पु¥याउँदै आएकाले यसको नियन्त्रणको ठोस पहल गर्न सरकारसँग स्थानीयहरुले आग्रह समेत गरेका छन् । 

कोशी टप्पु आरक्षको जीवजन्तुहरुको उत्पातबाट आफुहरुको जीवन नै संकटमा परेको छ, कञ्चनरुप नगरपालिका ३ का स्थानीय सुरेन्द्र यादव भन्छन् “विगतका सरकारहरुबाट आरक्षका जनावरहरु नियन्त्रणका पहल भएन्, अहिलेको सरकारले गर्छ कि भन्ने विश्वास लागेको छ ।”

पटकपटक जंगली जनावरहरुको नियन्त्रणको लागि स्थानीयहरुबाट माग उठ्दै आए पनि सरकारी स्तरबाट खासै कुनै पहल नभएको सुनाउँदै पूर्व सांसद समेत रहनुभएका कञ्चनरुप नगरपालिका निवासी मानपुर चौधरी भन्छन् “आफू संसदमा पनि कति पटक कोशी टप्पुको जंगली जनावरहरुको नियन्त्रणबारे कुरा उठाए पनि कुनै ठोस प्रगति हुन सकेको छैन् ।” 
  
 जंगली जनावरले हैरान पारेपछि कञ्चनरुप नगरपालिकावासीहरुले सरकारलाई दबाब दिन केही दिनअघि आन्दोलनको तयारी समेत गरे । तर, सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले आन्दोलन छोडेर अर्को विकल्प रोज्न आग्रह गरेपछि आन्दोलन स्थगित गरेका छन् ।

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले आरक्षबाट निस्कने जंगली पशुको आक्रमणमा परी यस वर्ष मात्रै तीन जना किसानले ज्यान गुमाएको स्मरण गराउँदै यसको दीर्घकालीन समाधान नखोजे जनताको जीवनरक्षाका लागि आफनै नेतृत्वमा आन्दोलन सुरु गर्ने चेतावनी हुन्छ । 
     
हात्ती, अर्ना, भालु लगायतका जंगली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन सप्तरीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुसँग समत आग्रह गर्दै आएका छन्  ।