भारतले पनि अमेरिकी उत्पादनमा अतिरिक्त भन्सार शुल्क लगाउँदै

भारतले पनि अमेरिकी उत्पादनमा अतिरिक्त भन्सार शुल्क लगाउँदै

काठमाडौ । भारतले अमेरिकी उत्पादनको आयातमा अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय गरेको छ ।स्याउ, बदाम र ओखरलगायत २८ अमेरिकी उत्पादनहरूको भारत प्रवेशमा अतिरिक्त भन्सार शुल्क लगाउने निर्णयको कार्यान्वयन गर्न लागेको हो ।

अमेरिकाले भारतलाई दिँदै आएको व्यापार विशेष सहुलियतको कटौती गरेपछि त्यसको जवाफमा यो निर्णय लिइएको हो ।

यसैगरी अमेरिकी फलाम र स्टिलका उत्पादन, स्टिल र फलामका छड र पाता, बोरिक एसिड, टयुब एवं पाइप जोड्ने जोर्नी, स्क्रु, बोल्टजस्ता उत्पादन समेतमा अतिरिक्त भन्सार शुल्क लगाइनेछ ।

भारतले यी वस्तुमा अतिरिक्त भन्सार शुल्क लगाएपछि उसलाई अमेरिकी आयातबाट करिब २१ करोड ७० करोड अमेरिकी डलर बराबरको अतिरिक्त आमदानी प्राप्त हुन सक्ने देखिएको भारतीय सञ्चार माध्यमले यसअघि सार्वजनिक गरेका थिए ।

भारत सरकारले सन् २०१८को जुन महिनामा अमेरिकी उत्पादनको आयातमा १२० प्रतिशत सम्म आयात कर बढाउने सूचना सार्वजनिक गरेको थियो ।

भारतले सो आदेशको कार्यान्वयनलाई अमेरिका र भारतबीच व्यापार सम्बन्धी छलफल जारी रही आएकोले ढिलाइ गरिएको थियो ।

तर सन् २०१९को मार्च महिनामा अमेरिका र भारतबीचको अडान कायम रहयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको स्टिलमा २५ प्रतिशत र अल्मुनियममा १० प्रतिशत अतिरिक्त भन्सार शुल्क थप्ने जनाएपछि दुई देशबीचको व्यापार अडान कायम रहन गएको थियो ।

।अमेरिकाको यो व्यापारिक आक्रमणबाट भारतलाई करिब २४ करोड अमेरिकी डलर बराबरको घाटा हुन पुगेको थियो ।

यसको समाधान गर्न साझा बाटो फेला पार्न नसकिएपछि अमेरिकाले भारतलाई दिँदै आएको विशेष सहुलियत हटाउने निर्णय जुन महिनाको शुरूमा गरिएको थियो ।

यसबाट ५.५ अर्ब अमेरिकी डलर बराबरको भारतीय उत्पादन प्रभावित हुन पुग्यो ।

विगतका दशकहरूमा अमेरिका र भारत एक अर्काका लागि प्रमुख व्यापार साझेदार रही आएका छन् । सन् २०१८मा दुबै देशबीचको व्यापरिक कारोबार १ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबर रहेको थियो ।