काठमाडौंको न्युरोडमा ‘स्मार्ट पार्किङ’ सेवा सुरु, यस्तो छ शुल्क र स्थान

काठमाडौंको न्युरोडमा ‘स्मार्ट पार्किङ’ सेवा सुरु, यस्तो छ शुल्क र स्थान

काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा आजदेखि न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको छ । न्यूरोडका पाँच स्थानमा यो सेवा सुरु गरेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । 

स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको जानकारी दिन्दै शाक्यले यसलाई पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको हुँदा आगामी दिनमा परिस्कृत गर्दै लगिने बताए । यो प्रोजेक्टले नागरिकलाई सेवा दिने मात्र नभई यसले १०० जनालाई रोजगारी समेत दिने शक्यको भनाई छ । 

स्मार्ट पार्किङस्थका लागि महानगरपालिकाले दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीका लागि प्रति घण्टा ८० रुपैयाँ तोकेको छ । व्हिल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था लागू भएको हो । यस स्थानमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

सेवाका लिनका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।