काठमाडौमा डेंगु फैलिने खतरा

काठमाडौमा डेंगु फैलिने खतरा

काठमाडौ २ असार । लामखुट्टेको प्रजननका लागि सर्वाधिक उचित वातावरण मध्ये एक अहिले काठमाडौंको वातावरण तयार भएकाले यहाँ डेंगु ज्वरो फैलिन सक्ने खतरा बढेको स्वास्थ्यकर्मीहरूले चेताएका छन् ।

उच्च तापक्रम र आद्रताले निर्माण गर्ने वातावरण लामखुट्टेको प्रजननका लागि काठमाडौमा अनुकूल देखिएको उनीहरूको भनाइ छ ।

डेंगु प्रभावित क्षेत्रका मानिस र बिरामीहरू उपचारका लागि काठमाडौंमा आउने गरेका छन् ।

उनीहरू हवाइ जहाज वा बसबाट आउँदा संक्रमित पार्ने लामखुट्टे त्यसैगरी काठमाडौ आउन सक्ने सम्भावना भएकाले यस्तो खतरा औंल्याइएको हो ।

शुक्रराज सरूवा रोग अस्पतालबाट डेंगुको बिरामीको उपचार गरी पठाइएको र त्यस बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले यस्तो बताएका हुन् ।

एक सर्वेक्षण अनुसार  धरान, सुनसरी, मोरङ र इटहरीबाट डेंगु संक्रमितको संख्या ५७६ रहेको थियो ।

ती मध्ये ५०४ बिरामीमा डेंगु रहेको पुष्टि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको पाइएको छ ।

ती मध्ये डेंगुका सर्वाधिक संक्रमित धरान उपमहानगरपालिका वार्ड नम्बर ८ र १५बाट रहेको पाइएको छ ।

गत वर्ष ८ डेंगुका बिरामी पहिले धरानबाट फेला परेका थिए ।

डेंगुको प्रकोप काठमाडौंमा फैलिएको छैन् तर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा डेंगु प्रभावित क्षेत्रबाट काठमाडौमा मानिसहरू आउने गरेका छन् ।

डेंगु सार्ने लामखुट्टेका लागि काठमाडौको वातावरण अनुकूल भएकाले यहाँ यसको खतरालाई इनकार गर्न नसकिने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

बच्ने सबैभन्दा राम्रो उपाय भनेको पानी जम्न र फोहर थुप्रिन नदिनु हो ।