जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी पार्टी एकीकरण गरेका हौँः प्रचण्ड

जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी पार्टी एकीकरण गरेका हौँः प्रचण्ड

काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताएका छन् । 

सोमबार पार्टी कार्यालयमा जनयुद्धका शहीद रितबहादुर खड्का (प्रताप ) को १७ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा अध्यक्ष प्रचण्डले जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने लक्ष्यका साथ पार्टी एकता गरिएको बताए ।

उनले नेकपाका दुवै धारका नेताहरुको सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौैं शताब्दीको जनवाद दुबैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको हुँदा कसैले पनि कन्फ्युजमा पर्न नहुने बताए ।

उनले शहीदहरूको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दाबी गर्दै दुई पार्टीबीचको एकता सिद्धान्तहीन ढंगले नभएको पनि दोहोर्याए । पार्टीलाई आजको युग सुहाउने गरी सिद्धान्तको परिमार्जन र विकसित गर्दै लैजानु पर्ने उनको भनाई थियो ।