‘हामी तिम्रो निम्ति ल्याटिन अमेरिकी भियतनाम हुन सक्छौँं ।’

‘हामी तिम्रो निम्ति ल्याटिन अमेरिकी भियतनाम हुन सक्छौँं ।’

भेनेजुएली सेनामा लोकप्रिय हुँदै गएको यो नारा हो । कुनै दिन भेनेजुएला यो शताब्दीको भियतनाम भयो भने पनि अनौठो मान्नु पर्दैन । पूरै विश्व यतिखेर भेनेजुएला प्रकरणमा विभाजित भएको छ । नेपाल पनि यसमा अछुतो रहेन । हाम्रो मुलुकको राष्ट्रियता र स्वाधीनताको कुरा उठान गरेर नथाक्नेहरुले भेनेजुएला मामिलामा कस्तो रुख अपनाउँछन् ? यसैमा तिनको राष्ट्रिय राजनीतिमा परख हुनेछ । एसिया–प्रशान्त र हिन्द–प्रशान्त रणनीतिमा हरियो झण्डा देखाउनेहरुका लागि भेनेजुएला रातो झण्डा लिएर आउँदैछ । यदि यो प्रकरण त्यत्तिकै सेलाएन भने ।

को कता छन् ?

अमेरिकी धुरीका वेलायत, क्यानडा, फ्रान्स, जर्मनी, बेल्जियम स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुएइडोको पक्षमा छन् । यता जनताबाट निर्वाचित राष्ट्रपति निकोलास मादुरोको पक्षमा रुस, चीन, भारत, पाकिस्तान, इरान, दक्षिण अफ्रिका, क्युबा,  निकारागुआ, बोलिभिया, सेन्ट भिन्सेन्ट, ग्रेनेडिन्स, गिनी, बार्बाडोस, सुरिनाम आदि देशहरु खुलेका छन् । यसरी नै नेपाल लगायतका विश्वका कैंयौं कम्युनिष्ट पार्टीहरु खुलेरै भेनेजुएलाको मदुरो शासनको पक्षमा आएका छन् ।

यतिमात्र होइन स्रोत (न्युजक्लिक, २६ जनवरी २०१९) का अनुसार सम्भावित भियतनाम हुन नदिन विश्वभरका ७१ जना विभिन्न क्षेत्रका विज्ञ र विशिष्ट व्यक्तिले सार्वजनिक विज्ञप्ति निकालेर अमेरिकाको युद्ध पिपासु नीतिको कडा शब्दमा भत्र्सनासमेत गरेका छन् । अमेरिकाभित्रै पनि अमेरिकी ट्रम्प प्रशासनको विरुद्ध वौद्धिकहरु अगाडि आएका छन् । 

प्रोफेसर नोम चौम्स्की, प्रोफेसर, इमेरिट्स, म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी, लाउरा कार्लसन, निर्देशक, अन्तर्रा्ष्ट्रिय नीति केन्द्र अमेरिकी कार्यक्रम, गेग ग्राडिन, इतिहासका प्राध्यापक, न्युयोर्क युनिभर्सिटी, मिगुएल टिंकर सालास, ल्याटिन अमेरिकी इतिहासका प्राध्यापक, पोमोनो युनिभर्सिटी, सुजथा फर्नान्डेज, राजनीतिक अर्थतन्त्र र समाजशास्त्रका प्रध्यापक, सिड्नी युनिभर्सिटी, स्टिभ इलेनर, ल्याटिन अमेरिकी प्रस्पेक्टिभका सहायक प्रबन्ध सम्पादक, अल्फ्रेड डी जायास आदि हुन ।

 यसरी नै भेनेजुएलाका लागि संयुक्त राष्ट्रसंघीय मध्यस्थकर्ता, बुट्स रिले, लेखक, निर्देशक र संगीतकार, जोन पिल्जर, पत्रकार तथा चलचित्र निर्मार्ता, मार्क वेइस्ब्रोट, आर्थिक तथा नीति अनुसन्धान केन्द्रका सह–निर्देशकलगायत छन् । तिनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको सरकारद्वारा भेनेजुएलाको आन्तरिक राजनीतिमा, विशेषतः भेनेजुएलाको सरकार अपदस्थ गर्ने उद्देश्यले चालिने कुनै पनि हस्तक्षेप बन्द गर्नुपर्छ । ट्रम्प सरकार र उसका सहकर्मी देशहरूले दक्षिणी गोलाद्र्धमा चालेको कदमले भेनेजुएलाको अवस्था खराब बनाउने निश्चितप्रायः छ । यसले अनावश्यक मानवीय दुःख, हिंसा र अस्थिरता निम्त्याउनेछ ।’ 

यस्तो हिंसा र अराजकता निम्त्याउने मानवता विरोधी, युद्धअपराधी हर्कतको विरुद्ध कित्ताबन्दी नहुने हो भने यसले निम्त्याउने दुर्घटनाको सिकार अरु देश हुने निश्चित छ । तर, नेपालका बाम वौद्धिकहरुले संगठीत रुपमा यस्तो भत्र्सना गर्न भ्याइसकेका छैनन् । विश्व कम्युनिष्ट आन्दोलमाथि भएको यो हस्तक्षेपलाई दर्शकदीर्घामा बसेर टुलुटुलु हेर्नुको अर्थ रहस्यमय बन्दै गएको छ ।

मदुरोको अपिल 

यता निकोलस मुदरोले अमेरिकी जनतालाई भेनेजुएला विरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले लड्न खोजेको अर्को भियतनाम युद्ध रोक्न लगाउन आग्रह गरेका छन् ।
मदुरोले भनका छन्, ‘ट्रम्प भन्दा तपाई ठूलो हो । भेनेजुएला विरूद्ध अर्को भियतनाम युद्ध लड्न रोक्न लगाउनुस ।’

उनले भेनेजुएलामा आर्थिक संकट रहेको र त्यसको समाधान देशभित्रैबाट खोजिनुपर्ने बताएका छन् । भियतनाम युद्धमा ५८ हजार अमेरिकी सैनिकको ज्यान गएको थियो । सन्  १९७३ मा अमेरिकी सैनिक फिर्ता गरिएको थियो ।

भेनेजुएला कमजोर छैन  

ह्युगो चाभेजले भेनेजुएलाले अमेरिकी नवउदारवादी हतियारलाई खारेज गरेपछि नै अमेरिका आतंकित भयो । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैँकसँग सम्बन्धविच्छेद गरेपछि अमेरिकाले भेनेजुएलाको प्राकृतिक स्रोत तेल भण्डार, सुन र हिरा खानीमा कब्जा गर्ने कुनियतमाथि तुषारापात भयो । अमेरिकाको नाकै मुनि उसको स्रोतमाथि कब्जा जमाउने षडयन्त्रलाई चिरेपछि नै भेनेजुएलामाथि अमेरिकी आक्रमण केन्द्रित भएको हो । 

तर, भेनेजुएला स्रोतमा मात्र सम्पन्न छैन, त्यहाँभित्रको आन्तरिक राष्ट्रियता र स्वाधीनताको भावना पनि बलियो जनमत छ, संगसंगै विश्वको राजनैतिक रंगमञ्चमा भेनेजुएलालाई सघाउन शक्तिसम्पन्न देशहरु खुलेरै पक्षमा लागेका छन् । स्वयम् अमेरिकामा पनि ट्रम्प प्रशासनको बहुलठ्ठीपूर्ण नीतिको विरुद्धमा वुद्धिजीवीहरु एकाकार भएका छन् ।