कर्णाली नदीमा बेपत्ता जीप खोज्न सेनाको हेलिकप्टरबाट तालिमप्राप्त गोताखोर टोली आउँदै

कर्णाली नदीमा बेपत्ता जीप खोज्न सेनाको हेलिकप्टरबाट तालिमप्राप्त गोताखोर टोली आउँदै

हुम्ला, ४ असार । हुम्लाको खार्पुनाथबाट मंगलबार कर्णाली नदीमा खसेको जीपसहतिका मानिसहरुको खोजि गर्न काठमाडौंबाट नेपाली सेनाको हेलीकप्टरमार्फत् गोताखोरको टोली आउन लागेको छ ।

पानीको वहाव धेरै भएका कारण स्थानीय सुरक्षाकर्मीले बेपत्ता जीपको खोजी गर्न नसकेपछि काठमाडौंबाट तालिमप्राप्त गोताखोर ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक ठाकुरकुमार राईले जानकारी दिए । 

नेपाली सेना र प्रहरीले कर्णाली नदीमा पसेर खोजतलास गर्ने क्रममा बेपत्ता खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको झोला र अन्य कपडा फेला परेको छ । 

मंगलबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका–५ स्थित कैलाबालुमा  जीप नदीमा खसेको थियो । जीप चालकसहित १० जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा गाउँपालिका उपाध्यक्ष सिन्धु शाही, खार्पुनाथ गाउँपालिका–५ की १८ वर्षीया वसन्ती शाही, खार्पुनाथ–४ की २७ वर्षीया डुकु भण्डारी, २४ वर्षका चन्द्र हमाल, सिमीकोट गाउँपालिका–८ का जीप चालक मणिजंग शाही, खार्पुनाथ–५ का १३ वर्षीया नन्दादेवी सिंह,  १२ वर्षका गोकुल सुनार, खार्पुनाथ–१ की २४ वर्षीया कौडा परियार, उनका दुई वर्षका छोरा (नाम नखुलेको) र काठमाडौंबाट आएका राजु श्रेष्ठ छन् ।