चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई लक्ष्मणलाल कर्णको चेतावनी

 चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई लक्ष्मणलाल कर्णको चेतावनी

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेकाले आफुहरुलाई चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कर्णले सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप लगाउँदै भने, ‘सरकार कुन बेला बोल्ने ? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाईराखेको रहेछ । संख्यागत रुपमा हामी जति भएपनि रोष्टम घेर्नका लागि हामी डराएको होइन । ’

उनले सरकारले प्रतिपक्षका आवाज सुन्नु पर्ने भन्दै आफुहरुले संसदीय मर्यादाको पालन गर्दै आएको र सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुने र रोष्टम घेराउ गर्न बाध्य हुने बताए । 

उनले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको पनि आरोप लगाए ।  सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै कर्णले संसदीय मर्यादा कायम गराउनेतर्फ सभामुखको ध्यानाकर्षण गराए ।