अमेरिकाले जुनसुकै बेला इरानमाथि आक्रमण गर्ने 

अमेरिकाले जुनसुकै बेला इरानमाथि आक्रमण गर्ने 

काठमाडौं । अमेरिकाले इरानमाथि आक्रमण गर्ने सबै तयारी पूरा गर्ने क्रममा न्यूजर्सीको नेवार्क विमानस्थल देखि भारतको व्यावसायिक राजधानी मुम्बइका लागि अमेरिकी विमान सेवाका उडानहरूलाई स्थगित गरेको छ ।

यो उडान सेवा इरानको हवाइ क्षेत्रबाट भएर जाने गरेकाले अमेरिकाले यस्तो आदेश दिएको हो ।

यसअघि अमेरिकाले आफ्नो निगरानी ड्रोनलाई इरानले मारहानी खसाएको आरोप लगाएको छ ।

इरानले भने त्यो आरोपलाई गलत भनी जवाफ फर्काएको छ ।

६० हजार फिटको उचाइँमा उडान भर्न सक्ने मानवरहित ग्लोबल हाक नामक विमानलाई मारहानी खसाएको  आरोप खाडी क्षेत्रको नयाँ तनावको विषय बनेको छ ।

यस क्षेत्रमा ६ तेल टयांकरलाई विस्फोट गराइ ध्वस्त पारेको आरोप पनि रहेकै थियो ।

अमेरिकाको युनाइटेड एयरलाइन्सले अमेरिकाबाट भारतका लागि जाने उडान सेवा इरानी हवाइ क्षेत्रमा भएको तनावका कारण स्थगित गरिएको जनाएको छ ।

अमेरिकाबाट भारतको मुम्बइसम्म पुग्ने अमेरिकी उडानसेवा  ग्लोबल हाक नामक मानवरहित विमानलाई मारहानी खसाएको विन्दु नजिकबाट जाने गरेको देखिएको छ ।

तनाव बढेकाले कुनै बेला आक्रमण हुन सक्ने भएकाले हवाइ सेवा बन्द गरिएको हो ।

गत महिना अमेरिकाको नियामक निकाय संघीय उड्डयन प्रशासनले वायुसेवा दिन कम्पनीलाई इरानको हवाइ क्षेत्र भएर जाने उडानहरूका बारेमा पुनर्विचार गर्न चेताएको थियो ।

जुलाई २०१४मा मलेसिया एयरलाइन्सको उडान एमएच १७लाई उक्रेनको आकाशमा एक क्षेप्यास्त्रको आक्रमण गरी मारहानी खसाउँदा त्यस विमानमा रहेका सबै २९८ जनाको मृत्यु भएको थियो ।