यतिवेलै पूर्व पञ्चहरुले किन राजसंस्थाको वकालत गरे ?

यतिवेलै पूर्व पञ्चहरुले किन राजसंस्थाको वकालत गरे ?

काठमाडौं । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को एकीकरणपछि बन्ने नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको अवस्थामा यो पार्टीले घोषित रुपमा नै राजसंस्थाको पक्षमा वकालत गरेको छ । पशुपति शमशेर जबराले नेतृत्व गरेको प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राष्ट्रवादी राप्रपाका बीचमा एकता प्रक्रियालाई अगाडि बढाउने भन्दै विहीबार संयुक्त हस्ताक्षर भएको छ । 

राजसंस्थासँगै हिन्दु राष्ट्रको पक्षमा पनि नयाँ बन्ने पार्टीले बोलेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीमा नै जवर्जस्त यो अजेण्डाले प्रभाव जमाइरहेको बेलामा यो पार्टीले यसबारेमा बोल्नु धेरै अनौठो मानिएको छैन ।

दुई तिहाइको वामपन्थी सरकारले योजनाबद्ध, अपेक्षाकृत कामलाई अगाडि लान नसकेको अहिलेको स्थिति, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चौतर्फी घेराबन्दीमा सरकार परिरहेकै बेलामा पश्चगमनकारी विचार राख्ने  पूर्व पञ्चको पार्टी एकताबद्ध हुनु र राजतन्त्रको पक्षमा घोषित रुपमा नै आउनु सामान्य राजनीतिक परिघटना होइन ।
    
महाधिवेशन नहुञ्जेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जस्तै दुई अध्यक्ष प्रणालीमा पार्टी चल्नेछ । महत्वपूर्ण निर्णय दुई अध्यक्ष र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा मात्र गर्ने सहमति भएको छ । दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालोमा गरिने भएको छ ।  

देशमा वहुदल आएपछि २०४७ साल जेठ १५ गते पूर्व पञ्चका नेताद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एकै नामका दुई पार्टी (राप्रपा) को गठन भएको थियो । तर, तिनीहरुले तत्कालीन संविधानलाई मानेका थिए । तर, यसपटक भने घोषित रुपमा नै राजंस्था र धर्मको बारेमा संविधानभन्दा पृथक धारणा राखेका छन् ।

 गठन नै एकै दिन एकै नाममा भएका राप्रपा नामका दुई पार्टी पटकपटक फुट्ने र जुट्ने प्रक्रिया चलिरहेको छ । त्यही राप्रपामा रहेका कमल थापाले अलग्गै राप्रपा, नेपाल नामक पार्टी चलाइरहेका छन् । यो एकताले सो पार्टीलाई पनि एकताका लागि दवाव पर्ने राप्रपाका एक नेताले बताए ।