‘दश दिन अन्तै पाहुना बसी वर्षा रानी आइपुगिन’
काठमाडौ । वर्षा रानी अर्थात् मनसूनको प्रतिक्षा नेपाली किसानले अंग्रेजी महिनाको जुन लागे पछि गर्न थालेका हुन्छन् ।
सामान्यतया बर्षा रानी जुन १०मा नेपाली सीमा भित्र आइपुग्ने गर्छिन् ।
‘यो पटक बर्षा रानी दश दिन अन्तै पाहुना बसी पूर्वी नेपालबाट छिरेकी छिन् ’ मौसम तथा जल पूर्वानुमान विभागसँग आबद्ध एक अधिकारीले यस्तो टिप्पणी गरे ।
विभागले जुन २० तारिखमा नेपाली सीमामा मनसून नेपाल छिरेको जनाएको छ । जुनको पहिलो साता समाप्त भएर आउने गरेकी वर्षा रानी सेप्टेम्बरको अन्तिम साता लागेपछि विदा हुने गर्छिन् ।
सेप्टेम्बर २३ पछि मनसून समाप्त हुने गरेको विभागका अधिकारीहरू बताउँछन् ।
गत वर्षको कुरो गर्ने हो भने मनसून जुन ८ तारिखमा नेपाल आएको थियो ।
यो वर्ष तारिख २० मा पूर्वी नेपालबाट छिरेको मनसून विस्तारै पश्चिमी क्षेत्र तिर अगाडि बढिरहेको विभागले जनाएको छ ।
देशभर प्रशस्त पानी बर्षाउनका लागि मनसूनलाई केही दिन फैलिन समय लाग्ने विभागको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।
जुन देखि सेप्टेम्बरसम्मको यो चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसूनको रूपमा पनि बुझ्ने गरिन्छ ।
१०५ दिन बर्षा रानी रमाइ रमाइ देशभर बर्सिन्छन् ।
किसानहरूले पनि यो अवधिमा कृषि कर्मको कार्यतालिकालाई निर्धारण गरेका हुन्छन् ।
मनसूनको बेला वर्ष भरिको वर्षाको ८० प्रतिशत पानी नेपालले प्राप्त गर्छ ।
यो पूर्वमा पर्ने मनसून बंगालको खाडीबाट शुरू भइ विस्तारै दक्षिण र उत्तरको हिमाली क्षेत्रलाई समेटेर पश्चिमतर्फ बढ्ने गर्छ ।
नेपालले औसतरूपमा बर्सेनी १६०० मिलिमिटर पानी प्राप्त गर्छ ।
तर विभिन्न ठाउँको हावापानीका आधारमा यसमा केही तलमाथि हुने गरेको बुलेटिनले जनाएको छ ।
प्रतिक्रिया