काँग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न सुहाउँदैन, आफ्नो इतिहास सम्झे हुन्छः सञ्चारमन्त्री बास्कोटा

काँग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न सुहाउँदैन, आफ्नो इतिहास सम्झे हुन्छः सञ्चारमन्त्री बास्कोटा

काठमाडौं, ६ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारको बारेमा कुरा गर्नुभन्दा पहिला आफ्नो इतिहास सम्झन कांग्रेसलाई आग्रह गरेका छन् ।

मन्त्री बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न नसुहाउने पनि बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले कुनै समय कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाएको कांग्रेसले अहिले सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्यो भन्न नमिल्ने बताए ।

उनले भने, “स्वतन्त्रताको मसिहा धेरै बन्नु पर्दैन । मैले बारम्बार भन्ने गर्या छु– कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउनेले पनि यो कुरा उठाउनु आवश्यक छैन । ०१५ सालमा विपि कोइरालाको दुई तिहाईको सरकार हुँदा मणिराज उपाध्यायको पत्रिकालाई आलोचना गरेबापत लोककल्याणकारी विज्ञापन दिइएको थिएन । मैले भनेको होइन, गृष्मबहादुर देवकोटाले लेखेको हो ।”