सम्पादकको कुर्सीमा प्रवन्धक : पाठक हराए, ग्राहक आए

सम्पादकको कुर्सीमा प्रवन्धक  : पाठक हराए, ग्राहक आए

भवानी बराल

हिन्दुस्थानी पत्रकारितामा आए दिन सम्पादकको कुर्सीमा प्रबन्धक आएको विषय चर्चित छ । नेपाली पत्रकारितामा सिधै सम्पादकको कुर्सीको अधिकार प्रवन्धकले लिएको देखिन्न । तर सम्पादकलाई नै प्रवन्धक बनाउने प्रवृत्ति आमरुपमा छ । पत्रकारितामा देखिएको यो नौलो ‘औपनिवेशक’ चरित्र हो । जसरी आजको विश्व राजनैतिक परिस्थितिमा सिधै उपनिवेश खडा गरिदैन त्यसरी नै पत्रकारितामा पनि सम्पादकलाई नैै प्रबन्धक बनाइन्छ । यसले पत्रकारिता स्वतन्त्र, निश्पक्ष भएको भ्रम दिन पनि मिडियाका कर्पोरेट मालिकलाई सहज भएको छ । 

पत्रकारिता सेवाभावले गरिने सेवा उद्यम अब रहेन । यसको यात्रा व्यवसायिकतासम्ममा सीमित रहदासम्म यसको चरित्र र विशेषता ठीकै हुन्थ्यो । उद्योगमा रुपान्तरण भएपछि यसको चरित्र र विशेषता फेरिनु स्वाभाविक हो । उद्योगको मूल उद्वेश्य नाफा कमाउनको लागि नै हुने भएकोले उसले नोक्सानको कारोबार अवश्य गर्दैन ।

समाचार वस्तु हो ?

प्रवन्धकहरु समाचारलाई विक्रीयोग्य उत्पादन बनाउन चाहन्छन् । जुन घटना सूचना विक्रीयोग्य हुन्छ, त्यस्ता सूचना मात्र प्रकाशनगृहमा कच्चापदार्थको रुपमा भित्रिन्छन् । विक्रीयोग्य नहुने सूचना कुडादानमा फालिन्छन । यतिखेर नेपाली पत्रकारितामा कमैमात्र ‘समाचार’ आउँछन् । मिडियाका उत्पादनहरु मात्र खबरको रुपमा छापिन्छन् । उद्योगको प्रकृति, के उत्पादन गर्ने, सञ्चालकको लक्ष्य, उद्देश्य बमोजिम सञ्चालन भएझै मिडिया उद्योग पनि आफ्नो स्वार्थ पूरा हुने, शक्ति र पैसा प्राप्त हुने समाचारलाई मात्र प्राथमिकता दिन्छन् । यहाँ समाचारीय मूल्यको कुनै गुञ्जाइस हुँदैन । तिललाई पहाड बनाउने तर पहाडको उचाई मापन नगर्ने प्रवृत्ति बढ्दो छ । मिडियाले जवर्जस्ती उद्योगको रुप लिँदा देखिएको यो रोग हो । पत्रकारिताको सिद्धान्त अनुसार ‘आवाजविहीनहरुको आवाज’ हुनबाट पत्रकारिता विचलित भएको छ । अपवादमा आवाजविहीनहरुको आवाज आएको त्यो रुपपक्ष वा पत्रकारिताको भाषामा सन्तुलन मिलाउन दिइएको हो । सारमा त्यो पनि विक्रियोग्य छैन भने भट्टीमा पस्न पाउँदैन ।

पाठक बनाम ग्राहक :

यतिखेर नेपाली पत्रकारिताको पाठक पाइन्न । मिडिया उद्योगमा रुपान्तरित हुँदैछ यसर्थ पाठकको ठाउँ ग्राहकले लिएको छ । ग्राहकले कस्तो उत्पादन मन पराउँछ भन्नेमा पनि मिडिया उद्योगको उत्पादन भइरहेको छैन । ग्राहकलाई आफ्नो स्वाद पस्किएर वानी पार्ने उद्यममा लागेको छ । आफ्नो उद्योगको मात्र उत्पादन उपभोग गरोस भन्ने चाहन्छ । यसका लागि मिडिया उद्योगको तामझाम, उत्पादित वस्तुमा रंगरोगन, शैलीगत प्याकेजिङ गरेर बजारमा ल्याइन्छ जसले आम आकर्षण बनोस । कुनै समय थियो नेपालमा एउटै चाउचाउ उद्योग थियो, आज त्यो चाउचाउले बजार पिटेको मात्र छैन, खाजाको विकल्प नै त्यही चाउचाउ भएको छ । कुनाकन्दरा र हरेक वर्गको खाजा त्यही चाउचाउ बनेको छ । हाम्रा खाजाको परम्परागत र स्वस्थ परिकारहरु विस्थापित भइसकेका छन् । जंकफुड खाने बानी नै पारिसकेको छ । यसबाट छुट्कारा पाउन असम्भव जस्तै बनाइदिएको छ । ठूला सञ्चारगृहले पनि आफ्नो ट्रेडमार्कमार्फत आफ्ना उत्पादनलाई पत्रकारिताको दर्जा दिएका छन् । बहुराष्ट्रिय कोकाकोला कम्पनीले ‘चिसो भनेकै कोकाकोला’ भनेर आफ्नो उत्पादनमा आकर्षित गरेजस्तै । 

संकटमा छ साप्ताहिक :

कुनै बेला पत्रिका भनेपछि गोरखापत्र भन्ने बुझिन्थ्यो । त्यसयता लक्ष्यमुखी पत्रकारिता गर्ने थुप्रै साप्ताहिक अखबारहरु पत्रिकाको दर्जामा थिए । आज अब त्यो अवस्था रहेन । साना लगानीका त्यस्ता अखबारहरु घिटघिट गरेर नेपाली पाठकमाझ अस्तित्वमा देखिन्छन् । तर तिनको पहुँच खुम्चिएको छ । कुनै समयमा चितवनको आरक्षमा भएका गैंडा संरक्षणको विज्ञापन आरक्षले गरेझैं ‘संकटमा छ, यो जन्तु’ भनेझैं ।

साना लगानीका यस्ता अखबार सञ्चालनको नाम स्वरोजगारमूलक भएको छ । यो स्वरोजगारमूलक कति प्रतिशत हो ? यसले प्रस्तुत हुने मिडिया कन्टेण्टले दिने सुसूचना कति छ ? कुन वर्ग परिलक्षित छ ? त्यो नहेरी यसलाई स्वरोजगारमूलक भन्नु पनि अनौठो लाग्छ । स्वरोजगारको नाममा यसले दिने प्रभावको विश्लेषण त्यत्तिकै आवश्यक छ । सानो आकारप्रकारको, थोरै जनशक्ति रोजगार भएको, कमै पृष्ठ भएका, व्यक्तिगत लगानी भएकै आधारमा स्वरोजगारमूलक नाम दिनु कठिन हुन्छ । 

स्वरोजगारमुलक नै सही उसले कसको सेवा गरेको छ, त्यो प्रमुख हो । स्वरोजगारमुलकको नाममा कुनै व्यक्ति विशेषको पसिना पुछ्ने, सिँगान पुछ्ने बाँकीको हुर्मत काढ्ने पीत शैलीको पत्रकारिताले पीडा दिने पत्रकारिता हुन सक्तैन । नकारात्मक समाचार नछाप्ने नाममा स्तुती गाउने या यस्तैलाई सकारात्मक पत्रकारिताको नाममा जनजीविका चलाउने पत्रिकालाई कसरी स्वरोजगारको जामा पहि¥याउने ? 

आजको आवश्यकता :

सम्पादकको कुर्सीमा सम्पादककै बसेको र पाठकको खोजी गर्ने ग्राहक नबनाउने पत्रकारिता आजको पनि अपरिहार्य आवश्यकता हो । सम्पादकीय स्वतन्त्रता भएको पत्रकारिताले मात्र जनतालाई शिक्षित बनाउँछ, परिवर्तनको जनमत निर्माण गर्छ । राजनैतिक (लोकतान्त्रिक वा साम्यवादी) दर्शनबाट अभिप्रेरित पत्रकारिताको अझै खाँचो छ । देशको राष्ट्रियता, अखण्डता र जनताको हितमा गरिने जनपक्षीय पत्रकारिताले मात्र प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्छ । विद्युतीय, नयाँ मिडियामा पनि यही कुरा लागू हुन्छ ।