नेपालको ‘बार्गेन’ क्षमतामा बृद्धि

नेपालको ‘बार्गेन’ क्षमतामा बृद्धि

काठमाडौ । नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिन संरक्षित महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इन्सिएटिभ’मा सहमति जनाएपछि चीन र भारतसँग आफ्नो ‘बार्गेन’ क्षमतामा बृद्धि गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बहस हुन थालेको छ ।

चार महिनाअघि नेपाल र चीनका प्रतिनिधिहरूको उपस्थितिमा दुई देशबीच व्यापार तथा परिवहन प्रोटोकलमा हस्ताक्षर भएयता यो चर्चाले विशेष चर्चा पाउन थालेको हो । यो सम्झौता सन् २०१६ को मार्च महिनामा निष्कर्षमा पुगेको थियो ।

त्यतिखेर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा चीनका चार बन्दरगाह र दुई सुख्खा बन्दरगाह नेपाललाई उपयोग गर्न दिइने सम्झौता हुने चर्चा भएको थियो । तियान्जिन ,शेन्जेन, लियाउगांग, र झांगझियां बन्दरगाह र ल्हान्जिन र ल्हासा सिगात्सेका सुख्खा बन्दरगाहको उपयोगसम्बन्धी विषय सो व्यापार तथा परिवहन प्रोटोकलमा परेको छ । पछि पछि थप बन्दरगाहसम्मको पहुँच नेपाललाई उपलब्ध गराउने पनि उल्लेख छ ।

यो सम्झौताबाट परम्परागतरूपमा भारतमाथिको ९२ प्रतिशत निर्भरता घटेर जाने र नेपालको स्थिति दुई देशसँगको सम्बन्धमा विशेष भूमिका प्राप्त हुने अपेक्षा गरिएको छ ।

भारतले नाकाबन्दी लगाएपछि उत्पन्न परिस्थितिबाट नेपाल र चीनबीचको व्यापार र परिवहन प्रोटोकलको निर्माण भएको सम्बद्ध विज्ञहरूको बुझाइ रहेको छ ।

यसबाट नेपालको सार्वभौम सत्ताको प्रयोगमा बढी बल प्राप्त हुनेछ । अर्को फाइदा चीन र भारतबीच युद्ध भए वा हुन सक्ने अवस्था सिर्जना भए त्यतिखेर नेपालको भूमिका महत्वपूर्ण हुनेछ । तेस्रो लाभ पूर्व, दक्षिण पूर्व एसिया र यसबाहेकको क्षेत्रमा नेपालको पहुँच हुनेछ । चिनियाँ मार्ग भएर नेपाललाई विश्वका अन्य क्षेत्रमा पुग्न सहज हुनेछ । चौथो फाइदा नेपाललाई आर्थिक विकासका लागि अवसरहरू प्राप्त हुनेछ । चीन र भारतबीचको पुल बनेर नेपालले यो अवसरहरू प्राप्त गर्न सक्नेछ ।