चीन–रुसको मिसाइल निगरानी गर्न जापानमा अमेरिकी राडर

चीन–रुसको मिसाइल निगरानी गर्न जापानमा अमेरिकी राडर

टोकियो । चीन, रुस र उत्तर कोरियाको मिसाइल कार्यक्रममाथि निगरानी गर्न अमेरिकाले जापानमा होमल्यान्ड डिफेन्स राडर (एचडीआर) राख्ने तयारी गरेको छ । यसका लागि अमेरिकाले जापानी सरकारको अनुमती प्राप्त गर्ने प्रयास गरिरहेको छ । जापानको अनुमती प्राप्त भएपछि २०२५ सम्ममा जापानमा एचडीआर प्रणाली स्थापित गरिने बताइएको छ ।

जापानमा होमल्यान्ड डिफेन्स राडर सिस्टम स्थापित भएपछि चीन, रुस र उत्तर कोरियाबाट हुने आईसीबीएम लन्चको जानकारी प्राप्त हुने छ । यसले जापानलाई समयमै उपयुक्त कदम चाल्नका लागि सहयोगी हुने धारणा अमेरिकाको छ ।

स्रोतका अनुसार यो प्रणालीले अमेरिकालाई समयमै यी तीन देशबाट अमेरिका, हवाई तथा अमेरिकी द्विप गुवामतर्फ आउने कुनै आईसीबीएम मिसाइलको बारेमा थाहा हुने छ । यसै कारणले अमेरिका जापानमा एचडीआर लगाउने तयारी गरिरहेको बताइएको छ । प्राप्त जानकारीलाई अमेरिकाले आफ्नो सेल्फ डिफेन्स फोर्सलाई दिने छ । अमेरिकाले एचडीआर प्रणालीलाई हवाई तथा जापानबाट सञ्चालित गर्ने इच्छा व्यक्त गरेको छ ।

एचडीआर प्रणालीले अन्य भू–उपग्रहमा हमला गर्ने किलर भू–उपग्रहमाथि पनि निगरानी राख्ने बताइएको छ । हवाईमा यो प्रणालीलाई २०२३ सम्म स्थापित गर्ने योजना राखिएको छ । एजेन्सीका अनुसार जापान सरकारले सबै उपायमाथि विचार गरेर मात्रै अमेरिकालाई यो प्रणाली स्थापित गर्नका लागि अनुमती दिने जनाएको छ ।