विप्लव पार्टी वार्तामा आउनै लाग्दा सर्लाही घटना !

विप्लव पार्टी वार्तामा आउनै लाग्दा सर्लाही घटना !


शंकर तिमल्सिना

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता गर्ने नीति पारित गरेकै बेलामा सो पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएपछि घटनाले अर्कै मोड लिने खतरा बढेको छ । र, आक्रोसित हुँदै सो पार्टीले संघर्षका कार्यक्रमहरु घोषणा गर्न पुगेको छ । पार्टीको हैसियत देखाउन उसले आयोजना गरेको कार्यक्रमको राजनैतिक आयतन कति हुने हो अहिले नै अड्कल गर्न छिटो हुने भए पनि सबैतिर भएको असन्तुष्टिलाई आफूतिर आकर्षित गर्न सो पार्टीले फेरि ठूलै बल प्रयोग ग¥यो भने पनि अनौठो हुने छैन ।

विप्लव नेतृत्वको पार्टीको पोलिटब्युरोको वैठकको वार्ता गर्ने निर्णय तल कार्यकर्तासम्म सम्प्रेषण नहुँदै पुरानै रणनीतिमा हिंड्दा सर्लाही घटना भएको हो या विप्लव पार्टीलाई वार्तामा नल्याएर देशमा अस्थिरता बनाइरहन खोज्नेहरुको गुरुयोजनामा यो भएको हो अझै स्पष्ट हुन सकेको छैन । तर, घटनाक्रमहरुले अस्थिरता फैलाउन विप्लव नेतृत्वलाई अवतरण गर्ने बाटो अवरुद्ध गर्न खोजेको तर्फ अधिकांस विश्लेषकहरुले संकेत गरेका छन् ।

विप्लव नेतृत्वका पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाए पनि आत्मरक्षामा वाहेक गोली नचलाउने प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को स्पष्ट निर्देशन रहँदारहँदै सर्लाही घटना भएको संशयको घेराभित्र छ । दोहोरो भिडन्त हो या सुनियोजित हत्या हो भन्नेबारेमा अनुसन्धानपछि थाहा लाग्ने भए पनि स्वतन्त्र पर्यवेक्षकहरुले यो घटनामा गहिरो रहस्य लुकेको हुनसक्ने वताएका छन् । विशेषगरी विप्लव माओवादीमाथिको प्रतिबन्ध कतै पनि मानवीय क्षति नहोस् र वार्ताबाट मूल धारमा ल्याउन दवाव पुगोस भन्ने अभिप्रायले भएको प्रधानमन्त्री र गृहमन्त्रीले बताउँदै आएका छन् ।

प्रतिवन्धपछिको गतिविधि 

पार्टीमाथि सरकारी प्रतिवन्ध लागेपछि छिटफुट घटनाबाहेक सो पार्टीको गतिविधि रक्षात्मक स्थितिमा पुगेको थियो । पार्टीले संगठन सुदृढीकरण अभियानलाई जारी राख्दै रणनीतिक रुपमा सरकारसँग वार्ता गर्ने निर्णय लिएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जेठको अन्तिम सातामा बसेको पोलिटब्युरोको वैठकले वार्ताको वातावरण बनाउँदै गरेको एक उच्च स्रोतले जनाएको थियो । यो निर्णयसँगै संगठन विस्तारको सिलसिलामा नै उक्त पार्टीले गतिविधिलाई केही बढाएको स्रोतहरुले उल्लेख गरेका छन् । उनीहरुले यो घटनालाई राजनैतिक समस्याको समाधान नखोज्ने राष्ट्रिय÷अन्तर्राष्ट्रिय तत्वहरु सक्रिय रहेको बुझे भने त जिम्मेवार भएर नै आउने छन् । हैन भने उनीहरु ठूलठूला फौजी घटना गराउन उद्धत रहने छन् । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि यो पार्टीले आफ्ना राजनीतिक, संगठन विस्तारलाई भूमिगत रुपमा चलाइरहेको छ । पार्टीको गतिविधिमाथि अकस्मात प्रतिबन्धले पार्टी खासगरी शहरी क्षेत्रमा रक्षात्मक बनेको पार्टीको ठहर रहेको छ । केही समय अगाडि राजधानी काठमाडौंमा भएको घटनाले सो पार्टी पूरै रक्षात्मक स्थितिमा पुगेको अड्कल गरिएको हो ।  

वार्ता गर्न प्रकाण्ड तयार 
 

यसैबीच सो पार्टीको पोलिटब्युरो वैठकले पार्टीको पछिल्लो अवस्था, भावी रणनीति, कार्यनीति, सरकारसँग वार्ता, जिम्मेवारीमा हेरफेर, नेता, कार्यकर्ताहरुको सुरक्षा, विभिन्न पार्टीसँग मोर्चा बनाउने, केन्द्रीय समितिको वैठकबारेमा छलफल भएको स्रोतले दावी थियो । 

वार्ताको वातावरण बनाउन तत्काल फौजी कार्वाही नगर्ने र वार्ता गर्न ‘लबिङ’ गर्ने जिम्मा खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दिएको बताइन्छ । पार्टीले किरणको नेतृत्वमा रहेको क्रान्तिकारी माओवादी, गोपाल किरातीको नेतृत्वमा रहेको माओवादी केन्द्रसहितका पार्टीसँग राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायत विषयमा मोर्चा बनाउनका लागि पहल गर्ने पनि जनाएको छ । 

संसदीय राजनीतिमा पद र सुविधाका लागि नेतृत्वमा अस्वस्थ संघर्ष भइरहन्छ । यसलाई पहिला माओवादीले उपयोग गरेको रणनीतिलाई उपयोग गर्ने योजना बनेको छ । खासगरी उनीहरुले केपी ओली, प्रचण्ड र वादलका विरोधमा सत्तारुढ पार्टीमै रहेकालाई साथ लिने स्रोतले बताएको छ । माधवकुमार नेपाल, कृष्णबहादुर महरा, जनार्दन शर्मा लगायतसँग विप्लव र प्रकाण्डका बीचमा कुराकानी भइरहेको पनि स्रोतले दावी गरेको छ । आफ्नो हात माथि पारेर वार्तामा नै आउने त्यस पार्टीले निर्णय गरेको थियो । पार्टीमाथिको प्रतिबन्ध फिर्ता औपचारिक रुपमा सरकारबाट पत्र लेखाउनका लागि उनीहरुसँग अनुरोध गरिएको सो पार्टीको उच्च स्रोतले जनाएको छ । नेपाली कांग्रेसका त माथिदेखि तलसम्मका नेतासँग सम्पर्क रहेको बताइन्छ । 

देशको परिस्थिति विग्रदै गएको र यसै शृङ्खलामा पार्टी छोड्दै नेता, कार्यकर्ता हिंड्न थालेकाले पनि सो पार्टीले अहिलेको भूमिकाको पुनर्मूल्याङ्कन गर्दै लगेको संकेत मिल्छ । यता संसदभन्दा बाहिर रहेको कम्युनिस्ट पाटीहरुसँग रणनीतिक रुपमा नै सहकार्य गर्दै खुल्ला राजनीतिमार्फत संगठनलाई पुनर्जीवन दिन चाहेको अर्थमा लिन सकिन्छ ।

सर्लाहीपछि ब्रेक ?

सर्लाहीको जिल्ला इञ्चार्ज कुमार पौडेल घटनापछि वार्ता गर्ने पार्टीको योजनामा केही समयका लागि ब्रेक लाग्नसक्ने संकेत देखिएको छ । अझ सत्तारुढ दलका नेताले नै केपी ओलीको नेतृत्वको सरकारसँग वार्ता गर्ने वातावरण खल्बल्याउन खुल्ला रुपमा नै लागिरहेका छन् । सर्लाही घटनामा झुट्टा मुठभेड हो भने प्रधानमन्त्री, गृहमन्त्री कसैले पनि छाड्दैनन् । यसको पर्याप्त अनुसन्धान नभई विपक्षी भन्दा पनि आक्रामक भएर सरकारमाथि खनिनुले विप्लव माओवादीलाई वार्तामा ल्याउनुभन्दा पनि थप आक्रामक बनाएर मानवीय क्षति गराउन उक्साइरहेको स्पष्ट बुझ्न सकिन्छ । सत्तारुढ दलभित्रबाट नै भित्री रुपमा मात्र होइन खुल्ला रुपमा नै समर्थन पाएपछि केही समय यो पार्टीले फौजी ढंगले आक्रामक बनेर कार्यकर्तामा छाएको निराशालाई उत्साहमा बदल्ने कोशिश एक पटक गर्ने सम्भावना छ । 

अर्को एक महिनाअघि नेपाल बन्दको क्रममा एक्सन गर्ने तयारी गर्दैगर्दा काठमाडौंमा भएको मानवीय क्षतिले पनि सो पार्टीमा नकारात्मक असर पारेको छ । असार १० गते नेपाल बन्दलाई केन्द्रमा राखेर फौजी कार्वाहीलाई बढाएर खस्केको मनोबल उठाउने प्रयास गर्ने सम्भावना रहेको छ । तर यो कार्यक्रम पार्टीको प्रभाव देखाउने र उपस्थिति देखाइरहने कर्मसँग मात्र सम्बन्धित देखिन्छ । दीर्घकालसम्म यसलाई बढाउँदा थप क्षति नै पु्ग्ने सम्भावना बढी छ ।