नेकपाको मुख्य विवाद अन्तर्राष्ट्रिय

 नेकपाको मुख्य विवाद अन्तर्राष्ट्रिय

काठमाडौं । पूर्व नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको कार्यदिशा जनताको जनवादमा देखिएको विवाद अन्तर्राष्ट्रिय मामिलालाई लिएर भएको रहस्य खुलेको छ । नयाँ पार्टीको कार्यदिशा दस्तावेजको रुपमा निर्माण गर्न सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा १० सदस्यीय कार्य समिति बनेको थियो । सो समितिले दस्तावेजको सारांस निर्माण गर्न चार जनालाई चार खण्डको जिम्मा दिइयो । यसमध्ये अन्तर्राष्ट्रिय खण्ड स्थायी समिति सदस्य देवप्रसाद गुरुङको जिम्मा लगाइयो । खासगरी अहिले यही खण्डलाई परिमार्जन गर्न खोजिएको छ । र, अहिले आन्तरिक बहसको खास चुरो पनि यहीनेर छ ।

यसरी नै राष्ट्रिय राजनीतिक कार्यदिशाका विषय सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले संश्लेषण गरेका थिए । कम्युनिस्ट आन्दोलनका सम्बन्धमा प्रदीप ज्ञवालीले सारांस गरे ।  राजनैतिक कार्यक्रमका सम्बन्धमा भीम रावलले तयार गरे । तर, यतिखेर दस्तावेजका अन्य तीन खण्डमा विवाद मडारिएको छैन, किनकि तीन खण्ड अन्तर्राष्ट्रिय मामिलासंग सम्बन्धित नभएर घरेलु मामिला र सांगठानिक आधारसँग सम्बन्धित भएकाले विवाद नदेखिएको हो । 

अन्तर्राष्ट्रिय मामिला वाधक :

नेपालको कम्युनिस्ट आन्दोलनमा अन्तर्राष्ट्रिय जगतलाई हेर्ने र विश्लेषण गर्ने परम्परागत नियति र टुटफुटको शृङ्खला जस्तै अहिले पनि यही विवाद दोहोरिएको छ । विश्व कम्युनिस्ट आन्दोलन, साम्राज्यवाद, विस्तारवाद र उपनिवेशवादलाई हेर्ने दृष्टिकोणहरुमा हिजो जसरी नेपाली कम्युनिष्टहरु वैचारिक विवादमा थिए त्यसरी नै फेरि पनि नेपालको विशिष्ट भू–राजनीति र सत्तारुढ परिस्थितिमा अप्ठ्यारो आइलाग्ने हिसावमा एकथरि न्वारानदेखिको बल लगाएर दस्तावेजमा पुनर्लेखन गर्ने मनसुवामा छन् । यसकै प्रतिआंकाक्षा पूरा गर्न जबजरुपी क्षेप्यास्त्रलाई सिँगार्ने प्रयत्न गरिएको छ । हिन्द प्रशान्त रणनीतिमा संयुक्त सैन्य अभ्यासका बारेमा संसद्मा उठेका विषयलाई कसरी जाने भनेर ईश्वर पोखरेलले सचिवालय वैठकमा उठाएको एक उच्च स्रोतले बतायो । त्यतिबेला प्रधानमन्त्री के पी ओलीले अमेरिका, चीन र भारतसँगको सैन्य तालिममा नेपालले सहकार्य गर्दै आएको तर कुनै एक देशको विशिस्ट सैन्य रणनीतिमा नेपाल जाँदैन भनेर स्पष्ट पार्दा पनि पोखरेलले विवाद जारी राखेको स्रोतको दावी छ । 

यसैबीच सार्वजनिकरुपमा बाहिर पोखरेलले कार्यदिशाकै सन्दर्भमा परिस्थितिलाई उत्तेजित बनाएपछि कार्यदिशा र दस्तावेजका बारेमा पार्टीको सचिवालयमा छलफल भयो । अध्यक्ष केपी शर्मा ओलीले पाँच बुँदे सहमतिको स्पिरिटका आधारमा जाने तर केही विषयहरु परिमार्जित गर्ने कि भन्ने मत राखेको एक उच्च स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्धका बारेको च्याप्टरमा भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केही परिमार्जन गर्नुपर्ने मत राखेको बताइन्छ । खासगरी सत्तारुढ पार्टी भएकाले पार्टीको दस्तावेजमा अमेरिकासहितका पश्चिमा देशलाई आक्रामक ढंगले जाँदा राम्रो हुँदैन कि भनेर पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग अध्यक्ष केपी ओलीले राखेको सो स्रोतको भनाइ छ । 

विवादको जड हरफ :

विवादको मुख्य हरफहरु, ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलन’ खण्ड हो । जसको प्रारम्भमा लेखिएको छ, ‘वर्तमान युग आमरुपमा रुसी अक्टोबर क्रान्तिपश्चात् सुरु भएको साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युगका रुपमा रहेको भएता पनि साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयामहरूमा भने महत्वपूर्ण परिवर्तनहरू देखापरेका छन् । श्रम र पुँजीबीच, समाजवाद र पुँजीवादबीच, साम्राज्यवाद– साम्राज्यवादबीच र विश्व साम्राज्यवाद तथा उत्पीडित राष्ट्रहरूबीचका आधारभूत अन्तर्विरोधहरू अहिले पनि कायमै छन्, तर विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रबीचको अन्तरविरोध प्रखर र प्रमुख रुपमा अभिव्यक्त भइरहेको छ ।’

अहिलेको युग भनेको साम्राज्यवादको खुला हस्तक्षेपको युग हो । यस्तो हस्तेक्षेप विरुद्ध सर्वहारा क्रान्तिको युगको रुपमा रुपान्तरण गर्न जरुरी छ । तर, सर्वहारा क्रान्ति अहिले राष्ट्रिय मुक्ति आन्दोलनको चरणमा छ । विश्व साम्राज्यवाद र राष्ट्रिय मुक्ति संघषबीचको अन्तरविरोध अहिले प्रमुख हो भन्ने आसय हो । यो आसयलाई ‘सेबोटेज’ गर्ने हो भने समाजवाद उन्मुख समाजको स्थापना र समाजवादी कार्यदिशाको अर्थ पनि हुँदैन । घामझैं छर्लङ्ग छ यतिखेर अमेरिकी साम्राज्यवाद हिन्द–प्रशान्त रणनीतिको ‘टाइम बम’ बोकेर नेपालको आँगनमै आइसकेको छ । यतिवेला नेपाललगायत दक्षिण एसियालाई शान्त बनाउने भूमिकाको ‘ककपिट’मा साम्राज्यवादी शक्तिलाई छेउ पर्ने दिने या नदिने केन्द्रीय भूमिकामा नेपाल छ । यसका निम्ति पञ्चशीलको आधारमा संन्तुलित परराष्ट्र नीति र असंलग्न नीति नै नेपालको भूराजनीतिक विशिष्टता हो । नेकपाभित्र देखिएको कार्यदिशाको विवादको चुरो पनि त्यही हो । समयबद्ध साप्ताहिकबाट