गुथीको गुत्थीमा रक्षामन्त्रीको भाजु भासन

गुथीको गुत्थीमा रक्षामन्त्रीको भाजु भासन

रक्षा मन्त्रालयमा एक हुल गुथी समर्थकहरु प्रतिनिधि मण्डलकारुपमा प्रवेश गरिसकेका थिए । सबै रौद्र मुद्रामा पुगेका प्रतिनिधीहरुले के बोल्ने के नबोल्ने तय भएको थिएन । गुथीको गुत्थी निकाल्ने परियोजना कसरी सम्पन्न गर्नेमा सबैको मुड थियो ।
यतिकैमा भित्र पस्ने वित्तिकै एक जना बटारिएका जस्ता लाग्ने आन्दोलनकारीले प्रश्नको झटारो हानी हाले, ‘भाजुः तिमी मन्त्री भएको बखत नै गुथी किन गोलखाडी भयो ?’

उपप्रधान (कार्यवाहक प्रधानमन्त्री) तथा रक्षामन्त्री इश्वर पोखरेलले सबैलाई सोफा देखाउँदै बस्न आग्रह गरे । अर्दलीलाई मान्छे गनेर चियाकफी ल्याउने संकेत गरे । उनले अघि गरेको प्रश्न प्रति ध्यानै दिएनन् । एकछिन चकमन्न भयो । 
प्रश्नको जवाफ नआए पछि उनैले प्रश्न दोहोर्याए, ‘भाजुः तिमी मन्त्री भएको बखत नै गुथी किन गोलखाडी भयो ?’

अव प्रश्नको जवाफ फर्काउने पालो मन्त्री पोखरेलको थियो । उनले निकै बेर गम खाए । बैठक चकमन्न थियो । सबैले ध्यान दिएर पोखरेल तिरै निगाह गाडेका थिए ।
प्रश्नको चुरो बुझेपछि पोखरेलले वाणी गिराउन थाले, ‘मैले आमरुपमा गुथीको बारेमा बुझ्ने मौका पाएको थिइन । वास्तवमा जतिबेला गुथि विधेयक मन्त्री परिषदमा आएको थियो तेतिबेला आमरुपमा मैले घर सल्लाह गर्नै पाएको थिइन । परिवारसंग वस्तुनिष्ठ सल्लाह नहुँदै गुथी आयो र पास भयो ।’

‘तेसो भा के गर्नु हुन्छ त अब ?’ अर्कोले फाइनल प्रश्न सोध्यो । 
‘यतिखेर म कार्यवाहक प्रधानमन्त्री छु । अब कसरी अगाडि बढ्न पर्ला भनेर मैले हिजै पत्रकारहरुलाई बोलाएर यस विषयमा विचार प्रक्षेपण गरिसकेको छु । म तपाईहरुकै भाजु खलक हुँ । बुझ्नेले अन्दाज गर्न सक्छन म पृथकपृथक कुरा गर्नेमा पर्दिन । बुझ्नेले अन्दाज गर्न सक्छन् । होइन हो त्यस्तो होइन होला हौ भन्नेमा वास्तबमै म परिन । म देर से आएँ तर दूरुस्त आएँ भन्नेमा छु । म जहिल्यै गतिसित मिलेर हिँड्ने मान्छे हुँ । तपाईहरुले अगति नसम्झिदिनु होला । यो भाजुले के क्षेप्यास्त्र हानेको होला भन्ने नसम्झनु होला ।’

रक्षामन्त्रीको पाल्सी भाका सुनेर प्रतिनिधि मण्डलका सदस्यहरु ट्वाँ पर्दै गए । 
अर्का अलि पाका जस्ता लाग्नेले सोधे, ‘अब के गर्नु हुन्छ त ?’

‘मैले आमरुपमा अब कसरी अगाडि बढ्नु पर्छ, आम रुपमा संश्लेषित, संग्रहित विचारलाई नै अगाडि सानु पर्छ । मलाइ के लाग्छ भने कडा भूमिगत अवस्थामा पनि हाम्रो एउटा सिद्दान्त थियो । अहिले हाम्रो सिद्दान्त पनि अपडेटेड भएको छैन । जो सिद्दान्तमा अपडेटेड हुँदैनन तिनीहरु आउटडेटेट हुनेछन । एउटै अध्यक्ष, अध्यक्ष नै संसदीय दलको नेता, उही प्रधानमन्त्री र एउटै विचार ‘जबज’ नभएर यस्ता अनेक गुथीका गुत्थी निस्केका हुन । अहिले नो मोर यूएमएल नो मोर माओवादी  तर, भित्रभित्रै आमरुपमा बस्तुनिष्ठ हुनसकेको हैन । सश्लेसित, संग्रहित नै हुन सकेको हैन । पृथक पृथक कारोबार छ । यी सबै मिलाउने ध्याउन्नमा म लागेकोले गुथीको गुत्थी थाहै भएन । जतिबेला संकटपूर्न घडी आउँछ त्यतिबेला कहिले के क्षेप्यास्त्र हान्छन आमरुपमा थाहा हुने कुरो भएन । उहिले पानी टंकीको कुरा उठाएर प्रतिगमनमा खेले । मलाई के लाग्छ भने मेरो आदरनीय अध्यक्ष तथा प्रधानमन्त्री बस्तुनिष्ठ होला भन्ने मलाइ लाग्छ ।’ पोखरेलले लम्बेतान भासन गर्न थालेपछि सबैजना जराक जुरुक उठे र बाहिर निस्के । समयबद्ध साप्ताहिकबाट