राप्रपामा धार्नी

राप्रपामा धार्नी


पञ्चायती विरासतको ट्रेडमार्क बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको फुट र विभाजनको गणित अनुसन्धान गरेर मात्र लगाउन सकिन्छ । राप्रपाको फुट र एकता कुनै हाजिरी जबाफमा सोधिने हो भने अप्ठ्यारो प्रश्नहरुमध्येको यो साह्रै अप्ठ्यारो प्रश्न हो । 

अर्को प्रसंग हो भ्यागुत्ताको धार्नी । भ्यागुत्तालाई जम्मा गर्दा धार्नी तौलसम्म पु¥याउन नसकिएला तर राप्रपाको एकताको भने आठपोल, बिसौलीसम्म पु¥याउन पनि सकिन्न । कुनै दिन राप्रपा नामका पार्टीहरु एकै ठाउँमा आइपुगेर धार्नी तौल पुग्यो भने नेपालको दक्षिणपन्थी राजनीतिमा  ‘मिराकल’ हुनेछ । त्यसको केही दिनपछि पार्टी फुट्यो भने अर्को आश्चर्य पनि हुने छैन् । सबैभन्दा बढी फुटेको पार्टीको प्रतिष्पर्धा गिनिज बुकमा हुने हो भने सायद राप्रपाको नाम दर्ज हुन्छ । 

आजै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि हुँदैछ र नयाँ पार्टी राप्रपा (संयुक्त) बन्दै छ । तर, यसपटकको एकतामा पनि अनेकता देखिएकै छ । कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल यो एकतामा छैन् । यही निहुँमा राप्रपा प्रजातान्त्रिकका दुई वरिष्ठ उपाध्यक्षसहित केही नेताले एकीकृत राप्रपा राष्ट्रवादीसँगको एकता अस्वीकार गरेका छन् । ती हुन उपाध्यक्षहरु दीपक बोहरा, केशरबहादुर विष्ट, विष्णु भट्टराई, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, सहमहामन्त्री विन्दु पहाडी, प्रवक्ता प्रदीप उदय । 

बोहराले दुई वटा राप्रपामात्र एकीकरण हुँदा कुनै सकारात्मक सन्देश नजाने भएकाले उनीहरु सहभागी नभएको कुरा बाहिर ल्याएका छन् । तीन वटै राप्रपा एकीकरण नभएसम्म कतै सहभागी नहुने बोहराले बताएका हुन् । तर, उनी संघीय समाजवादी फोरममा जाने मनसायले राप्रपामा सम्मिलित नभएको स्रोतहरुको ठहर छ ।

राप्रपाको उदय 

पञ्चायती व्यवस्थाको पतनपछि पूर्व महापञ्चहरुले विसं २०४७ जेठ १५ गते राप्रपा स्थापना गरेका थिए । तर यो पार्टीको स्थापना नै दुई वटा राप्रपाबाट सुरु भएको थियो । एउटा राप्रपाको नेतृत्व सूर्यबहादुर थापाले गरेका थिए भने अर्को राप्रपा लोकेन्द्रबहादुर चन्द समूहले । 

एकै समयमा खुलेका यी दुई पार्टीको त्यस यताका दिनमा मिलन र विछोडको कुनै सीमा रहेन । बहुदलीय व्यवस्थाका दिव्य बाह्र वर्षमा कांग्रेस र एमालेलाई खेलाउँदै सरकारको नेतृत्व थापा र चन्दले लिन पनि सफल भएका थिए । गणतन्त्रको उदयपछिका समयमा पनि राप्रपाले संसदमा उपस्थित पार्टी समीकरणका कारण घुमीघुमी सत्ताको स्वाद लिएकै थियो । राप्रपाका एक हस्ती थापाको निधन भइसकेको छ । चन्द राजनीतिमा सुस्त छन् ।

एकताको सिद्धान्त 

राप्रपा (प्र)का अध्यक्ष पशुपति शम्शेर जवरा र एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाएकोमा सही छाप गरेका छन् । सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ । संविधानको असहमतिलाई यथावत कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ । 

संगठनको ढाँचा 
 
नेकपाले दूई अध्यक्ष बनाएकोमा आलोचना गर्नेहरुको मुख टाल्दै राप्रपाले पनि यही ढाँचालाई अनुमोदन गरेको छ । यसका अतिरिक्त लोकेन्द्रबहादुर चन्दलाई महाअध्यक्ष जस्तो हैसियत दिएको छ । महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन हुनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो हुनेछ ।

सचिवालयको काम, कर्तव्य र नियुक्ति तथा अधिकारसम्बन्धी कार्यविधि निर्माण र जिम्मेवारीको बाँडफाटका लागि विभाग गठन गरिनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सहमतिमा गरिनेछ । नेता सुन्दर पाण्डेका अनुसार चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको नयाँ पार्टीमा कार्य सम्पादनको सिलसिलामा कुनै बाधा अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ । 

पार्टी चलाउने मुन्धुम 

राप्रपा एकताको आधारपत्रको अन्तिम बुँदामा पार्टी संगठन चलाउने व्यय पार्टी कार्यकर्ताको लेवीबाट चलाउने अपुग भए दूबै अध्यक्षको घरघरानाबाट असुलउपर गरिने नयाँ नौतुन व्यवस्था गरेको छ । यो परिपाटीले निश्चय नै राप्रपा कार्यकर्तामा उत्साह थपेको महसुस भएको राप्रपाका एक कार्यकर्ताले झिल्कोलाई बताए । नाम नबताउने सर्तमा उनले भने, ‘सिन्धु (पशुपति) र नुवाकोटे (लोहनी) दरबारको लगानी र बैतडी (चन्द) दरबारको सल्लाहमा हाम्रो नयाँ पार्टी फल्ने फुल्ने भो ।’