सिन्धुलीको लोकतान्त्रिक चौरमा फल्यो ‘विकासे जुनार’ !

सिन्धुलीको लोकतान्त्रिक चौरमा फल्यो ‘विकासे जुनार’ !

फणीन्द्र फुयाल ज्वाला
जुनारको राजधानी हो सिन्धुली । हिउँदमा यहाँका ग्रमीण कान्ला र बारीहरुमा लटरम्म पहेँलपुर जुनार फलेको हेर्न कम्ता मज्जा आउँदैन । हेरेरै मनपेट अगाउँछ, खानै पर्दैन । अव सिन्धुलीको बोटमै पाकेको जुनार हेर्न हिउँद मौसम कुरिरहनु पर्दैन । किनकी सिन्धुलीको बजारबीच लोकतान्त्रिक चौरमै फलेको छ ‘विकासे जुनार’ !

केही महिना अघि सिन्धुलीको खम्बे चौर अर्थात, लोकतान्त्रिक चौरको गुलमोरको रुख रातारात ढालियो । त्यो रुखको यतिबेला सिन्धुलीमा चर्चा सेलाउन नपाउँदै सो स्थानमा कमलामाई नगरपालिकाले सिन्धुलीको पहिचान झल्किने जुनारको प्रतिमा निर्माण गरेको छ । रहरलाग्दा तीन गेडा जुनार दिनमा भन्दा रातमा झन स्वादिला देखिन्छन्, बिजुली बत्तिका कारण ।

सडक निर्माण, विद्युतीकरण, रेल्वे लिक सर्भे, पेट्रोलिम पाइप लाइन निर्माण, भवन निर्माण आदिका नाममा प्राकृतिक स्रोत साधनको बिनास तथा दोहन हुने क्रम पछिल्लो समय अत्याधिक रुपमा बढ्दो छ । वातावरणीय हिसावले यो समस्याका रुपमा देखा परेको छ । रुख सुद्ध, सफा हावाको खानी अनि जननी हो । रुख वातावरण र पर्यावरणको पर्याय पनि । 

विकासका नाममा निर्माण गरिने सिमेन्टका कंक्रिट संरचनाले वातावारणलाई नै खिज्याइरहेको भान हुन्छ । ‘रुख रोपौँ, हरियाली जोगाऔँ, रुख रोपौँ भूक्षय रोकौँ, रुख रोपौँ वातावरण सफा पारौँ’ जस्ता अनेकौँ नारा हामीले जान्दैदेखि सुन्दै, पढ्दै, र लेख्दै आएका हौँ । पछिल्लो समय देशमा लोकतान्त्रिक गणतन्त्र घोषणापछि संघीयता, समावेशीता, धर्मनिरपेक्षता, समानता भैसकेपछि हरेक जाती, समूदाय, भूगोल र क्षेत्रले पहिचानको मुद्धा जोडतोडले उठाउने गरेका छन् ।

पहिचानकै लागि भनेर विशेषगरी देशका बिभिन्न पहाडि जिल्लाहरुमा लालिगुराँस, ढाडे बिरालो, काउली, एभोकाडो, लसुन, तोङ्वा त कतैँ कलश, एक सिंहे गैँडा आदिका प्रतिमा निर्माण गर्ने क्रम तीव्र छ ।

एक हिसावले यी बस्तुको निर्माण गरेर आफ्नो जिल्ला तथा क्षेत्रको पहिचान स्थापना गर्नु राम्रो हो । तर सोही स्थानमा भइरहेको रुख नै ढालेर सिमेन्टको प्रतिमा बनाउनु चाहिँ कत्तिको शोभनीय हो? पहिचान खोज्ने र बजारको बिचमा शितल छहारीले शोभा दिइरहेको रुख काट्नेहरुलाई यो प्रश्न यतिबेला सिन्धुलीका हरेक वातावरणविद्हरुले सोध्ने गरेका छन् ।

एउटा गुलमोरको रुख काटिनु ठूलो चिन्ता र चासोको विषय होइन । तर विकास र पहिचानका नाममा यसरी प्रकृतीमाथि निरन्तर दोहन गर्ने प्रबृत्ति चाहिँ ठूलो समस्या हो ।

 

                                     लेखक

जसरी प्रत्येक मानिसको आफ्नो पहिचान र स्वभाव हुन्छ त्यसैगरी प्रत्येक देश, प्रत्येक प्रदेश र प्रत्येक जिल्ला, गाउँ, टोल र गल्लीको पनि आफ्नो विशेषता र पहिचान हुन्छ । आफ्नो जिल्ला र क्षेत्रको पहिचान झल्काउने काम पनि स्थानीय जनता र प्रतिनिधिहरुकै हो । तर त्यसका लागि सबै सरोकारवालाको सल्लाह, सुझाव, प्रतिक्रिया र अनुमति लिएर काम गर्दा त्यसले लोकतान्त्रिक पद्धति, लोकतान्त्रिक मूल्य र मान्यता अनि संस्कार पनि अंगाल्ने थियो ।

बजारको बिचमा जुनारको प्रतिमा ठडिएपछि सिन्धुलीका नगरबासीहरु प्रश्न गर्न थालेका छन् । यदि त्यही खम्बेचौरीमै शालिक बनाउनु थियो भने किन बजारको सौन्दर्यका रुपमा रहेको चौतारो मासेर शालिक बनाउने निर्णयमा नगरपालिका पुग्यो? चौतारो नमासिकन त्यसैको छेउमै शालिक बनाउन पनि त सकिन्थ्यो । चौतारोले दिएको सौन्दर्य शालिकले नदिएको र शालिकले दिएको दिएको सौन्दर्य पनि चौतारोले दिन नसकेको जिल्लाबासी बुद्धिजिवी, पत्रकार, तथा वातावरणविद्हरुको भनाई छ ।
रुख मासेर कंक्रिटका संरचना ठड्याउनु मात्र विकास हो भन्ने मानसिकता अव सिन्धुलीको लोकतान्त्रिक चोक उर्फ, खम्बे चौरमा प्रमाणित भएको छ । मौसम र बेमौसम दुवै समयमा यो ‘विकासे जुनार’ अव सधैँका लागि फलिरहने छ ।

चपौलीका एक स्थानीयले भने, ‘जुनार सुपर जोन’ का किसान बिरुवा, किटनाशक औषधी, बजारीकण, आदिबाट उत्पिडित छन्, यताको जुनारको बोट भने न कहिल्यैै बूढो हुन्छ, न मर्छ, न औषधी छिट्नुपर्छ न त बजारीकरणकै झमेला, निरन्तर फलिरहन्छ मात्र तीन गेडा !’

बजारको चोकमा, दोबाटो वा चौबाटोहरुमा र राजमार्गका बिचमा निर्माण गरिने यस्ता सिमेन्टका ‘विकासे’ संरचनाले खास-खास भूगोलको पहिचान स्थापित त गरेका छन् नै तर त्यस्ता संरचना निर्माण गर्नका खातिर बगैँचा र पार्क नै मास्नु कति शोभनीय हुन्छ ? यो प्रश्नको उत्तर खोज्ने र निर्णय लिने जिम्मा भने स्थानीय सरकारलाई !

विकास पत्रकारिता र वातावरण पत्रकारिताले पनि यसरी गरीने विकासलाई साँच्चो अर्थमा विकास मान्दैन । कुनै पनि विकास निर्माण कति आर्थिक खर्चमा गरियो भन्दा पनि त्यो कति मानिसलाई सेवा पुर्याउने उद्देश्यकासाथ निर्माण भयो र त्यसबाट कति जनता लाभान्वित भए भन्ने कुरामा विशष जोड दिन्छ । कुनै पनि विकास निर्माणले वातावरणीय अनुकुलता वा प्रतिकुलता के सिर्जना गर्यो त्यो नै प्रमुखताका साथ हेरिन्छ र साँचो अर्थमा विकासलाई वातावरणीय आँखाले हेरेर मूल्याङ्कन गरिन्छ । प्रकृती नै हरेक बस्तुको जनजनी भएकाले अहिलेको सन्दर्भमा विकासप्रेमी, वातावरणविद्, योजनाकार, र विकसित भनिएका राष्ट्रहरुलेसमेत ‘ब्याक टू नेचर’ (प्रकृतीमै फर्कौ) को अवधारणा अगाडि सारेर काम गर्न थालिसकेका छन् ।

(लेखक एक देशकदेखि पत्रकारितामा संलग्न छन्)