लागू औषध दुरुपयोग र ओसारपसार विरुद्द गृहमन्त्री बादलको सन्देश...

लागू औषध दुरुपयोग र ओसारपसार विरुद्द गृहमन्त्री बादलको सन्देश...

काठमाडौं । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्दको अन्तर्राष्ट्रिय दिवस बुधबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गृहमन्त्री राम बहादुर थापा बादलले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्दको अन्तर्राष्ट्रिय दिवस जुन २६ (असार ११,२०७६) मा राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा दिएको सन्देश यस्तो छः 

यस समारोहका सभाध्यक्ष एवं गृह सचिवज्यू,
लागू औषध दुरुपयोगको बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्र संघ महासभाबाट घोषणा भई प्रत्येक वर्ष जून २६ अर्थात् आजको दिनलाई लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस मनाउने गरिएको छ । यस वर्ष HEALTH FOR JUSTICE : JUSTICE FOR HEALTH भन्ने अन्तरराष्ट्रिय नारा तय गरि यो दिवस मनाइदै छ । नेपालमा पनि वर्षेनी यो दिवस विविध कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ । यसै क्रममा समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ जीवन भन्ने राष्ट्रिय नारा सहित सप्ताहव्यापी विशेष कार्यक्रमहरु सहित देशव्यापी अभियानको रूपमा मनाइरहेका छौं र आज सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिनको समारोहमा हामी उपस्थित भएका छौं ।

यस अवसरमा म सम्पूर्ण लागू औषध प्रयोगकर्ताका अभिभावकजनलाई उहाँहरुको सन्तान र प्रियजनको शिघ्र शुद्धिकरण र सुमधुर पारिवारिक पुनस्थापनाको शुभकामना व्यक्त गर्दछु । साथै लागू औषध अपराध नियन्त्रण गरी स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणमा सिंगो मुलुक र  विश्वलाई नै सफलता मिलोस् भन्ने कामना गर्दछु ।

समस्यग्रस्त अवस्था  
२.    लागू औषध दुर्व्यसन र अवैध ओसार विश्वव्यापी समस्याको रुपमा रहेको छ । वर्षेनी लाखौं व्यक्ति र परिवार यो समस्याबाट आक्रान्त बनेका छन् भने शान्ति सुरक्षा र अपराध नियन्त्रणको एक चुनौतीको रुपमा देखा परिरहेको छ । नेपालमा पनि यो समस्या समाधान एक चुनौतीको रुपमा रहेको हामी सबैलाई थाहा छ ।

लाखौ युवाहरु नशाको दलदलमा फसिरहेका छन् । कैयन घर परिवारको आशा र भरोसा एवं सपना चकनाचुर भएका छन् । राष्ट्रले योगदान खोजिरहेको अवस्थामा उल्टो आर्थिक सामाजिक क्षतिको भार राष्ट्रले व्यहोर्नु परिरहेको अवस्था छ । अर्को तर्फ संकीर्ण स्वार्थमा रमाउने आपराधिक तत्व युवालाई भड्काएर आफ्नो लालसा पूरा गर्न उद्धत छन् । लागू औषधको खेती उत्पादन, विक्रि वितरण वा सञ्जय आफैमा अपराध हुनुका साथै अन्य अपराधको पनि कारक बनिरहेको अवस्था छ ।
प्रत्येक नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने कार्यादेश एवं समृद्धि र सुखको राष्ट्रिय आंकाक्षा पूरा गर्ने क्रममा लागू औषध दुरुपयोग र अवैध ओसार पसार समस्या एक वाधकको रुपमा रहेको देखिन्छ । 

अन्तरराष्ट्रिय र राष्ट्रिय प्रयास
३.    अन्तरराष्ट्रिय स्तरमा नै यो समस्याको वोध भएको छ । समस्या समाधानको लागि यस क्षेत्रमा संयुक्त राष्ट्रसंघले विभिन्न अभिसन्धिहरु, संरचनागत र नीतिगत व्यवस्थाहरु गरेको पाइन्छ । साथै विभिन्न क्षेत्रीय संगठनहरु मार्फत पनि लागू औषध समस्या समाधानको प्रयास भइरहेको छ । नेपाल पनि संयुक्त राष्ट्रसंघ, बिमस्टेक र सार्क लगायतका अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चमा सक्रिय रुपमा क्रियाशील रहेको अवस्था छ । यसै क्रममा हामीले संयुक्त राष्ट्र संघको कमिशन फर नार्को्टिक ड्रग्स (सि एन डी) मा सदस्य निर्वा्चित भई अन्तरराष्ट्रिय साझेदारी र प्रभावकारी उपस्थितिको थालनी गरिएको छ । राष्ट्रिय रुपमा स्पष्ट नीति, रणनीति र कानूनी एवं संरचनागत व्यवस्था सहित हामी क्रियाशील छौं । विभिन्न गैरसरकारी साझेदार निकायसँगको सहकार्य यस क्षेत्रमा महत्वपूर्ण रही आएको छ । विगत लामो समय देखि लागू औषध नियन्त्रणको एकिकृत कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । माग घटाउने विभिन्न कार्यक्रमहरुलाई जनस्तरमा र्पुयाउने प्रयासहरु भएका छन भने आपूर्ति नियन्त्रणको लागि कानून कार्यान्वयको विशेष इकाइ क्रियाशील रही आएको अवस्था छ । 

चुनौतीहरु
४.    तर, लागू औषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा हाम्रा यी प्रयासहरु प्रर्याप्त छैनन् । नेपालको भौगोलिक अवस्थिति जो अफिमजन्य पदार्थको उत्पादन र ओसार पसारको दृष्टिले हब मानिएको गोल्डन ट्रायगंल र गोल्डेल क्रिसेन्टको मध्यभागमा हामी अवस्थित छौं । त्यसै गरी लामो खुला सीमानाका कारण लागू औषध दुरुपयोग र अवैध ओसार पसारको समस्या चुनौतीपूर्ण रही आएको छ । त्यसै गरी बढदो सामाजिक विकृति, जटिल सामाजिक जीवन र तनावपूर्ण, अस्वस्थ जीवनशैली पनि हाम्रा चुनौतीहरु हुन् ।

समस्याको ज्ञान हुने तर आफैलाई नपर्दासम्म गहिरो अनुभूति र व्यवहारमा सुधार नहुने एक किसिमको हाम्रो जीवनपद्धतिमा ठूलो परिवर्तन जरुरी देखिएको छ । अवैध लागू पदार्थको दुरुपयोगबाट स्वास्थ्यमा थुप्रै चुनौतीहरु पैदा भएका छन् खासगरी युवा पुस्ता र विद्यालयकामा पढ्ने बालबालिकामा यसको जोखिमबाट नराम्रो असर गर्दछ। प्रायः युवा तथा बालबालिकाले साथीहरुको दबाबमा अवैध लागू औषधको दूर्व्यशन शुरु गर्छन् । उनीहरुमा यो पदार्थहरुबाट हुने हानीको बारेमा जागरुकता पनि हुंदैन । लागू औषध प्रयोगकर्तालाई उचित उपचार र पुनस्थापनाको विषयलाई जनस्वास्थ्य चासोको रुपमा लिई नियमित स्वास्थ्य सेवासँग मानसिक स्वास्थ्य सेवा, उपचार र व्यवहार परिवर्तनको पक्षलाई एकीकृत गर्न सकिएको छैन ।

सामाजिक र आर्थिक वातावरणमा भइरहेको निरन्तर परिवर्तन र हरेक क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धाका कारण लागू औषधको प्रयोगले युवा वर्गमा लागू औषधको प्रयोग संगै मानसिक रोगीहरुको संख्यामा बृद्धि भइरहेको छ । रोकथाममूलक प्रयासहरुलाई जनस्तरसम्म र्पुयाउन तीनै तहका सरकारी तथा गैरसरकारी क्षेत्रका क्षेत्रगत नीति कार्यक्रम र बजेटमा यो विषय मूलप्रवाहीकरण हुन सकेको पाइदैन । कानून कार्यान्वयन गर्ने सुरक्षा निकाय र सम्बद्ध संस्थाहरुको संस्थागत क्षमता अपेक्षित रुपमा विकसित गर्न सकिएको छैन ।अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान  र अभियोजनलाई बैज्ञानिक र स्रोत साधन सम्पन्न तुल्याउन सकिएको छैन ।

वर्तमान प्रयास र भावी कार्यदिशा
५ तसर्थ विद्यमान चुनौती र हाम्रा प्रयास समाजको आर्थिक सामाजिक गतिशिलतासँग एकाकार हुने गरी विस्तारित र ठोस हुन जरुरी छ । यस समस्याको गाम्भिर्यतालाई मनन् गरी गृह मन्त्रालयले सम्बद्ध सवै पक्षको साझेदारीमा कार्यक्रमको आमूल पुनसंरचना र सुधारको थालनी गरिसकेको छ ।

समाजलाई लागू औषधमुक्त बनाउनका लागि स्थानीय सरकार, शिक्षण संस्थाहरु, गैरसरकारी संस्थाहरु, समुदायमा आधारित संघ संस्थाहरु,  अनुसन्धान संस्थाहरु र  व्यक्तिगत स्तरमा  योगदान दिन  विशेषज्ञहरु र सामान्य नागरिकहरुलाई यो साझेदारीका लागि प्रेरित गर्ने उदेश्यले गृह मन्त्रालयले विभिन्न कार्यक्रमहरु तयार गरी लागू गरिरहेको छ । रोकथाम, उपचार तथा सेवा र दण्ड सजाय एवं अपराध नियन्त्रणको माध्यमबाट लागू औषध नियन्त्रण कार्यक्रमको प्रभावकारीता सुदृढ गर्ने नीति लिइएको छ । यो समस्याको सामनाका लागि  अन्तराष्ट्रिय महासन्धिहरु तथा राष्ट्रिय रुपमा लागू औषध नियन्त्रण ऐन लगायतका ऐन नियम र नीतिहरुको प्रभावकारी कार्यान्वयनका लागि समाज र समुदायको सक्रिय सहभागिता र साझेदारीलाई जोड दिइएको छ ।

६.लागू औषधको दुरुपयोग र अवैध कारोवार एक बहुआयामिक समस्या हो ।यस समस्याको सामाजिक तथा मनोवैज्ञानिक समाधान त्यति नै जरुरत छ जति कानूनी र चिकित्सकीय उपायको छ । अब नशाग्रस्त युवाहरुलाई प्रभावकारी रुपमा नशाबाट मुक्तिको लागि उनीहरुलाई सार्थक रुपबाट रोजगारयुक्त बनाएर समाजसंग जोड्नु आवश्यक छ । यस समस्याको बहुआयामिक पक्षलाई मनन गरी नीति र कार्यक्रमहरु कार्यान्वयनमा जोड दिनु परेको छ ।

७.लागू औषधको दुर्व्यशनको समस्यालाई जागरुकता,रोकथामको उपायबारे जानकारी, प्रोत्साहन तथा सहयोगका प्रयासहरुबाट हल गर्न सकिन्छ । यी प्रयासहरुमा लागू औषधबाट प्रभावित व्यक्तिहरुप्रति करुणा र सहानूभूति पनि आवश्यक छ ।बाबु, आमा, शिक्षकहरु, चिकित्सकहरु, स्थानीय र स्वेच्छिक संस्थाका व्यक्तिहरुलाई तालिम दिएर चिकित्सा र पुनर्स्थापनाका प्रयासहरुमा व्यापक रुपमा सहभागी गराउनुपर्छ ।

८.    सरकारले लागू औषध नियन्त्रण र रोकथामका लागि प्रतिवद्ध जनशक्ति तयार गर्न हाल भइरहेका तालिम प्रदायक संस्थाहरुसंगको सहकार्यका माध्यामबाट शैक्षिक संस्थाहरुमा जागरुकता बढाउने गरी लागू औषध रोकथाम मार्गदर्शन ल्याउने तयारी गरिरहेको छ । लागू औषधको दूरुपयोगको आधिकारिक रुपमा लेखाजोखाको लागि सर्वेक्षणको काम अगाडी बढिसकेको छ । यसबाट प्राप्त हुने परिणामबाट हाम्रो राष्ट्रिय प्रयासहरुलाई स्पष्ट रुपमा अझ बढी केन्द्रित गरी अगाडी बढाउन मद्धत पुग्ने विश्वास गरिएको छ।

९.    समुदायमा आधारित सूचना आदान प्रदान र साझेदारीलाई समुदाय प्रहरी साझेदारी अवधारणाले मूर्त रुप दिने छ । लागू औषध लगायतका अपराध नियन्त्रण कार्यलाई सूचना प्रविधिमा आधारित तुल्याउने प्रयास भएका छन् । आगामी आर्थिक वर्षको लागि तय भएका बजेट तथा कार्यक्रमकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आधुनिकीकरणमा अभिवृद्धि हुनेछ । अन्तरदेशीय समन्वय र सूचना आदान प्रदानको माध्यमबाट उल्लेख्य मात्रा अपराध नियन्त्रण हुने विश्वास लिएको छु ।   

१०.    तीनै तहको सरकार र गैर सरकारी निकायहरुको संस्थागत क्षमता र विशेषज्ञताको उपयोग गरी कार्यक्रमका सबै आयामहरुको मूलप्रवाहीकरण गर्नु जरुरी छ । यसका लागि गृह मन्त्रालयबाट प्रदेश र स्थानीय सरकारसँग समन्वय र साझेदारी हुने नै छ । भर्खरै जारी मार्गदर्शन र गत साल कार्यान्वयनमा ल्याइएको लागू औषध नियन्त्रण कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको लागि म यस अवसरमा हार्दिक अपिल गर्दछु । 

११.    मलाई विश्वास छ कि हामी सवैको प्रयासबाट निर्माण हुने उत्कृष्ट साझेदारीको बलमा हामी लागू पदार्थ दुरुपयोग  र अवैध कारोबारमुक्त नेपालको सपनालाई साकार पार्न सक्छौं । आज लागू औषध दुरुपयोग र ओसारपसार विरुद्ध अंतर्रा्ष्ट्रिय प्रतिबद्धता व्यक्त गर्ने अवसरमा यस्ता पदार्थहरुको दुर्व्यशनबाट आफ्नो समाज र देशलाई मुक्त गर्ने हामी सबैले संकल्प गरौं । लागू औषध दुरूपयोग तथा ओसारपसार विरूद्धको अन्तर्रा्ष्ट्रिय दिवस २६ जूनको यो अवसरमा म संपूर्ण निर्वा्चित जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीहरू, उद्धमी व्यवसायीहरू,नागरिक समाजका प्रतिनिधिहरू, स्कूल कलेजका विद्यार्थी भाइ बहिनीहरू, अभिभावकहरू तथा आम जनसमुदायलाई आआफ्नो भूमिका इमान्दारिताका साथ निर्वाह गर्न अनुरोध गर्दछु ।

१२.    मुलुकमा लागू औषधको कारोबारलाई पूर्ण रूपमा निषेध र नियन्त्रण गरी छिटो भन्दा छिटो लागू औषध रहित, स्वच्छ, स्वस्थ र सबल नेपाल बनाउने महाअभियानमा आ(आफ्नो स्थानबाट सक्रियता पूर्वक सरिक हुन संपूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु

१३.    लागू औषध दुरूपयोग तथा ओसारपसार विरूद्दको अन्तर्रा्ष्ट्रिय दिवसलाई सफल बनाउन देशभरिनै विभिन्न कार्यक्रम आयोजना गरी योगदान गर्नु हुने सबैलाई धन्यवाद दिन्छु । आगामी दिनमा अझ उच्च स्तरको सहकार्य र समन्वय हुने विश्वास लिएको छु । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आयोजित विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

१४.    अन्त्यमा लागू औषध नियन्त्रण अभियानलाई २६ जुनको सन्दर्भमा मात्र सीमित नगरी मुलुक लागू औषध रहित नहोउञ्जेल सम्म निरन्तर जारी रहनु पर्दछ । यस दिवसले लागू औषध विरुद्दको अभियानमा लाग्न थप प्रेरणा मिलोस् । सबै नेपालीलाई लागूऔषध रहित समाज निर्माण गर्न सफलता मिलोस्  भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।