राजपाको नयाँ शर्तले समाजवादीका नेताहरु शशंकित

राजपाको नयाँ शर्तले समाजवादीका नेताहरु शशंकित

जनकपुर, १२ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले समाजवादी पार्टी नेपालसँग एकीकरणका लागि प्रदेश २ मुख्यमन्त्री पाउनुपर्ने प्रमुख शर्त अघि सारेपछि समाजवादीका नेता शशंकित बनेका छन् ।  

पार्टी एकताका लागि भन्दै राजपाले एकीकृत पार्टीको अध्यक्ष पद र समाजवादी पार्टीको सत्ता बर्हिगमनलाई समेत शर्तको रुपमा अघि सारेपछि तत्काल यी दुई पार्टीबीच एकता हुने सम्भावना कमजोर देखिएको छ । 

हालै काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यलयमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले एकताका लागि राजपाले यी शर्त अघि सारेपछि समाजवादीका नेताहरु झस्किएका छन् । 

एकताका लागि भन्दै राजपाले एकपछि अर्काे शर्तमाथि शर्त अघि सार्दै गएकाले हामी शशंकित बनेका छौं समाजवादीका एक नेताले भने ‘‘यसबाट के देखिन्छ भने राजपाका नेताहरु वास्तविक रुपमा एकता गर्न चाहेको होइन, यो बाहिर प्रचार गर्न मात्र खोजिएको हो कि जस्तो लाग्दैछ ।” 

एकीकृत पार्टीको नीति तथा सिद्धान्तमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको सट्टा संसदीय प्रणालीबाट चुनिनुपर्ने, पार्टीको वरियतामा महन्त ठाकुलाई कार्यकारी अधिकारसहित अध्यक्ष पद दिनुपर्ने राजपाको भनाइमा समाजवादीका नेताहरु सहमत हुने कुनै सम्भावना देखिदैन । 

तर केही दिनअघि जनकपुर आएका राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादबबीच भएको गोप्य वार्तालाई एकता प्रक्रियाकै कडीको रुपमा कतिपयले अथ्र्याएका छन् । 

यी दुबै नेताबीचको गोप्य बार्तामा पार्टी एकीकरणका लागि छिट्टै कार्यविधि बनाउने र प्रदेश २ को मन्त्रीहरु हेरफेर गर्ने सहमति भएको हल्ला चले पनि यसबारे आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।
    
दुई दलबीच एकताको प्रक्रिया जोडतोड साथ अघि बढे पनि सत्ता बहिर्गमनको बिषयमा कुरा नमिल्दा एकता प्रक्रिया केही महिनाअघि बीचमै भाँडिएको थियो, तर जनकपुरमा भएको दुई पार्टीका शीर्ष नेताको गोप्य वार्तासँगै पुनः एकताको चर्चाले व्यापकता पाएको छ । 

राज्य बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा सिके राउतको आगमनसँगै यी दुई दलमा एकताका लागि दबाब बढेको छ । 

दुबै दलको मधेश मुद्दा नै भए पनि समाजवादी सरकारमा सहभागी भएर महत्वपूर्ण मन्त्रालय सम्हालिरहेको छ भने राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिएर राष्ट्रिय आन्दोलन गर्ने चेताबनी दिइरहेको छ । राजपाले एकताका लागि समाजवादी तत्काल सरकारबाट बाहिरिनुपर्ने र फोरमले ठोस सहमति नभएसम्म सरकारबाट आफू नबाहिरिने अडानमा कायमै रहेका बेला पछिल्लो एकताको प्रयासले समेत सार्थकता नपाउने धेरैको बुझाइ छ । 

पार्टी एकताका लागि अन्य सबै बिषयमा सहमति भए पनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने र एकीकृत पार्टीको कार्यबिधि के हुने भन्ने बिषयमा सहमति हुने सम्भावना कम भएकाले यी दुई दलबीच एकता सम्भव नभएको मधेश राजनीतिकका जानकारहरुको भनाइ छ । 

तत्कालीन ६ मधेश केन्द्रीत दलबीच एकता भएर बनेको राजपामा अझै मुख्य नेतृत्वमा विवाद हुँदै आएको छ । राजपाले ६ नेता सम्मिलित अध्यक्ष मण्डल गठन गरी चक्रिय प्रणाली अनुसार पार्टीको नेतृत्व परिवर्तन गर्दै आएको छ । यस्तो अवस्थामा समाजवादीसँग एकता भए एकीकृत पार्टीको नेतृत्व कसले गर्ने ? भन्ने बिषयमा विवाद देखिएकाले पनि एकता प्रक्रिया निष्कर्षमा पुग्न कठिन रहेको जानकारहरुको भनाइ छ । 

राजपाका नेताहरु एकता गरेर एकीकृत पार्टीको अध्यक्ष राजपा अध्यक्षमण्डलबाटै कसैले गर्नुपर्ने चाहन्छन् भने फोरम कुनै पनि हालतमा एकीकृत पार्टीको अध्यक्ष आफूले पाउनुपर्ने रणनीतिमा छ । 

दुई दलबीचको एकता प्रक्रिया बीचमै रोकिएको विषयमा ती दलका नेताहरुको आ–आफ्नै तर्क छ । राजपाका नेताहरु समाजवादीका नेताहरु इमान्दार नभएको र सत्ता त्याग्न नचाहेकाले एकता प्रक्रिया अपेक्षित रुपमा अघि बढ्न नसकेको आरोप लगाइरहदा समाजवादीका नेताहरुले राजपाका नेताहरुको स्पष्ट दृष्टिकोणको आभाव र दोधारे चरित्रलाई एकताको बाधक मानिरहेका छन् ।