नाङ्गिदा छन् : हरेक क्षण आजका पत्रकारहरु

नाङ्गिदा छन् : हरेक क्षण आजका पत्रकारहरु

- भवानी बराल

उदयपुर जिल्लााको त्रियुगा नगरपालिकाले २७ जना पत्रकारलाई ३९ हजार ५ सय रुपैया बराबरको एक–एक थान ल्यापटप मुहैया गराउँदा यसको पक्षविपक्षमा बहस छेडिएको थियो । ल्यापटप लिनु हुने र लिनु नहुने विषयमा पत्रकारहरुले सामाजिक सञ्जालमा र अनेक अनलाइन पोर्टलले समाचार वनाएका थिए । ल्यापटप लिने उदयपुरे पत्रकारलाई सामाजिक सञ्जालमा ‘ल्यापटपे’ नाम पनि जुराइएको थियो । कतिपय अनलाइन पोर्टलले ‘ल्यापटप लिनेहरु ल्यापडग बने भने..’ शिर्षक राखेर समाचार बनाएका थिए । 

यतिखेर फेरी मोरङका पत्रकारकै समाचार आएको छ । विराटनगर महानगरपालिकाले ११ जना पत्रकारलाई जनही १५ हजार धनराशीसहित पुरस्कारले सम्मान गरेकोमा त्यहाँ पत्रकार र पत्रकारको पेशागत संगठन महासंघ मोरङ शाखाको विज्ञप्तिमार्फ दोहोरी चलेको छ । त्रियुगाका पत्रकारले ल्यापटप लिएको सन्दर्भमा मैले ‘गान्धीको गोप्य अंग, ल्यापटप र ल्यापडग’ शिर्षकमा मत जाहेर गरेको थिएँ । पत्रकार आचारसंहिताको हवाला दिने हो भने सिद्धान्ततः पत्रकारलाई कुनैपनि वस्तु, सेवा, सम्मान, पुरस्कार, उपहार र विशेष सुविधा लिन आचारसंहिता विपरित हुन्छ । तर के कुनैपनि पत्रकारले यो संहिता अवलम्बन गरेका छन ? अपवादमा छ भने त्यसको सूचना बाहिर आएको छैन । यसर्थ यो संहिताको धारा धेरै अघिदेखि बारम्बार खण्डित हुँदै आएको हो । 

(हेर्नुहोस : पत्रकार आचारसंहिता ०७३ को दफा ५ को उपदफा १३ को व्यवस्था : पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन ।’)

विवादमा पुरस्कार :

विराटनगर महानगरका पत्रकारको पुरस्कार प्रकरण भने महासंघले विवादित बनाइ दिएको छ । आचारसंहिता लागु गराउन महासंघको विज्ञप्ति आएको भए त्यो अर्थपूर्ण हुनेथियो । तर, पुरस्कार ‘गैरपत्रकार’ले पाएको, या ‘यस्तैउस्तै’ पत्रकारले पाएकोमा महासंघको विरोध तपशिलका विषयमा आएको छ । महासंघ पत्रकारको पेशागत हकहीत हेर्ने संस्था हो । महानगरपालिका स्थानीय तह (सरकार) हो । यो ०४७ सालको संविधान अनुसार गठीत स्थानीय निकाय जस्तो मात्र होइन । यसले संविधानतः अनूसूचीमा अधिकार पाएको छ । यसको अर्थ यो आफैमा स्वायत्त संस्था हो, स्थानीय सरकार हो ।

पत्रकारको नाममा गैरपत्रकारलाई पुरस्कृत गरेको रहेछ भने स्थानीय तहको तेजोवध हुन्छ, गर्नुपर्छ । तर, कुन पत्रकारलाई पुरस्कृत गर्ने भन्ने कुरा महानगरको स्वायत्त अधिकार हो । यसैपनि नेपाली पत्रकारिता पीत बन्दै गएको छ, महानगरले पुरस्कृत गर्ने कुरा सम्भवतः उसको हितमा ‘प्रोपोगण्डिष्ट’ पत्रकारलाई नै दिने हो । महानगरले ल्यापडग (काखे मिडिया) नै चाहान्छ । यसमा महासंघको चित्त दुःखाई मुनासिव लाग्दैन । कुनै स्थानीय तहले कसैलाई पुरस्कृत गर्दैमा महासंघको हैसियत डुब्ने, जहाज प्वाल पर्ने हुँदैन । 
 

पत्रकारिता पुरस्कार :

नेपालमा पत्रकारिता विषयमा दिइने पुरस्कारको फेहरिस्त उल्लेख गरेर साध्य छैन । कुनैवेला पञ्चायतले राखेको गोर्खा दक्षिणबाहु पुरस्कार भन्दा कम नहोला । व्यक्तिदेखि बैंक वित्तिय संस्थासम्मकाले पुरस्कार राखेका छन् । रिपोर्टर्स क्लबदेखि स्पोर्टीङ क्लबले पनि पत्रकारिता पुरस्कार राखेका छन् । पत्रिका सञ्चालकका पत्रकारदेखि तिनको पुर्खाको नाममा पुरस्कार छन् । दिवंगत पत्रकारका नाममा पुरस्कार छन् । महासंघका स्थानीय शाखामा त्यत्तिकै संख्यामा पुरस्कार छन । यसअघि जिल्ला विकास समितिले पनि पत्रकारिता पुरस्कार राखेको थियो । नगरपालिका, सामाजिक संघसंस्था, व्यापारिक संघ संस्थाले राख्ने नै भए । यहाँसम्मकी मदिरा व्यवसायी संघले पनि पत्रकारिता पुरस्कार राखेका छन् । मानिसहरु केहि नपाइने, समयमात्र नष्ट हुने अतिथि आसनग्रहण गर्न त लोभिन्छ भने सम्मान पुरस्कारमा लोभिनु मानवीय कमजोरी नै हो । 

पत्रकारितामा सरकारी पुरस्कार पनि त्यत्तिकै संख्यामा छ । सरकार तथा यससँग सम्बन्धित संघसंस्थाले राखेको पुरस्कार लिनेको होडबाजी त रामरमिता लाग्दो नै हुने गरेको छ । ‘पेशाागत मर्यादा तथा दायित्वमा प्रतिकुल प्रभाव पर्ने गरी’ पुरस्कार सम्मान वा विशेष सुविधा नलिने कुरा ढोँग जस्तै भएको छ । आचारसंहिताको यो वाक्यको अर्थ छैन । जुन वाक्यको कुनै मूल्य छैन, त्यहि वाक्यको सेरोफेरोमा अत्मानुशासन खोज्नुको अर्थ छैन ।

विज्ञप्तिको दोहोरी :
सरकारले वितरण गर्ने पत्रकारितामा सिण्डिकेट, कार्टेलिङ भैरहेको बेला नगरपालिकाले दिने पुरस्कारमा कर्याविधि खोजी गर्नु आफैमा उदेक लाग्दो हुनेछ । महानगरले गर्ने पुरस्कार खुद ‘भद्दा नाटक’ नै हो किनभने त्यहाँ निश्चित राजनैतिक पार्टीको नेतृत्व हुन्छ । लोकतान्त्रिक संस्कारको अभावमा यस्ता नाटक भैरहन्छन् । पत्रकारहरुले पत्रकारितामार्फत साँचो अर्थमा भद्दा नाटक गरेको हो भने त्यस्ता संस्थालाई लोकतान्त्रिक संस्कारमा ल्याउने नीति निर्माणको लागि जनमत तैयार गर्नु पर्छ । एकपाने विज्ञप्तिको व्यहोरा फालेर यस्ता संस्था हाँक्नेहरुको संस्कारित हुन्नन । 

यता पुरस्कृत हुने ७ भाइको फिर्ती विज्ञप्तिले उनीहरुको वोद्धिक दरिद्रता देखाएको छ । विज्ञप्तिमा पुरस्कार पाउने मध्येकै केहिको अनुपस्थिति हुनुले कतै महासंघले भनेजस्तै ‘गैर पत्रकार’हरु नै नआएको भन्ने अर्थ पनि लाग्छ । महासंघले विरोध जनाइसकेपछि हिम्त जुटाएर पुरस्कार फिर्ता गर्ने साहस ति पत्रकारमा देखिएन । यसरी पुरस्कृत हुँदा उनीहरुलाई पहिलो गाँसमा ढुङ्गा नलाग्नु आफैमा दिक्दारलाग्दो कुरा हो ।

नाङ्गिए सबै :

विज्ञप्तिले दुवै पक्षलाई नङ्ग्याउनसम्म नङ्ग्याएको छ । जुनदिन पुरस्कार दिइएको थियो त्यहिदिन महासंघको विज्ञप्ति बाहिर आउनु आफैमा अनौठो छ । पुरस्कृत हुनेहरुले दावी गरे अनुसार महासंघका अध्यक्ष पुरस्कार कार्यक्रममा उपस्थित भएर वधाइ दिने अलि पर्तिर गएर विरोध गर्ने यस्तो पनि हुँदो रैछ.... भने जस्तै भयो । यसैपनि विराटनगरको पत्रकार र पत्रकारिताको सम्बन्धमा खासखुस बाक्लो हुने गर्छ । त्यसै कुरालाई मलजल र पुस्टी हुनेगरी दोहरी आएको छ । सम्भवत यो प्रकरणले जस्तो आफु उस्तै च्यापु उखानलाइ चरितार्थ गरेको छ ।