स्वतन्त्र निष्पक्ष व्यापारमा आबे सीको सहमतिले जी ट्वेन्टीको निर्णय कस्तो हुने ?
काठमाडौ । शुक्रबार र शनिबार दुई दिने जी ट्वेन्टीको ओसाकामा आयोजित शिखर सम्मेलन अघि जापानका प्रधानन्त्री सिन्जे आबे र चिनियाँ राष्ट्रपति सी जिनपिनले स्वतन्त्र निष्पक्ष व्यापारलाई प्रवद्र्धन गर्न सहमत भएका छन् ।
साथै उनीहरूले विश्व अर्थतन्त्रका जटिलताहरूका बारेमा पनि छलफल गरेको जापानी अधिकारीहरूले आबे र सीबीच बिहीबार भएको भेटवार्ताबारे जानकारी दिएका छन् ।
विश्वको सबै भन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्यायपूर्ण असन्तुलित व्यापारले अमेरिकी अर्थतन्त्रलाई हानी पु¥यायो भनेर आफ्ना व्यापार साझेदारहरूसँग व्यापार युद्ध चलाएका विषयमा पनि आबे र सीले छलफल गरेका थिए ।
जापानको मन्त्रिपरिषदका उपप्रमुख सचिव यासुतोशी निशीमुराले जी ट्वेन्टीको शिखर सम्मेलन अघि दुई नेताबीच यस विषयमा खुलेर छलफल भएको बताए ।
ट्रम्प र सीबीचको भेटवार्ता शनिबार तय गरिएको छ । जापान आउन अघि बुधबार ट्रम्पले चीनसँगको व्यापार सम्झौता हुन सक्ने विश्वास व्यक्त गरेका थिए ।
आबे र सीले क्षेत्रीय बृहत आर्थिक साझेदारी र जापान चीन दक्षिणी कोरियाबीचको स्वतन्त्र व्यापार सहमतिमा मिलेर काम गर्ने सहमति भएको निशीमुराले बताए ।
यसैगरी जापान र चीन संगै दक्षिणपूर्व एसियाका १० सदस्य देशहरूको संगठन आसियानमा पनि मिलेर काम गरिरहेका छन् ।
क्षेत्रीय बृहत आर्थिक साझेदारीमा यी दुई देशले अस्ट्रेलिया, भारत , न्यूजील्यान्ड र दक्षिण कोरियालाई सहभागी गराउन प्रयास गरिरहेका छन् ।
यो क्षेत्रीय संगठनमा आबद्ध देशहरूले विश्वको कुल जनसंख्याको आधाजति हिस्सता ओगटेका छन् भने विश्व अर्थतन्त्रको एक तिहाइ हिस्सा ओगेटका छन् ।
यसका अतिरिक्त आबेले आगामी बसन्तमा जापानको राज्यका अतिथिको रूपमा भ्रमण गर्न गरेको आग्रहलाई सीले स्वीकार गरेको निशीमुराले जनाए ।
गत वर्ष आबेले चीनको भ्रमण गरेका थिए ।
यी दुई देशबीच ऐतिहासिकरूपमा भूमिसम्बन्धी विवाद रहेको भएपनि सम्बन्धमा सुधार हुँदै आएको देखिएको छ ।
आबे र सीले यसका लागि पहल गरेको देखिएको छ ।
जापान र चीनबीचको यो सहमतिले जी ट्वेन्टीको शिखर सम्मेलनको परिणामबाट संकटमा परेको अर्थतन्त्रमा गति प्रवाह हुने विषयमा विज्ञहरूले विभिन्न अडकल गरी बसेका छन् ।
प्रतिक्रिया