यी हुन् काठमाडौंका युवतीलाई काँटीले घोच्दै हिँड्ने सन्तोष कार्की  

यी हुन् काठमाडौंका युवतीलाई काँटीले घोच्दै हिँड्ने सन्तोष कार्की  

काठमाण्डौ, १३ असार ।  प्रहरीले काठमाण्डौको विभिन्न स्थानमा ‘सुई आतंक’ मच्चाउने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

महानगरीय प्रहरी परिसर, काठमाण्डौले स्वयम्भू र सोह्रखुट्टे क्षेत्रका युवतीहरुलाई जथाभावी सुई घोच्दै हिँडने रामेछापका सन्तोष कार्कीलाई बिहीबार राति १० बजेतिर महाराजगञ्जबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
पीडित युवतीहरुले दिएको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

काठमाण्डौको महाराजगञ्जमा आफ्नै दाजुसँग मिलेर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका कार्कीले बेलुका नौ बजेतिर आफ्नो रेष्टुरेन्टबाट फर्कने क्रममा स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा एकान्तमा भेटिएका महिलाहरुमाथि काठको छेस्को वा धलौटको काटीले घोच्ने गरेको उनको प्रारम्भिक बयानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
नैकाप बस्दै आएका कार्कीले प्रयोग गर्दै आएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।