प्रदेश २ सरकारद्वारा जनयुद्ध र जनआन्दोलनका शहीद परिवारलाई उपेक्षा; आन्दोलनको तयारीमा पिडित

प्रदेश २ सरकारद्वारा जनयुद्ध र जनआन्दोलनका शहीद परिवारलाई उपेक्षा; आन्दोलनको तयारीमा पिडित

जनकपुर, १५ असार । प्रदेश २ सरकारले तत्कालिन जनयुद्ध तथा जनआन्दोलनको क्रममा शहीद भएका तथा बेपत्ता र घाइते परिवारलाई उपेक्षा गर्दै आएको छ ।

देश र जनताका लागि शहीद हुनेहरू कुनै अमुक पार्टीको हुँदैन्, शहीद देशका लागि हुने भएकाले प्रदेश सरकारको पक्षपातपूर्ण व्यवहारले शहीदको अपमान भएको शहीद, बेपत्ता तथा घाइते परिवारले बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विगतको सबै आन्दोलन र संघर्षको योगदान रहेपनि शहीदप्रति पूर्वाग्रही भएर प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद र घाइते परिवारलाई मात्र सेवा सुविधा दिई विभेद गरेको भन्दै त्यस्तो बिभेद नगर्न शहीद, बेपत्ता तथा घाईते परिवारले चेताबनी समेत दिएका छन् ।

प्रदेश २ सरकारको पहिलो मन्त्रिपरिषदको निर्णयबाट मधेस आन्दोलनका शहीद परिवारलाई एक परिवार एक रोजगारको निर्णय गरि सोही अनुरुप मधेश आन्दोलनका हरेक शहीद परिवारलाई नियुक्ति पत्र दिई सकेको र व्यवस्थापन मिलाउने क्रममा रहेको छ ।

यस्तै प्रदेश २ सरकारले मधेस आन्दोलनको शहीदका बालबालिकाको अध्ययनका लागि विशेष छात्रवृत्ति योजना ल्याएको र क्रमैसँग मधेस आन्दोलनका घाइते परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । यति हुदाँ समेत चुप लागेर बसेको जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहीद, बेपत्ता तथा घाईते परिवारहरु पछिल्लो पटक प्रदेश २ सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले  मधेस आन्दोलनका क्रममा शहीद तथा घाइते परिवारलाई लक्षित गरी दुधालु गाई–भैंसी वितरण गरेपछि असन्तुष्ट बन्दै आन्दोलनको तयारी थालेका छन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस आन्दोलनका क्रममा शहीद भएका र सख्त घाइते भएका परिवारलाई दुधालु भैंसी र गोठ सुधारका लागि ३० हजार प्रदान गर्न सुरु गरेको छ । यसको एक साताअघि एक कार्यक्रमका बीच प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेका थिए ।

प्रदेश सरकारले बनाएको कार्यबिधीमै मधेश आन्दोलनका शहीद भनेर उल्लेख गरि त्यही अनुरुपको व्यहार प्रस्तुत गर्दै आएपछि जनयुद्ध र जनआन्दोलनका शहीद, बेपत्ता तथा घाइते परिवारहरुले आफुहरुमाथि प्रदेश सरकारबाट बिभेद भएको बताएका छन् ।

शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले राजविराजमा पत्रकार सम्मेलन गरि प्रदेश २ सरकारबाट मधेस आन्दोलनका शहीद र घाइते परिवारलाई मात्र सेवा सुविधा दिई जनआन्दोलन र जनयुद्धका शहीदको उपेक्षा गरिरहेकोले आन्दोलनको विकल्प नभएको बताएको छ ।

प्रदेश सरकारको त्रुटिपूर्ण कार्यविधि सच्याई सम्पूर्ण शहीद र घाइते परिवारलाई सम्मानजनक र समान व्यवहार गर्न माग गर्दै शहीद, बेपत्ता तथा घाईते परिवार सप्तरीका अध्यक्ष शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाकी रीता चौधरीले प्रदेश सरकारले बिभेदपुर्ण व्यवहार नरोके कडा संघर्षमा जाने चेतावनी दिइन् ।

प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको कार्यविधिको निवेदनको ढाँचामा नै ‘मधेस आन्दोलनका शहीद परिवारलाई लक्षित गरी उन्नत नश्लको दुधालु गाई वा भैंसी उपलब्ध गराउने कार्यक्रममा सहभागी हुनका लागि इच्छुक रहेकाले यो निवेदन पेश गरेको छु’ उल्लेख भएकाले जनयुद्ध र जनआन्दोलका शहीद भएकाहरुका परिवार निवेदन दिनबाट वञ्चित भएको शहीद बेपत्ता तथा घाईते परिवार सप्तरीका सदस्य राजेश रामले बताए ।

प्रदेश २ सरकारले सुरुवातदेखि नै गरिरहेको पक्षपातपूर्ण निर्णय र व्यवहार नसच्याए प्रदेशका आठै जिल्लामा मोर्चा बनाई संघर्ष गर्ने अध्यक्ष चौधरीले चेतावनी दिए । सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।