बाँके जंगल घटनाको छानबिन गर्न प्रदेश सरकारद्वारा समिति गठन

बाँके जंगल घटनाको छानबिन गर्न प्रदेश सरकारद्वारा समिति गठन

जनकपुर, १६ असार । सर्लाहीको बाँके जंगलमा प्रहरी र प्रदर्शनकारीबीच झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु हुने गरी भएको घटनाको छानबिन गर्न प्रदेश २ सरकारले छानबिन समिति गठन गरेको छ । 

सो घटनाको छानबिनका गर्न प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव अरुणकुमार झाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । घटनाको सत्यतथ्य पत्ता लगाई यथाशीघ्र दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई निर्देशन दिएको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रेस बिज्ञप्ति जारी गर्दै सामान्य विवादको क्रममा प्रहरीले गोली चलाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

प्रहरीले चलाएको गोली मृतकको टाउकोमा लागेको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न समिति समेत गठन गरिएको बिज्ञप्तिमा जनाएको छ । 

मृतक परिवारलाई क्षतिपुर्ति र घाइतेको उपचार खर्च प्रदेश सरकारले उपलब्ध गराउने मन्त्री यादवको विज्ञप्तिमा उल्लेख छ । 

झडपका क्रममा प्रहरीले चलाएको गोली लागि सर्लाहीको ईश्वरपुर नगरपालिका– १३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको थियो । 

सर्लाही र महोत्तरीको सिमा छुट्याएर बग्ने बाँके खोलामा मापदण्डविपरीत ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार स्थानीयवासी लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमितको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा शव राखेर प्रदर्शन गरेका थिए ।