विषादीयुक्त तरकारी र फलफूलको जाँच कठोर बनाउनु आवश्यक

विषादीयुक्त तरकारी र फलफूलको जाँच कठोर बनाउनु आवश्यक

काठमाडौ । सरकारले जनताको स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने खाद्यान्न लगायतका खाने कुराको गुणस्तर जाँच गरी पैठारी गर्नुपर्ने ठोस व्यवस्था मिलाउनु पर्ने आवश्यकता रहेको सरोकारबालाहरूको माग रहेको छ ।

यसो गर्दा कसैको दबाबलाई संविधानमा व्यवस्था गरिएको जनताको स्वास्थ्यसम्बन्धी हकको सुरक्षा गर्नुपर्ने दायित्व भन्दा ठूलो सरकारले मान्न नहुने उनीहरूको भनाइ रहेको छ ।

सरकारले विषादीयुक्त तरकारी र फलफुल आयात रोकन सीमा नाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको सन्दर्भमा सरोकारबालाले यस्तो बताएका हुन् ।

भारतलगायत तेस्रो मुलुकबाट आउने खाद्य सामग्रीको गुणस्तर जाँच गर्न खोज्दा सीमा नाकामा ट्रकहरू रोकिन पुगेको छ ।

जनताको हितमा प्रतिकूल  असर पार्ने विषादीयुक्त खाद्य सामाग्रीको चेक जाँचमा कडाइ गर्नुपर्ने निर्णय सरकारले जेठ १० गते गरेको थियो ।

त्यो निर्णयलाई असार २ गते राजपत्रमा प्रकाशित गरिएको थियो ।

त्यसपछि उद्योग वाणिज्य मन्त्रालयले भारतलगायत अन्य मुलुकबाट आयात हुने क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थमा पूर्ण बन्दे लगाएको छ ।

त्यसै अन्तर्गत आयात हुने ताजा तरकार फलफूललगायतको वस्तु जाँच गर्न क्वरेन्टाइन  र जीवनाशक विषादीको अवशेष परीक्षणलाई अनिवार्य गरिएको छ ।

यसै अनुसार सीमा नाकामा यसको परीक्षण गर्न थालिएको छ । यसअघि सीमा नाकाबाट यस्ता वस्तुको नेपाल प्रवेश निर्वाध भइरहेको थियो । 

भारतले सीमानामा विषादी जाँचका लागि प्रयोगशाला नभएको भन्दै उत्पत्तिको प्रमाणपत्रको आधारमा प्रवेश दिनुपर्ने जिकिर लिएको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार आवश्य संयन्त्रको अभावमा तत्कालका लागि स्थगन गर्ने निर्णय गरिए यो फेरि कार्यान्वयन गराउन गाह्रो हुनेछ ।

भारतको दबाब पछि यो निर्णयबारे पुनर्विचार गर्न लागिएको स्रोतको भनाइ रहेको छ ।