कर्णाली र युद्धपत्रकारिता

कर्णाली र युद्धपत्रकारिता

नवीन रिजाल

२०५२ फागुन १ गते जनयुद्धको घोषणा भयो । जनयुद्धमा जनसेनाको जस्तै प्रचारकार्य पनि महत्वपूर्ण थियो । मिसन पत्रकारिता मेरो रोजाइको विषय थियो । मेरो रोजाइको विषय नै मलाई पार्टीले जिम्मा दियो । पार्टीले दिएको जिम्मेवारीलाई मैले पनि गम्भीरताका साथ लिएँ । सत्ताको दमन र आतङ्कका बीच पार्टीले अभियान अगाडि बढायो । वर्गीय मुक्ति चाहनेहरु यो अभियानमा झनै संगठित हुन थाले । जिम्मेवारी अनुरुप पार्टीले चलाएका हरेक अभियानहरु शब्दमार्फत् सम्प्रेषण गर्दै आएँ ।

पार्टीको अभियानमा भएको विकास र विस्तारसँगै राज्यले पत्रकारितालाई समेत आतङ्ककारीको बिल्ला भिरायो । आफ्ना कलमलाई झन् तिखो बनाउँदै जनतालाई क्रान्तिको पक्षमा लाग्न र स्वतन्त्रताको गीत गाउन आव्हान गर्दै कलम चलायौं । स्वतन्त्रताका सेनानी, आर्दशका खानि साहित्यिक पत्रिका कलम, जनादेश र जनदिशा दैनिकका प्रधान सम्पादक कृष्ण सेन ‘इच्छुक’ सहित कञ्चन प्रियदर्शी, देवकुमार आचार्य, कमल एसी, विनोद चौधरी, डी कौडिण्य, ज्ञानेन्द्र खड्कालगायतलाई कब्जामा लिई चरम यातना दिएर विभत्स हत्या गरियो । 

विश्वभरि नै नेपाल पत्रकारहरुका लागि विश्वकै ठूलो जेल कहलायो । क्रान्तिलाई समर्थन गरेर लेखेकै आधारमा कैयौं पत्रकारको हत्या गरियो, कयौंलाई बन्दी र कयौंलाई बन्दी बनाइयो ।

दैलेखको सन्दर्भमा पनि क्रान्तिकारी पत्रकार देउरुपा सलामी, सुकुल सिंह, राजेश शाही, प्रकाश न्यौपानेजस्ता योद्धाहरुको विभत्स हत्या गरियो । राजधानी काठमाडौंबाट मिलन नेपालीलगायत दर्जनौं पत्रकारलाई राज्यले बेपत्ता बनायो ।

युद्ध मोर्चामा जीवनको पर्वाह नगरी समाचार सङ्कलन र सम्प्रेषण गर्ने पत्रकार नै साहसिक पत्रकार हुन् । माओवादीले लडेका प्रायः सबै मोर्चामा क्रान्तिकारी पत्रकारहरु सहभागी थिए । एकापसमा मोर्चा कसिरहेका जनसेना र शाही सेनाको गोलीका पर्राका बीच कलम, रेकर्डर र क्यामेरा चलाउनु सानो चुनौती थिएन ।

नेपालमा सरकारको अनुमतिबिना रेडियो प्रशारण गर्नु कल्पनाकै विषय मात्र थियो । तर पार्टीले योजना बनाएपछि त्यो असम्भव भएन । युद्धको विकासले माग गरेबमोजिम देशभर जनताको पक्षमा रेडियो गणतन्त्र घन्किन थाल्यो ।

त्यही रेडियो गणतन्त्रमार्फत् कालिकोटको पिली आक्रमणलाई प्रसारण गर्ने मौका मैले पाएको थिएँ । मेरो साथमा चंख रोकाया पनि हुनुहुन्थ्यो । योजनाबद्ध आक्रमण भएकाले माओवादीले पिली आक्रमण सफल पा¥यो । माओवादीले गरेको पिली कार्वाहीमा तत्कालीन शाही नेपाली सेनातर्फ ५९ र माओवादीतर्फ कमाण्डर शरद अवस्थीसहित २६ जनाले ज्यान गुमाए । शाही सेनाका ६४ जना माओवादी सेनाको कब्जामा परे । यो अभियानमा भेरी कर्णाली प्रदेशका सञ्चारमाध्यम (जनसन्देश पत्रिका, रेडियो भेक आवाज) मा कार्यरत सञ्चारकर्मीहरु रिपोर्टिङका लागि खटिएका थिए ।

दुई पक्षबीच लडाइँ भइरहेका बेला बम र बन्दुक पड्किएका आवाज जनसमुदायलाई सुनाउनकै लागि दोहोरो फायरिङका बीच जीवन जोखिममा राखेरै रुखको आड लिएर भए पनि आवाज रेकर्ड गराउनुपर्ने र समाचारहरु सम्प्रेषण गर्नुपर्ने दायित्व पत्रकारलाई छँदै थियो ।

ज्यान त जोखिममा यसै थियो, समाचार सङ्कलनका लागि प्रयोग गरिएका क्यामरा, रिल, रेकर्डर, क्यासेट र डायरीको संरक्षण गर्नु झनै जोखिमपूर्ण थियो । तर जीवनलाई जोखिममा राखेर गरिएको पत्रकारितालाई आजभोलि कतिपयले हल्का ढङ्गले लिएको देख्दा उदेक लाग्छ । 

उच्च हिमाली भेगका युद्ध मोर्चाहरुमा चिसोका कारण रेकर्डर, क्यामेरालगायतका सामग्रीका ब्याट्रीका शक्ति नष्ट हुन्थे । बजार सहज थिएन । बजार भए पनि आवश्यक सामग्री भेटिन्नथ्यो । युद्धको रिपोर्टिङका क्रममा नदी तर्नु पर्ने थियो । पानीमा रुझ्दै हिंड्दा लेखेर तयार पारिएका सामग्री भिजेर बिग्रिन्थे । कतिबेला मारिने हो भन्ने पत्तो पनि थिएन । जीवनलाई जोखिममा राखेर गरिने यस्तो पत्रकारितालाई नै साहसिक युद्ध पत्रकारिताको परिभाषा दिइएको होला । 

माओवादीले सञ्चालन गरेका विभिन्न सञ्चार माध्यममध्ये केन्द्रमा जनादेश र जनदिशालगायतका पत्रपत्रिका थिए । जिल्लामा कयौं पत्रिका लिथो मसीको प्रयोग गर्दै जंगल र ओडारबाटै प्रकाशित हुन्थे । अग्ला रुखका टुप्पामा टावर राखेर रेडियो बजाउनु पर्ने बाध्यता थियो । सुरक्षा खतरा हुनासाथ त्यस्ता रेडियोका सामग्री डोकोमा राखेर एक ठाउँबाट अर्को ठाउँमा सारिन्थ्यो । यस्ता रेडियोलाई डोके रेडियो पनि भनियो । यी मिडियामार्फत् युद्ध पत्रकारहरुले जोखिम मोलेर ल्याएका समाचारहरु प्रकाशन र प्रसारण हुने गर्दथे ।

भेरी–कर्णाली प्रदेशको जाजरकोटको खुरु गर्खाकोट जंगलमा रहेको अग्लो डाँडामा रेडियोको टावर राखिएको थियो । रुकुमको तीन बहिनी हिमालमा जनगणतन्त्र रेडियो नेपाल थियो । रुकुममा सचिन रोका, लक्ष्मी पुन, मौसम रोकालगायतको टिमले रेडियो सञ्चालन गरिरहेको थियो । 

सुदूरपश्चिम, गण्डकी, उपत्यका र पूर्वमा पनि जनगणतन्त्र रेडियो सञ्चालनमा थियो । रुकुममा रेडियोको नेतृत्व गर्ने सचिन रोका यतिबेला नेपाल टेलिभिजनको महाप्रबन्धक हुनुहुन्छ ।

हरिमाया शर्मा (आशा) युद्ध पत्रकारितामा सक्रिय रहँदा परिवारका ६ जना सदस्य राज्यपक्षबाट मारिए । बाबु, दाजु, बहिनी र आफ्नो नजिकका ६ जना नातेदार गुमाउँदा उहाँलाई कति पीडा भएको होला ? अहिले उहाँ नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुनुहुन्छ । युद्धको समय कति निर्मम थियो भन्नका लागि प्रतिनिधि घटनाको रुपमा मात्र हरिमायाको सन्दर्भ उठाइएको हो ।

जनयुद्धको अवधिमा १७ हजार बढीको ज्यान गयो । हजारौंहजार योद्धा घाइते, कयौं अङ्गभङ्ग र बेपत्ता छन् । हिजो गरिएका ती बलिदानी कथा भइसक्यो भन्नेहरु पनि छन् । त्यसलाई लिपीबद्ध गर्न सकिएन होला तर, जिउँदा सहिदहरु अहिले पनि जनयुद्धको प्रमाणका रुपमा रहेका छन् । युद्धको काम सजिलो हुने भएको भए जोकोही पनि मोर्चा कस्न तम्सने थिए । तर, त्यो सहज र सजिलो छैन ।

जनयुद्ध एउटा अभियान थियो । गरिब, निमुखा, अभावमा जेलिएका, भ्रष्टाचारबाट आक्रान्त नेपाली जनताले चलाएको यो अभियानलाई सफलतातिर बढाउन युद्ध पत्रकारहरुको पनि बलिदानीपूर्ण भूमिका रहेको छ । 

समाजमा व्याप्त शोषणका सबै जालोबाट मानवलाई मुक्त गराउन महान् विचार दिनु हुने माक्र्स, लेनिन र माओले पनि आफ्नो राजनीतिक जीवन पत्रकारिताबाटै सुरु गर्नुभएको थियो ।

युद्धको रिपोर्टिङ गर्दैगर्दा कयौं पत्रकारहरु घाइते बनेका छन् । उनीहरुको जीवन निर्वाहमा जटिलता थपिएको छ । औषधि खाइरहनुपर्ने, उपचार गरिरहनु परे पनि कयौं घाइते साथीहरु अहिले पनि कुनै न कुनै रुपमा पत्रकारितामा सक्रिय छन् । स्वयम् जनयुद्धको क्रममा घाइते भएको म पछिल्लो समय भइरहेको योजनाबद्ध मानसिक आक्रमणबाट समेत घाइते अवस्थामा छु ।

तत्कालीन राज्य पक्षको सेनाको यातनाका कारण म शारीरिक र मानसिक रुपमा असक्त रहेको छु । दुई पटकसम्म घाइते भएको मैले अहिले पनि नियमित चेकजाँच र औषधि खाइरहनु पर्छ । यातनाका कारण ब्लाडर फुटी नशाहरु खुम्चँदा पिसाब गर्न धेरै समय लाग्नाले मिर्गौला जुनसुकै समय फेल हुनसक्छ । मानसिक यातनाले दीर्घकालीन रुपमा नै मष्तिष्कमा असर पर्ने भएकाले जुनसुकै बेला प्यारालाइसिस हुनसक्ने सम्भावना भएको चिकित्सकले बताएका छन् । शरीरभित्रकै सम्बेदनशील अङ्ग गुमाएर पक्षघातको समस्या बोकेर बसिरहनु परेको त छँदैछ ।

न खानको ठेगान, न सुत्नको ठेगान । जीवनलाई जोखिममा राखेर बन्दुक, कलम र माइक्रोफोनमा सजिएको पत्रकारिता ! कयौं दिन खानाको छाक टारेर पनि रिपोर्ट सङ्कलन गर्न दौडियौं । खाना मागेर खाने काम सजिलो थिएन । घर–आँगनमा गएर नमस्कार ग¥यो । कोही त खानाको नमस्कार त होला नि ! भनेर प्वाक्कै भनिहाल्थे । मिठो बोल्ने, हामीलाई स्वागत र सम्मान गर्नेहरुको पनि कमी चाहिं थिएन । 

युद्ध पत्रकारिताकै क्रममा पालो कुरेर बस्दा पनि बलिदानको कोटा चुक्ता गर्ने अवसर मिलेन । धेरै पटक मरेछु क्यारे भनेर मुटुको धड्कन छामेको छु । तर, ढुकढुकी चलिरहेको छ । बाँचियो भनेर रमाउँदारमाउँदै धेरै पटक मरेको अनुभूति पनि छ ।

युद्ध होस् वा शान्ति जुनसुकै बेला पनि पत्रकारिताका आफ्नै नियम र अनुशासन छन् । आजभोलि अव्यवस्थित बन्दै गएको पत्रकारितालाई संवेदनशील बनाउन सबैको ध्यान जानुपर्ने देखिन्छ । मनपरि बढेको छ । गल्ती नगर्नेहरु कमै मात्रामा भेटिन्छन् । यस्ता सबै कुरालाई निर्मूल गर्न एकजुट हुनुको साटो एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने असहज परिस्थिति अहिले पनि विद्यमान छ । 

मालिक पत्रकारले मजदुर पत्रकारको पीडा जहिलेसम्म बुझ्दैनन्, तबसम्म यो समस्याको निराकरण हुन सक्दैन । फरक विचार राख्नेहरुले यसलाई गलत भनेर ब्याख्या गर्न सक्छन् । तर हामी मिसन पत्रकारिता गर्नेहरु विचलित भएका छैनौं ।

शान्ति प्रक्रिया सुरु भएपछिका १३ वर्ष पनि पत्रकारितामै वितिसकेछन् । हिजो र आजका सोचाइ, बुझाइ र काम गराइमा धेरै भिन्नता छन् । हिजोका दिनहरु अतितका सम्झनामा सीमित भइसकेका छन् । युद्ध पत्रकार अहिले व्यवसायिक पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघका विभिन्न नेतृत्वमा छन् । ०६४ सालमा नेपाल पत्रकार महासंघ दैलेखको उपाध्यक्ष हुँदै म पनि अहिले पार्षद छु ।

नेपाल पत्रकार महासंघको नेतृत्व लिने जस्तो चुनौतीपूर्ण जिम्मेवारी हिजोका क्रान्तिकारी पत्रकाहरुले कुशलतापूर्वक गर्दै आएका छन् । परम्परागत सोच र क्रान्तिकारी पत्रकारहरुलाई देख्न नचाहने केही तत्वका कारण अहिले पनि क्रान्तिकारी पत्रकारहरुले आस्थाकै आधारमा अपमान सहनु परेको अनुभूति छ । पार्टी एकतापछि दुई संगठन एक भएर अहिले विशाल संगठन बनेको छ ।

युद्ध पत्रकारहरुले खेलेको विशेष भूमिकाकै कारण अहिले राज्य व्यवस्थाको नाम फेरिएको छ । तत्कालीन शाही नेपाली सेनाको नाम पनि फेरिएको छ । तर व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिन सकेको छैन । व्यवस्था परिवर्तनका लागि युद्ध लड्ने माओवादीहरु एक दर्जन समूहमा विभाजित भए पनि जुट्ने क्रम चलिरहेकै बेला तत्कालीन एमालेसँग एकता हुन पुग्यो । तर, विगतमा माओवादीमा आएको विभाजनले समाजमा पारेको असर कयौं शताब्दीसम्म मेटिने छैन ।

माओवादी जनयुद्वले समाजमा धेरै सकारात्मक परिवर्तनहरु ल्याएका छन् । नेपाली जनताले अपेक्षा गरेजत्ति नतिजा नआए पनि राजनैतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएका छन् । स्थानीय तहको चुनावलगत्तै भएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा त कम्युनिस्टहरुले ऐतिहासिक सफलता प्राप्त गरे । मिलेर चुनाव लडेका ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र अहिले पार्टी एकता गरी दुईतिहाई बहुमतसहित सरकार नै चलाइरहेका छन् ।

मुलुक समृद्धिका लागि कम्युनिस्टहरु एकजुट भएको जनता हेर्न चाहन्छन् भन्ने चुनावी नतिजामार्फत् जनताले सावित गरिदिएका छन् । जनताको विश्वासमाथि घात नहोस् । जुन जोगी आए पनि कानै चिरेका भन्ने भनाइ चरितार्थ नहोस् । बामपन्थी सरकारले जनतामा परिवर्तनको महसुस गराउन सक्नुपर्छ । नेकपाले विगतलाई समीक्षा गर्दै, भविष्यलाई ध्यान दिंदै र वर्तमानलाई जोड दिंदै अगाडि बढ्न सक्नुपर्छ ।

कतिपय मानिस अहिले माओवादीले हिजोका सबै मुद्दा छाड्यो, इतिहास र गरिमा छाड्यो, परिवर्तनको मुद्दा छाड्यो, सिद्धान्त छाड्यो, परिवर्तनमा साथ दिने सहयोगीहरुलाई पनि छाड्यो भनिरहेका छन् । पूर्व माओवादी केन्द्र भन्छ हामीले केही छाडेका छैनौं । मुलुक हाम्रो ऐजण्डामा घुमिराखेको छ । जनतालाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो । विगतमा माओवादी  कमजोर हुँदै जानुको एउटा कारण यो पनि हो ।

दश बर्षै जनयुद्धमा राज्य परिवर्तनका लागि जीवन–मरणको लडाइँ लडेका माओवादी कार्यकर्ताहरु र आमजनताको आर्थिक अवस्था नाजुक छ । माओवादीका नेताहरु पटक–पटक सत्तामा पुगेका छन् । जिल्लादेखि केन्द्रसम्म नातागोता र आफ्नो सम्बन्ध भएकाहरुले मात्र सहयोग पाउँछन् भन्ने आरोप अब रहनु हुँदैन ।

जनयुद्धमा समर्पित भएका कयौं कार्यकर्ताले यतिबेला चरम आर्थिक अभाव व्यहोर्नु परिरहेको छ । जनयुद्धलाई सहयोग गरेका जनताको पनि आर्थिक अवस्था नाजुक बन्दै गएको छ । अरु मुद्दा नछोडे पनि परिवर्तनका सहयोगीहरुलाई सम्मान दिन सके नराम्रै चाहिं हुने थिएन कि ? दैलेख