बजेटमा संशोधन गराउन सक्ने भारतीय बजेट आज आउँदै

बजेटमा संशोधन गराउन सक्ने भारतीय बजेट आज आउँदै

काठमाडौ । जेठ १५मा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा केही हेरफेर पार्न सक्ने भारत सरकारको यो वर्षको बजेट शुक्रबार सार्वजनिक हुन लागेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको सरकारको दोस्रो कार्यकालको पहिलो बजेट त्यहाँको तल्लो सदन लोकसभामा प्रस्तुत गर्ने भएकी छिन् ।

यस फेब्रुअरीमा तत्कालीन वित्तमन्त्री अरूण जेटलीले सार्वजनिक गरेको बजेट अन्तरिम बजेट थियो । निर्वाचन घोषणा भइसकेको अवस्थामा ल्याइने बजेट पूर्ण बजेट नहुने भएकाले निर्वाचन पछि बनेको सरकारले ल्याउने बजेटको रूपमा पनि यो बजेटलाई लिइएको छ ।

 अन्तरिम बजेटका बारेमा  प्रधानमन्त्री मोदीले  यो बजेट त ट्रेलर हो पूरा बजेटमा जनताका कतिपय अपेक्षा गाँसिएको बताएका थिए । 

यो बजेटबाट हाल आम्दानीमा लगाइने करको घेरामा केही हेरफेर हुन सक्ने अपेक्षा गरिएको छ । महिला वित्तमन्त्रीको रूपमा सीतारमणले ४९ वर्ष पछि बजेट प्रस्तुत गर्न लागेकी हुन् । यसअघि १९७०मा इन्दिरा गान्धीले बजेट प्रस्तुत गरेकी थिइन् । 

हाल भारतको आयकर सीमा अनुसार वार्षिक अढाई लाख भारू आम्दानी गर्ने व्यक्तिका लागि कुनै कर छैन् ।

त्यसपछि ५ लाखसम्म ५ प्रतिशत कर छ ।

१० लाखसम्म २० प्रतिशत कर छ ।

त्यसभन्दा माथि आम्दानी गर्नेहरूमाथि ३० प्रतिशत कर लाग्ने निर्णय गरिएको छ ।

६लाखसम्मका आम्दानी गर्नेहरूलाई करको घेरा भन्दा बाहिर राख्न सकिने अपेक्षा गरिएको छ ।

भारतसँग नेपालको व्यापार दुई तिहाइको हाराहारीमा निर्भर रहेको छ ।

भारतको बजेटमा लिइन निर्णयहरूका कारण नेपालको बजेटमा लिइएका तत्कालीन निर्णयहरूमा संशोधन गर्न सकिने सम्भावना रहेको अर्थविद्हरूको भनाइ रहेको छ ।