एसिसी यू–१९ क्रिकेट: नेपाल सेमिफाइनल प्रवेश

 एसिसी यू–१९ क्रिकेट: नेपाल सेमिफाइनल प्रवेश

असार २० । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै शुक्रबार सेमिफाइनल प्रवेश गरेको छ ।

मलेसियामा जारी खेलमा नेपालले शुक्रबार भएको समूहको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनलेको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । आजको जितसँगै नेपालले सेमिफाइनलमा आगामी सोमबार समूह ‘बी’ को उपविजेतासँग खेल्ने छ ।
रित गौतमको सतकमा नेपालले ३२७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रनमै अलआउट भएको थियो ।

नेपालका कुशल मल्लले ४ विकेट लिए । उनले ९.१ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिए । तिलकराज भण्डारीले २ विकेट लिँदा रासिद खान र सागर ढकालको नाममा १–१ विकेट रह्यो । 

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो । नेपालका लगि रितले नटआउट १ सय १५ रन जोडे ।  रितले १३७ बलमा १० चौका र १ छक्का हिर्काए। ४८ ओभरमा सतक प्रहार गरेका रित जारी प्रतियोगितामा सतक हिर्काउने पहिलो खेलाडी बने । 

सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन् । नेपालले पहिलो खेलमा चीनमाथि १० विकेटको जित हात पारेको थियो। सिंगापुरसँग पनि हारेको चीन प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।
प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ ।