नेपालमा नेपाल मण्डल सम्भव छ ?

नेपालमा नेपाल मण्डल सम्भव छ ?

उपेश महर्जन

    हिजोआज सबैभन्दा चर्चाको शिखरमा रहेको प्रदेश ३ नम्बर हो । यो यत्तिकै चर्चा रहेको भने पक्कै होइन । एक त यो केन्द्रीय राजधानी भएको प्रदेश हो । अर्काे, यो यहाँका रैथाने जाति सधैं सत्ता र सरकारको विरुद्धमा लाग्ने भएकै कारणले पनि यो वा त्यो वहानाको विषय पर्छ ।
    
संघीय राजधानी भएको प्रदेश नम्बर ३ आँफैमा चर्चा हुने खालको यस माने पनि छ कि करिब दुईसय देश भएको विश्वमा एउटै राजधानीमा सात वटा विश्वसम्पदा सूचिकृत छन् । र, आजभन्दा तीन सय वर्ष अघि विश्वमा रहेका शहरीकरणको सभ्यतामा मेसोपोटामिया, पर्सिया, ग्रिस, इजिप्ट, माया, गंगा, चिनियाँहरुकै दाँजोमा काठमाडौं र वरपरको सभ्यता (नेपालमण्डल)बाट परिचित थियो । पूर्वी मुलुकमा यसलाई नेपोर सभ्यता पनि भनिन्थ्यो । वास्तवमा यो नेपालमण्डलमा रहेका नेवाः जाति र नेवाः जातिसँगै सम्मिलित भएर बसेका सँे जाति (भोटे, तामाङ)को आदि थलो हो ।
    
यसै सेरोफेरोमा रहेर अहिले प्रदेश नम्बर ३ को नाम कस्तो दिँदा उपयुक्त हुन्छ, जातीय पहिचानलाई आधार मान्ने कि सामथ्र्यकै आधारमा नेपालमा संघीयता स्थापित भइसकेकाले जातीय पहिचान होइन, सामथ्र्यकै आधारमा नाम राख्ने भन्ने विषयले मूर्तिकृत हुँदैछ । प्रदेश नम्बर ३ मा जातीय हिसाबले नेवार (नेपालभाषा बोल्ने) १७ प्रतिशत र तामाङ भाषा बोल्ने २२ प्रतिशत रहेको र अन्य भाषा बोल्ने बुहसंख्या नभएकाले नेवाः ताम्सालिङ राख्नुपर्छ भन्ने आवाज पूर्व माओवादी र संघीय समाजवादी पार्टीका आदिवासी र गैरआदिवासीहरुले उठाउँदै आएका छन् भने एकथरि नेवाः सभासदहरुले नेपाल मण्डल ऐतिहासिक कालखण्डमा लिच्छवी र मल्ल राजाहरुले चलाइसकेकाले उपयुक्त हुने तर्क पेश गरेका छन् । यी दुईवटै तर्क नेकपामा सांसदहरुले दिने गरेका छन् भने विशुद्ध क्षत्रीय पहिचानमा पनि यही पार्टीका सासंदहरुले लबिङ शुरु गरेका छन् । 
    
नेपाल देशको राजधानी रहेको प्रदेशको नाम नेपालमण्डल राख्नु हुँदैन । यसले अन्यौलता सिर्जना गर्दछ, संघीयताका मर्म अनुसार हुँदैन । प्रकारान्तरले नेपालमण्डल मात्रै नेपाल हुन्छ र अन्य क्षेत्र (छवटै प्रदेश)लाई भारत लगायत छिमेकी देशले टुक्र्याएर खान्छ भन्ने दृष्टिकोण सार्वजनिक भएको छ । नेपालमण्डल पक्षीय समूहले इतिहासका सबै तर्क र ऐतिहासिक दस्तावेजलाई हतियारको रुपमा पेस गरिसकेको अवस्थामा त्यतातिर दिमाग घोल्याउनु उपयुक्त छैन । 

नेपालमा नेपालमण्डल वा नेवाः ताम्सालिङ जुनसुकै हालतमा उपयुक्त हुन्छ । दुवैले यहाँका आदिवासी जनजातिलाई एकसूत्रीय मालामा सजाउने काम गर्न सक्छ । नेपालमण्डल कुनै पनि मामिलामा अशोभनीय र खतराको सूचक होइन ।
    
नेपालमण्डलको बारेमा फरक कोणबाट भूमिका लेखिरहँदा विश्वमा प्रचलनमा रहेका केही देशहरुका नामहरुलाई हामीले सामान्य ज्ञान पढ्दा, लोकसेवाको तयारी गर्दा यी र यस्ता मिल्दाजुल्दा थुपै्र नामहरु कण्ठै गर्ने गरेका छौं । विश्व उदाहरण दिनुभन्दा अघि नेपालसँग सामिप्य भएका नामहरु जस्तो कि नेपालटार, नेपालथोक र नेपालगञ्ज आदि नेपालसँगै जोडिएको नामहरु हुन् । यी नामहरुले देशको नामलाई अवमूल्यन गरेको छैन, झन् नेपाललाई प्रगाढ बनाएको छ । यस्तो परिप्रेक्षमा विगतमा यही प्रदेशभित्र पर्ने सबै जिल्ला समेटिएको नेपालमण्डल उपयुक्त देखिन्छ नै । 
    
जातीय पहिचानलाई यसले प्रतिनिधित्व नगरे पनि ऐतिहासिक, सांस्कृतिक र सभ्यतालाई मुखरित गर्ने काम पक्कै गर्छ । करिब तीनचार दर्जन जति देशहरुमा देशको नाम र राजधानीका नामहरु उस्तै उस्तै छन् । देश र राजधानीको नाम मात्रै होइन दुई फरक फरक देशहरुमा पनि एउटै प्रकारको नामहरु प्रशस्तै उदाहरण रहेका छन् । 
    
विश्वमा केही यस्ता देशहरु छन्, जसको उच्चारण र हिज्जे नमिलेपछि कुन देश जनाउन खोजेको थाहा हुँदैन । विकसित देश सिंगापुरको राजधानीलाई पनि सिंगापुर नै भनिन्छ । जिवुटी देशको राजधानीलाई जिबुटी नै, सान मारिनोको सान मारिनो नै । लग्जेम्बर्गको लग्जेम्बर्ग र मोनाको देशको राजधानी मोनाको नै । संसारको सानो र भूपरिवेष्टित देश भ्याटिकन सिटीको भ्याटिकन सिटी नै । ग्वाटेमालाको राजधानी पनि ग्वाटेमाला सिटी । गिन्नी बिसाउको राजधानी बिसाउ हो । 
    
यस्तै युरोपेली देश अष्ट्रिया र सबैभन्दा सानो महादेश अष्ट्रेलियालाई हेरौं । अफ्रिकी देशहरु नाइजर र नाइजरिया चिनौं । अफ्रिकी देश माली र माल्दिभ्सको राजधानी माले झण्डैझण्डै मिल्न आउँछ । मेक्सिकोको राजधानीलाई मेक्सिको सिटी, कुवेटको राजधानीलाई कुवेट सिटी, अण्डोरा देशको राजधानी अण्डोरा ला भिल्ला र पानामाको राजधानी पानामा सिटी हो । त्यस्तै अल्जेरियाको अल्जियर्स, ब्राजिलको ब्राजिलिया, टुय्निसियाको टुय्निस हो ।
    
संयुक्त राज्य अमेरिकाको एउटा प्रदेश र युरोपेली देशका नाम केही मिल्दोजुल्दो छ । जस्तो कि जर्जिया । जर्जिया अमेरिकामा पनि छ र जर्जिया युरोपमा पनि । माथि नै उल्लेख गरिएको स्वतन्त्र युरोपेली देश लक्जेम्बर्गको राजधानी लक्जेम्बर्ग नै हो भने छिमेकी देश बेल्जियमको दक्षिण क्षेत्रको एक प्रान्तको नाम पनि लक्जेम्बर्ग पनि छ । स्वतन्त्र देश लक्जेम्बर्गभन्दा पनि बेल्जियमको लक्जेम्बर्ग डेढ गुनाभन्दा ठूलो छ । 

पहिचानको कुरा गर्दा जनसांख्यिक, ऐतिहासिकता, भाषिक, जातिगत र क्षेत्रगतलाई आधार मान्ने हो भने हाम्रै छिमेकी देशहरु भारत र पाकिस्तानमा थप्रै मिल्दाजुल्दा क्षेत्र र प्रदेशहरु रहेका छन् । जस्तो कि भारतमा भएका जम्मु कास्मिर, पाकिस्तानमा पनि कास्मिर रहेको छ । भारतमा पञ्जाब प्रान्त रहे जस्तै पाकिस्तानमा पनि पञ्जाब प्रान्त छ ।