राजपा र सपा एकीकरणमा अध्यक्ष मण्डलको संरचना बाधक

राजपा र सपा एकीकरणमा अध्यक्ष मण्डलको संरचना बाधक

काठमाडौ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले दुई पार्टी बीचको एकीकरणका लागि घनीभूत वार्ता गरिरहेका बेला केही नेताहरूले अध्यक्ष मण्डलको विद्यमान संरचना बाधक रहेको छ ।

समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव निकट एक नेताले राजपाको अध्यक्ष मण्डलको संरचनाले एकीकरणमा बाधा पारिरहेको बताएका छन् ।

नाम नखुलाउने शर्तमा ती नेताले भने “अध्यक्ष मण्डलका सबै नेता त्यो पार्टीको अध्यक्ष हैसियतका देखिएका छन् । अर्कोतर्फ राजपा बन्दा त्यस पार्टीका कतिपय बरिष्ठ नेताहरूलाई ठीक ढंगले समायोजन गर्न सकिएको छैन् ।

यस्तोमा कसलाई कुन हैसियतमा राख्ने सबाल खडा भएको छ ।”

राजपाका नेता राजेन्द्र महतोले पार्टी एकीकरणको वार्ता भइरहेको धारणा सार्वजनिक गरेका छन् ।

उनका अनुसार सपाका नेताहरूसँग दुई पार्टीबीचको वैचारिक र सैद्धान्तिक विषय मिलाउने कार्य भइरहेको छ ।

राजपाका एक नेताले महतोजीसँग वार्ता हुँदैमा एकीकरणको सबै प्रक्रिया टुङ्गिएला भन्न नसक्ने बताए ।

“महतो जी र ठाकुर जीलाई मिलाए पछि सबै मिल्ने कुरो सम्भव छैन् ।

गएको निर्वाचनमा अध्यक्ष मण्डलका सबै अध्यक्ष जनताबाट जितेर आएका छन् ।

आआफ्ना पार्टीका अध्यक्ष थिए । उनीहरूलाई एकीकरण पछि दिने सम्मान के हुन्छ?यस्ता विषयको निक्र्यौल पनि महत्वपूर्ण हुन्छ । ” ती नेताले बताए ।

अर्को कुरो समाजवादी पार्टी बनाउन अघि राजपाका नेताहरूले फोरमका अध्यक्ष उपेन्द्र यादवलाई केही दिन पर्खन भनेको र त्यो नमानेकाले पनि पार्टी नेताको प्रोफाइलसम्बन्धी विषय उठेको हो ।

समाजवादी पार्टीलाई दिइएको हैसियत भन्दा राजपाको हैसियत त्यसै पनि ठूलो रहेको छ ।

डा. बाबुराम भट्टराई चुनाव जितेका मात्र हुन् अन्य नेता निर्वाचनबाट परीक्षण भएको देखिएका छैन् ।

यस्तोमा राजपाका नेताहरूको प्रोफाइललाई कसरी मिलाउने समस्या देखिएको छ ।

अर्को विषय महतोले यादवलाई सरकारबाट हटन गरेको माग अझ पूरा नभएकाले एकीकरण भइहाल्नेमा विश्वास गर्न नसकिने उनको भनाइ थियो ।

राजपा पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए अनुसार पार्टी एकीकरणको सैद्धान्तिक आधार तय गर्नुपर्ने भएको छ ।

संविधान संशोधनका लागि आन्दोलन गर्न वा संविधान संशोधनको प्रस्तावमा मतदान गरी त्यसको संरक्षण गर्न सरकारमा जान दुई मुख्य विषयको सैद्धान्तिक आधार तय नभए पार्टी एकीकरणको आधार तय नहुने मडण्डलले बताए ।

देशको राजनीतिक अवस्था अहिले यसरी परिपक्व भइनसकेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री उपेन्द्र यादव र महतोबीच जनकपुरमा लामो वार्ता भएको थियो ।

तर त्यसबारे ठोस जानकारी दुबै पार्टी मध्ये कसैले सार्वजनिक गरेको देखिएको छैन् ।

दुई पार्टीका नेताहरूले आआफ्नो तर्फबाट अभिव्यक्ति सार्वजनिक मात्र गरेको देखिएको छ ।