राखेपको १९ औँ सदस्य सचिवमा रमेश सिलवाल नियुक्त, को हुन् सिलवाल ? 

राखेपको १९ औँ सदस्य सचिवमा रमेश सिलवाल नियुक्त, को हुन् सिलवाल ? 

काठमाडौं, २३ असार, । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले रमेश सिलवाललाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त गरेका छन् । प्रधामन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सिलवाललाई राखेपको सदस्यसचिवमा नियुक्त गर्न खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई भनेपछि मन्त्रीले सिलवालाई उक्त पदमा नियुक्ति गरेका हन् ।

यही असार ९ गते केशव कुमार विष्टको चार वर्षे कार्यकाल पुरा भएपछि राखेपमा सदस्य सचिव पद रिक्त भएको थियो । आर्थिक वर्ष ०७५/७६ समाप्तिको दिशामा उन्मुख हुँदा खेलकुद क्षेत्रमा कामको चाप र  फाइलको चाङ बढेपछि सदस्य सचिव पदमा सिलवाललाई चाँडै नियुक्ति गरिएको मन्त्रालय श्रोतले बतायो । 

मन्त्रीस्तरिय निर्णयबाट नियुक्त हुने यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै, नेपाल भलिवल संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतले आश गरेका थिए ।

को हुन् सिलवाल ? 

तत्कालीन नेकपा एमालेको युवा संघको उपाध्यक्ष भइसकेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । सिलवाल २०७२ मा राष्ट्रिय खेलकुद परिषदले गठन गरेको विवादित नेपाल क्रिकेट संघको तथर्द समितिका अध्यक्ष थिए । त्यसअघि २०६३ मा उनी नेपाल क्रिकेट संद्धघ क्यानको सदस्य थिए । उनले तत्कालीन क्यानको क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी समेत पाएका थिए । 

काठमाडौंको गोल्डेनगेट कलेजका सञ्चालक समेत रहेका सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष पनि हुन् । उनी तत्कालीन नेकपा एमालेको ओलीनिकट खेलकुद संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा आबद्ध छन् । यस्तै नेता माधवकुमार नेपाल निकटको नेपाल खेलकुद महासंघ पनि अस्थितत्वमै छ ।

सिलवालले यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने इच्छा देखाएका थिए । तर लामो समय खेलकुदमा रहेका उनलाई खेलकुद परिषद्को सदस्य सचिव पद उपयुक्त हुने सुझाव उनका निकटतम व्यक्तिले दिएका कारण उनले यो पद ग्रहण गरेको खेलकुद परिषद् श्रोत बताउँछ । प्रधानमन्त्री ओलीसँग उनको सम्बन्ध भएको झन्डै तीन दशक हुन लागिसकेको छ । केपी ओली तत्कालिन प्ररायु संघका अध्यक्ष हुँदा सिलवाल सचिव थिए ।

सिलवाल सदस्य सचिव बनेपछि अव उनका सामु आगामी मंसिरमा नेपालमा आयोजना गर्ने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्नु पर्ने चुनौती छ । उनले खेलक्षेत्रका सबै पक्षलाई राजनीतिक र आस्थाको आधारमा विभेद नगरी सबैलाई समेटर अगाडी बढ्नु पर्ने छ । साथै सिलवालले खेलकुद संघमा हुने गरेको झेलपूर्णं राजनीति अन्त्य गर्दै खेलकुदका नयाँ पूर्वाधार निर्माण, भूकम्पले भत्काएका र निर्माणाधीन अवस्थामा रहेका संरचनाको निर्माण सम्पन्न गर्दै बिना स्वार्थ खटिनु पर्ने छ । केही खेलकुद संघमा दखिएको विवाद अन्त्य गर्दै खेल क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, कर्मचारी र पदाधिकारीको मन जितेर काम गर्न सकेको खण्डमा सिलवालको कार्यकाल सफल बन्नेमा कसैको दुईमत नरहला ।