नेपाल मण्डल सम्भव छ ?

नेपाल मण्डल सम्भव छ ?

उपेश महर्जन

हिजोआज सबैभन्दा चर्चाको शिखरमा रहेको प्रदेश ३ नम्बर हो । यो यत्तिकै चर्चा रहेको भने पक्कै होइन । एक त यो केन्द्रीय राजधानी भएको प्रदेश हो । अर्काे, यहाँका रैथाने जाति सधैं सत्ता र सरकारका विरुद्धमा लाग्ने भएकै कारण पनि यो वा त्यो बहानाको विषय पर्छ ।

संघीय राजधानी भएको प्रदेश नम्बर ३ बारे चर्चा हुनु यस माने पनि छ कि करिब दुई सय देश भएको विश्वमा एउटै राजधानीमा रहेका सात वटा सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन् । र, आजभन्दा तीन सय वर्ष अघि विश्वमा रहेका शहरीकरणको सभ्यतामा मेसोपोटामिया, पर्सिया, ग्रिस, इजिप्ट, माया, गंगा, चिनियाँहरुकै दाँजोमा काठमाडौं र वरपरको सभ्यता (नेपालमण्डल)बाट परिचित थियो । पूर्वी मुलुकमा यसलाई नेपोर सभ्यता पनि भनिन्थ्यो । वास्तवमा यो नेपालमण्डलमा रहेका नेवाः जाति र नेवाः जातिसँगै सम्मिलित भएर बसेका सँे जाति (भोटे, तामाङ)को आदि थलो हो ।

यसै सेरोफेरोमा रहेर अहिले प्रदेश नम्बर ३ को नाम कस्तो दिँदा उपयुक्त हुन्छ, जातीय पहिचानलाई आधार मान्ने कि सामथ्र्यको आधारमा भन्ने बहस हुनु स्वाभाविक हो । नेपालमा संघीयता स्थापित भइसकेकाले जातीय पहिचान होइन, सामथ्र्यकै आधारमा नाम राख्नुपर्छ भन्ने विषय मूर्तीकृत हुँदैछ । प्रदेश नम्बर ३ मा जातीय हिसाबले नेवार (नेपालभाषा बोल्ने) १७ प्रतिशत र तामाङ भाषा बोल्ने २२ प्रतिशत रहेको र अन्य भाषा बोल्ने सङ्ख्या नभएकाले नेवाः ताम्सालिङ राख्नुपर्छ भन्ने आवाज पूर्वमाओवादी र संघीय समाजवादी पार्टीका आदिवासी र गैरआदिवासीहरुले उठाउँदै आएका छन् भने एकथरि नेवाः सभासदहरुले नेपालमण्डल ऐतिहासिक कालखण्डमा लिच्छवी र मल्ल राजाहरुले चलाइसकेकाले उपयुक्त हुने तर्क पेश गरेका छन् । यी दुईवटै तर्क नेकपामा सांसदहरुले दिने गरेका छन् भने विशुद्ध क्षत्रीय पहिचानमा पनि यही पार्टीका सांसदहरुले लबिङ सुरु गरेका छन् ।

नेपाल देशको राजधानी रहेको प्रदेशको नाम नेपालमण्डल राख्नु हुँदैन । यसले अन्योल सिर्जना गर्छ, संघीयताको मर्म अनुसार हुँदैन । प्रकारान्तरले नेपालमण्डल मात्रै नेपाल हुन्छ र अन्य क्षेत्र (छवटै प्रदेश)लाई भारतलगायत छिमेकी देशले टुक्र्याएर खान्छ भन्ने दृष्टिकोण सार्वजनिक भएको छ । नेपालमण्डलपक्षीय समूहले इतिहासका सबै तर्क र ऐतिहासिक दस्तावेजलाई हतियारको रुपमा पेश गरिसकेको अवस्थामा त्यतातिर दिमाग घोत्ल्याउनु उपयुक्त छैन ।

नेपालमा नेपालमण्डल वा नेवाः ताम्सालिङ जुनसुकै हालतमा उपयुक्त हुन्छ । दुबैले यहाँका आदिवासी जनजातिलाई एकसूत्रीय मालामा सजाउने काम गर्न सक्छ । नेपालमण्डल कुनै पनि मामिलामा अशोभनीय र खतराको सूचक होइन ।

नेपालमण्डलको बारेमा फरक कोणबाट भूमिका लेखिरहँदा विश्वमा प्रचलनमा रहेका केही देशहरुका नामहरुलाई हामीले सामान्य ज्ञान पढ्दा, लोकसेवाको तयारी गर्दा यी र यस्ता मिल्दाजुल्दा थुपै्र नामहरु कण्ठै गर्ने गरेका छौं । विश्वका उदाहरण दिनुभन्दा अघि नेपालसँग सामीप्य भएका नामहरु जस्तो कि नेपालटार, नेपालथोक र नेपालगञ्ज आदि नेपालसँगै जोडिएका नाम हुन् । यी नामहरुले देशको नामलाई अवमूल्यन गरेका छैनन्, झन् नेपाललाई प्रगाढ बनाएको छ । यस्तो परिप्रेक्ष्यमा विगतमा यही प्रदेशभित्र पर्ने सबै जिल्ला समेटिएको नेपालमण्डल उपयुक्त देखिन्छ नै ।

जातीय पहिचानलाई यसले प्रतिनिधित्व नगरे पनि ऐतिहासिक, सांस्कृतिक र सभ्यतालाई मुखरित गर्ने काम पक्कै गर्छ । करिब तीन–चार दर्जन जति देशहरुमा देशको नाम र राजधानीका नामहरु उस्तैउस्तै छन् । देश र राजधानीको नाम मात्रै होइन, दुई फरक–फरक देशहरुमा पनि एउटै प्रकारका नाम प्रशस्तै उदाहरण रहेका छन् ।

विश्वमा केही यस्ता देशहरु छन्, जसको उच्चारण र हिज्जे नमिलेपछि कुन देश जनाउन खोजिएको थाहा हुँदैन । विकसित देश सिंगापुरको राजधानीलाई पनि सिंगापुर नै भनिन्छ । जिबुटी देशको राजधानीलाई जिबुटी, सान मारिनोको सान मारिनो नै । लग्जेम्बर्गको लग्जेम्बर्ग र मोनाको देशको राजधानी मोनाको नै । संसारको सानो र भूपरिवेष्टित देश भ्याटिकन सिटीको भ्याटिकन सिटी नै । ग्वाटेमालाको राजधानी पनि ग्वाटेमाला सिटी । गिन्नी बिसाउको राजधानी बिसाउ हो ।

यस्तै युरोपेली देश अष्ट्रिया र सबैभन्दा सानो महादेश अष्ट्रेलियालाई हेरौं । अफ्रिकी देशहरु नाइजर र नाइजेरिया चिनौं । अफ्रिकी देश माली र माल्दिभ्सको राजधानी माले झण्डैझण्डै मिल्न आउँछ । मेक्सिकोको राजधानीलाई मेक्सिको सिटी, कुवेतको राजधानीलाई कुवेत सिटी, अण्डोरा देशको राजधानी अण्डोरा ला भिल्ला र पानामाको राजधानी पानामा सिटी हो । त्यस्तै अल्जेरियाको अल्जियर्स, ब्राजिलको ब्राजिलिया, ट्युनसियाको ट्युनस हो ।

संयुक्त राज्य अमेरिकाको एउटा प्रदेश र युरोपेली देशका नाम केही मिल्दोजुल्दो छन् । जस्तो कि जर्जिया । जर्जिया अमेरिकामा पनि छ र जर्जिया युरोपमा पनि । माथि नै उल्लेख गरिएको स्वतन्त्र युरोपेली देश लक्जेम्बर्गको राजधानी लक्जेम्बर्ग नै हो भने छिमेकी देश बेल्जियमको दक्षिण क्षेत्रको एक प्रान्तको नाम पनि लक्जेम्बर्ग छ । स्वतन्त्र देश लक्जेम्बर्गभन्दा पनि बेल्जियमको लक्जेम्बर्ग डेढ गुनाभन्दा ठूलो छ ।

पहिचानको कुरा गर्दा जनसाङ्ख्यिक, ऐतिहासिकता, भाषिक, जातिगत र क्षेत्रगतलाई आधार मान्ने हो भने हाम्रै छिमेकी देशहरु भारत र पाकिस्तानमा थप्रै मिल्दाजुल्दा क्षेत्र र प्रदेशहरु रहेका छन् । जस्तो कि भारतमा भएका जम्मु कास्मिर, पाकिस्तानमा पनि कास्मिर रहेको छ । भारतमा पञ्जाब प्रान्त रहेजस्तै पाकिस्तानमा पनि पञ्जाब प्रान्त छ ।–समयबद्ध साप्ताहिकबाट