थोडा खाना वनारस मे रहना

थोडा खाना वनारस मे रहना


भवानी बराल

हिन्दी भाषाको यो उखान (कहावत) भारत उत्तर प्रदेशको बनारस (काशी) मा प्रचलित छ । काशीमा अरु धेरै उखानहरु प्रचलनमा छन् । तर ती उखानहरुमध्ये यसको आयतन नै बढी छ । ‘थोरै खानु वनारस मै रहनु’ उखानको सिधा अर्थ यति नै हो । तर यो उखानको अन्तर्यमा जाने हो भने एउटा गम्भीर र फराकिलो अर्थ पाइन्छ । 

यसमा आदर्श सूत्रमात्र छैन, शरीर रचनालाई दीगो राख्न कति खाने ठीक्कमात्र खाने अर्थात बुद्ध सूत्र अनुसार सम्यक खाना खाने भन्ने सिकाउँछ । फराकिलो अर्थमा जीवन जिउनको लागि तिमीलाई जति आवश्यकता पर्छ त्यहाँभन्दा बढी नखोज भन्ने पनि अर्थ लाग्छ । 

भ्रष्टाचार, पापाचार, अन्याय अत्याचार गरेर व्यक्तिगत फाइदा नलेऊ भन्न पनि खोजिएको हो । सबैभन्दा महत्वपूर्ण यसको परिभाषा हो उसबेला काशीमात्र यस्तो स्थान थियो जहाँ शिक्षा हासिल गर्न सकिन्थ्यो । यसर्थ शिक्षित हुन चेतनशील र वौद्धिक विवेकशील बन्न थोरै खाएर भए पनि यो सब हासिल गर्न त्यो काशीरुपी गुरुकुलमा बस बन्न खोजिएको हो । यसै कुरालाई पुस्टि गर्न नेपालीमा अर्को उखान बन्यो, ‘विद्या हराए काशी जानु, न्याय हराए गोर्खा जानु ।’ 

नेपाली भाषामा प्रचलित यो उखानको पछिल्लो वाक्यांस ‘न्याय हराए गोर्खा जानु’ वाक्यांसको अर्थ छैन । गोर्खा नेपालको राजधानी रहेन । यसर्थ यतिखेर न्याय हराए गोर्खा जानुको अर्थ पनि छैन् । तर काशी जानुको अर्थ अझै पनि बाँकी नै छ । काशी हिन्दु विश्वविद्यालय लगायत त्यहाँका शैक्षिक प्रतिष्ठानले शिक्षा क्षेत्रमा खेलेको भूमिकामा कुनै दाग लागेको छैन । 

त्यहाँको विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयले जस्तो ९ अंक ल्याउनेलाई ६० अंक थपेर ‘स्वर्ण पदक’ दिलाएको आजसम्म सुनिएको छैन । नेपालको शैक्षिक उन्नयनमा काशीको महत्व ठूलो छ । अघिल्लो पुस्ताका नेपाली विद्वानहरु त्यहीबाट शिक्षित–दीक्षित भएका थिए । यसको लामो फेहरिस्त हुने भएकोले यसको अभिलेख यहाँ सम्भव हुन्न । यतिमात्र होइन नेपालको राजनैतिक परिवर्तनमा काशीको महत्व ठूलो छ । नेपाली साम्यवादी आन्दोलनका आदि गुरु पुष्पलाल श्रेष्ठ, प्रजातन्त्रका मसिहा वीपी कोइरालालगायत लोकतन्त्रका सेनानीहरु थोरै खाएर वनारस नबसेको भए नेपालको प्रगतिशील राजनैतिक परिवर्तनमा यति चाँडै चारचाँद लाग्ने पनि थिएन ।

यतिखेर नेपालमै पनि धेरै काँशीको स्थापना भैसकेको छ । त्यसमध्ये उपत्यका एउटा काशी हो । उपत्यका नेपालको संघीय राजधानीमात्र होइन ।  शिक्षा, स्वास्थ्य, संस्कृति, सभ्यता बोकेको ऐतिहासिक महत्वको शहर हो । गोपालवंशी, किरात, लिच्छवी, मल्ल (नेवा)हरुले ऐतिहासिक भूमिका निर्वाह गरेको सुसंस्कृत नासो हो । तर, यहाँ ‘थोडा खाना उपत्यकामा रहना’ वाक्यको अर्थ छैन । 

यसको ठीक विपरीत धेरै खाने भ्रष्टाचार, अनियमितता गर्नेहरुको स्वर्गीय शहर भएको छ । भ्रस्ट, माफिया, डन, दलाल प्रवृत्तिको टुँडीखेल भएको छ यो उपत्यका । यो कु–संस्कारले हरेक क्षेत्रलाई गाँजेको छ । 

उसो त काशी पनि दूधले नुहाएको शहर होइन । त्यहाँको नकारात्मक पक्षमा पनि उखानहरुको माध्यमबाट चिनाइने गरिएको छ । शिक्षा, धर्म, संस्कृति सम्पन्न शहर भए पनि ‘राण, साँढ, सिँढी से बचो त चलो काशी’ भन्ने चलन छ । यी तिन चीजसँग काशी जानेले सतर्क हुनुपर्छ । तर हाम्रो उपत्यका आउन, बस्न, विचरण गर्न सबै आदर्शहरु परित्याग गर्नु पर्छ । भ्रष्टाचारी, दूराचारी, पापाचारी, उत्पीडक, माफिया, डनहरुको आवाशीय शहर बनेको छ । आधुनिक जीवनलाई नैतिक मूल्यमान्यता कायम गर्ने हो भने लोकजीवनमा प्रचलित अनुभवपूर्ण यस्ता कहावतहरुको महत्व अझै जीवित हुनुपर्छ ।