फ्रान्सले गुगल र फेसबुकलाई कर लगाउन खोज्दा अमेरिकाको आपत्ति

फ्रान्सले गुगल र फेसबुकलाई कर लगाउन खोज्दा अमेरिकाको आपत्ति

काठमाडौ । फ्रान्सले अमेरिकी प्रविधि कम्पनी गुगल र फेसबुकलाई कर लगाउन खोजेपछि अमेरिकाले आपत्ति प्रकट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूलाई कर तिर्न लगाउने फ्रान्सेली योजनाको विषयमा अनुसन्धान गर्न आफ्नो प्रशासनलाई आदेश दिएका छन्।

ट्रम्पका व्यापार प्रतिनिधिले भने, “अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करबारे अमेरिकाको चासो धेरै छ । ”

फ्रान्सको संसदले नयाँ करसम्बन्धी विधेयक पारित गर्ने  अपेक्षा गरिएको छ ।

यो नयाँ कर विधेयक पारित भए गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

यसबाट फ्रान्सले यही वर्ष करिब ४० करोड युरो पाउन सक्ने अपेक्षा छ ।

७५ करोड युरोभन्दा बढी कमाउने र त्यसमध्ये साढे दुई करोड युरो फ्रान्सभित्र मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीमाथि नयाँ कर लाग्ने जनाइएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले यसप्रति आपत्ति प्रकट गरेका छन् । उनले यो एक विज्ञप्ति जारी गरी जनाएका छन् ।

त्यसमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले हामीलाई यो विधेयकबारे अनुसन्धान गर्न निर्देशन दिनु भएको छ । यो विभेदकारी अथवा अन्यायपूर्ण र अमेरिकी व्यापारमाथि बोझ अथवा प्रतिबन्धात्मक किसिमको कानुन त बनाइएको छैन त्यसको निर्धारण गर्न भन्नु भएको छ । ”

अनुसन्धानपछि फ्रान्सेली करको बदलामा अमेरिकाले पनि उसमाथि कर लगाउने अथवा नलगाउनेबारे तत्काल टुंगिसकेको छैन् ।

ट्रम्पले भने यस्ता करहरू कति पटक लगाइसकेका छन् । ट्रम्पले युरोपियन युनियन र चीनमा उत्पादित वस्तुको अमेरिकी प्रवेशमा कर लगाइसकेको छ ।

फ्रान्सबाहिर मुख्यालय हुँदैमा कुनै पनि कम्पनी कर तिर्नबाट उम्किन नपाउने फ्रान्सेली सरकारले तर्क अगाडि सारेको छ ।

प्रत्यक्ष नदेखिने र आफ्नो भूमिभन्दा बाहिर पनि प्रभाव रहेका डिजिटल अर्थतन्त्रबाट मुलुकहरूले अर्बौ  कर गुमाइरहेको बढ्दो जनचासोका कारण फ्रान्स सरकारले यो कदम चालेको हो ।

नयाँ कानुन कार्यान्वयनमा आएपछि करिब ३० मध्ये विशेषगरी अमेरिकी कम्पनीले कर तिर्नुपर्ने हुन्छ ।

चिनियाँ, जर्मन, स्पेनी र ब्रिटिश कम्पनीहरू पनि नयाँ व्यवस्थाबाट प्रभावित हुनेछन् ।

बेलायतले पनि त्यस्तै डिजिटल सेवा करबारे अध्ययन गरिरहेको देखिएको छ ।