पुस्तकालयको लडाईंमा पिथौरागढ : नेपालका विद्यार्थीलाई टिप्स

पुस्तकालयको लडाईंमा पिथौरागढ : नेपालका विद्यार्थीलाई टिप्स

भवानी बराल

पुस्तकालयमा पुस्तक नभएको, स्कूल कलेजमा शिक्षक नभएको विषयमा आजभोलि विद्यार्थीले आन्दोलन गरेको विरलै सुनिन्छ । तर दूरदराजमा यस्ता नैतिक विद्यार्थी रहेछन् भन्ने सुन्न पाउँदा मात्र पनि यो समाज भड्खालोमा नगइसकेकोे हेक्कासम्म हुन्छ । सरकार त चेतनहीन जनता भए शासन गर्न सहज ठान्छ । यस्ता सरकारलाई आन्दोलनमार्फत झक्झक्याउने काम विद्यार्थीले गर्नुपर्छ । यस्तै काम भारत उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढका विद्यार्थीले गरेका छन् ।

नेपालको पश्चिम महाकाली अञ्चल र चीनसँग सीमा जोडिएको जिल्ला हो पिथौरागढ । पिथौरागढमा एकमात्र उच्च शैक्षिक संस्था छ । लक्ष्मणसिंह मेहरा राजकीय स्नात्तकोत्तर महाविद्यालय नाम गरेको यो विश्वविद्यालयका विद्यार्थीहरु यतिखेर पुस्तकालयमा पुस्तक र कलेजमा शिक्षक हुनुपर्ने माग गर्दै आन्दोलित छन् । भारतीय लोकसभा निर्वाचनकै क्रममा १७ जुन २०१९ देखि आन्दोलित विद्यार्थीको माग आजसम्म पूरा भएको छैन ।

शैक्षिक शहीद 

शैक्षिक शहीद एउटा अनौठो घटना नै मान्नु पर्छ । पिथौरागढमा विश्वविद्यालयमा हुनुपर्ने मागसहित सन् १९७० मा आन्दोलन भएको थियो । यो आन्दोलन दवाउन तत्कालीन भारत सरकारले ठूलो प्रहरी दमन ग¥यो । त्यसैक्रममा सज्जनसिंह शाह र शोभसिंह नेपालीले शहादत प्राप्त गरे । यही आन्दोलनको फलस्वरुप सन् १९७३ मा पिथौरागढमा सरकार विश्विद्यालय स्थापना गर्न वाध्य भयो ।

अहिले यही विश्वविद्यालयका विद्यार्थीले पुस्तकालयमा पुस्तक र कलेजमा शिक्षक पर्याप्त नभएको भन्दै आन्दोलन गरिरहेका छन् । विश्वविद्यालयमा चान्सलर, रजिष्टार नभएको त वर्षाैं वितिसकेको छ । सन् ७० को दशकमा राखिएको पुस्तकवाहेक नयाँ पुस्तक त्यो विश्वविद्यालयको पुस्तकालयमा नभएकोमा विद्यार्थीको असन्तुष्टि हो । तर, भारत सरकारले यही गौण माग पनि पूरा गर्ने छाँट देखाएको छैन ।

भारतमा पुस्तकालय :

भारत एक अरव बढी जनसंख्या भएको मुलुक हो । सन् २०११ को जनगणनाअनुसार भारतका ६ लाख गाउँहरुमा करिव ७० हजार पब्लिक पुस्तकालय रहेको अभिलेख छ । यसरी नै भारतका शहरहरुमा करिव ५ हजार पब्लिक पुस्तकालयहरु छन् । 

भारतको शैक्षिक उन्नतिका लागि यस्तो व्यवस्थालाई पिछडिएको अर्थमा लिन सकिन्छ । विकसित देशहरुको पहिचान पुस्तकालयको व्यवस्थाबाट थाहा हुन्छ । अमेरिकामा ९५ प्रतिशत जनतामा पुस्तकालयको पहुँच छ । अमेरिकामा प्रतिव्यक्ति ३६ डलर पुस्तकालयमा नागरिक पहुँचको लागि खर्च गरिन्छ । भारतमा प्रतिव्यक्ति पुस्तकालय खर्च भारु ७ पैसामात्र छुट्याइएको छ । भारतले यसै वर्षदेखि विदेशवाट पुस्तकको आयातमा ५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । 

पुस्तकालय के हो ?

पुस्तकालय ज्ञानको ढुकुटी हो । सचेत, वौद्धिक, विवेकशील नागरिक निर्माण गर्ने कारखाना हो । अमेरिकी लेखक नम्र्यान कजिनका अनुसार ‘पुस्तकालय विचार प्रजनन’ गर्ने केन्द्र हो । 

नेपालमा पनि केशर महललगायत, विश्वविद्यालयका र अन्य सार्वजनिक पुस्तकालयहरु छन् । तर, ती कहाँ र कस्तो अवस्थामा छन् ? हालै नेपालले विदेशवाट आयात गरिने पुस्तकमा भन्सार शुल्क लगाएको छ । ज्ञानको आर्जन गर्ने पुस्तकमा भन्सार शुल्क लगाउनु उचित हो ? कि भारतकै सिको गरेको हो नेपालले ? नेपालका विद्यार्थीहरुले पुस्तकालयमा पुस्तक नभएको, स्कूल कलेजमा शिक्षकको अभावमा अध्ययनअध्यापन नभएको भनेर मागमुद्धा तेस्र्याएको कतै सुन्नु भएको छ ? विकास र समृद्धिको नाराभित्र कतै पुस्तकालयको विकास पनि पर्छ ? प्रश्नहरु अनुत्तरित छन् ।