देशभर वर्षा, विपी राजमार्ग अबरुद्ध, लमजुङमा बाढीले पुल बगायो

देशभर वर्षा, विपी राजमार्ग अबरुद्ध, लमजुङमा बाढीले पुल बगायो

काठमाडौं, २७ असार । बिगत दुई दिनदेखिको वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानका साथै सडक अवरुद्ध भएका छन् ।

मौसमविदहरूले विहीबार र शुक्रबार देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले बाढी पहिरोप्रति सजग रहन आग्रह गरेका छन् ।

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।

बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेको उनको भनाइ छ । आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने उनले बताए ।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ

यसैगरी हिमाली जिल्ला मनाङको हुम्डे र ङावल जोड्न बनाइरहेको स्टील गर्डर ब्रिज मस्र्याङ्दी नदीमा खसेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे र ३ ङावल जोड्न मस्र्याङदी नदीमाथि मोटर हिँड्न मिल्ने पुल बनाउँदै गर्दा खसेको स्थानीयले बताएका छन् । स्टील जोड्ने कार्य अन्तिम चरणमा पुगेको उक्त पुल मस्र्याङ्दी नदीमा झुण्डिएको अवस्थामा रहेको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले बताए । उनका अनुसार पुलको स्टील जोड्न नदीमै राखिएको टेको बुधबार दिउँसोतिर बाढीले बगाएपछि पुल खसेको हो । उनले भने–‘पुल बनाउँदै गर्दा नदीको छेउछाउ टेको लगाएको थियो । त्यही टेकोको जगलाई बाढीले बगाएपछि पुल खसेको रहेछ ।’

पुलको स्टील जोड्नेकार्य अन्तिम चरणमा पुग्दै गर्दा बाढीले टेको बगाएपछि निर्माणाधिन पुल नै मस्र्याङदीमा खसेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । यसअघि पुल खस्नै लाग्दा निर्माण कम्पनीलाई स्टीलहरु झिकेर राख्न निर्देशन दिए पनि समयमा काम हुन नसक्दा अहिलेको बाढीले टेको बगाएको र नदीमा पुल खसेको उनले बताए ।

पूर्वाधार विकास कार्यालय लमजुङका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीका अनुुसार साविकको जिल्ला विकास समिति मनाङले अघि सारेको योजना तत्कालीन प्राविधिक कार्यालयले हेरेको थियो । प्राविधिक कार्यालय हटेको र अहिले पूर्वाधार विकास कार्यालय मनाङमा नरहेकाले लमजुङबाटै हेरिरहेको उनले बताए । उनका अनुसार ग्याल्वा–क्याराभान जेभी काठमाडौंसंग २०७३ असार ३० गते मा चार करोड ५१ लाखरुपियाँमा सम्झौता भएर काम सुरु गरिएको थियो । पुलको निर्माणकार्य २०७५ मंसिर १५ मा सक्नुपर्ने थियो । उक्त पुलको लम्बाई ३५ मिटर र चौडाई साँढे ४ मिटरको छ ।

जिल्ला समन्वय समिति मनाङले २०७५ चैत १९ गते पूर्वाधार कार्यालयलाई उक्त पुलको फाइल हस्तान्तरण गरेको थियो । नदीमा पानीका बहाव बढ्दै जाँदा टेकोको जगलाई खोल्दै लगेको र पुल बगाएको उनले बताए । उनका अनुसार पुलको स्टील पार्टहरु बांगिएको र तल खसेको छ । केही बांगिदै गर्दा निर्माण कम्पनीलाई भनेको र लमजुङ–मनाङ सिमाना म्यार्दीमा पुल बगाएपछि सवारी आवागमन रोकिँदा स्टील खोल्ने सामान पुग्न नसक्दा अहिले आएर पुल खसेको हो । उनले भने ‘जसोतसो कामदार पुल पुग्यो । स्टील खोल्ने सामान पुग्न नसक्दा कामदारले स्टील झिक्न पाएनन् । अन्तमा पुल खस्यो ।’

पुल निर्माण कम्पनी क्याराभान कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रामकृष्ण कोन्डाका अनुसार स्टील गर्डर ब्रिजको स्टील जडानकार्य अन्तिम चरणमा पुगेको बेला मस्र्याङदीमा खसेको हो । पुलको चार वटा मेम्बर राख्न बाँकी थियो । उक्त मेम्बर राखिसकेपछि पुल कसेर ढलान गर्ने तयारी गरिएको थियो । मेम्बर पुरा राख्न नपाउँदै पुललाई राखिएको टेकोको बेस खोतलेर लगेपछि पुल खसेको उनले बताए । पुलका सवै पार्ट खसेको र बांगिएकाले उक्त मेम्बरहरु काम नलाग्ने उहाँले बताउनुभयो । उक्त स्टील करीब १ करोड मुल्य बराबरको रहेको उनले बताए ।

यसैबीच काभ्रे जिल्लाका ग्रामीण भेगमा सञ्चालनमा रहेका सडकहरूमा आएको पहिरोका कारण अबरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगेका छन । जिल्ला सदरमुकाम जोडिएका सडक भन्दा माथि खनिएका नयाँ सडक ट्याक भत्किएर पहिरो जाँदा अधिकांश ग्रामीण सडकहरु अबरुद्ध भएको स्थानीयले बताएका छन ।

बेथानचोक गाउँपालिकाको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडक एक हप्ता देखी अबरुद्ध भएको स्थानीयले बताएका छन । बेथानचोक गाउँपालिका वडा न १ का नबराज सापकोटाले निरन्तर चलिरहेको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडक भन्दा माथि खनिएको नयाँ ट्याकका कारण आएको पहिरोका कारण सडक बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर भएको बताए । 

बेथानचोक गाउँपालिका वडा नं १ लामिडाँडाका भरत तिमल्सिना घर निर्माण गर्ने क्रममा घरको छानाबाट लड्दा सख्त घाइते भए पनि उपचारका लागि ल्याउन नसकेको स्थानीयले फोन मार्फत जानकारी दिए । बेथानचोक गाउँपालिका वडा न १ का वडा सदस्य समेत रहेका गोपालकृष्ण सापकोटाले घर निर्माण गर्ने काम गर्दै आएको तिमल्सिनाको विहीबार साँझ छानाबाट लडेका थिए । लडेर घाइते हुनुभएको उनक हात भाँचिनुका साथै हात तथा अविरल वर्षा सँगै उक्त क्षेत्रको सडक पूर्णरुपमा बन्द हुनुका साथै विभिन्न क्षेत्रमा गएको पहिरोका कारण गोरेटोबाटो समेत हिँडन नसक्ने अवस्था रहेको स्थानीयले जानकारी दिएका छन् । 

बेथानचोक गाउँपालिका वडा न १, खानीखोला गाउँपालिका वडा न ६ र ७ र ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा न ४ र ५ का केही भागका स्थानीयहरुले सडक अबरुद्ध हुँदा सास्ती पाएको सापकोटाले बताए । 

त्यस्तै जिल्लाको महाभारत गाउँपालिकामा पनि यातायात सञ्चालन अबरुद्ध भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिए । जिल्ला सदरमुकामसँग अझै सिधैँ सडक नजोडिएको उक्त गाउँपालिकामा सिन्धुली जिल्ला भएर जानुपर्ने बाध्यता रहेको छ । 

गाउँपालिका अध्यक्ष जिम्वाले अविरल बर्षाका कारण अधिकांश ग्रामीण सडकमा पहिरो जाँदा यातायात सञ्चालन बन्द भएको बताए । जिल्लाको खानीखोला गाउँपालिका जोड्ने खोपासी–तालढुङ्गा सडकमा पनि ठाउँठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको स्थानीयले बताएका छन । त्यस्तै तेमाल, रोशी, चौँरीदेउराली, भुम्लु गाउँपालिकामा वडा वडामा जाने सडकहरु अबरुद्ध भएका छन । असारे विकासका कारण खनिएका सडकहरु भत्किने गर्दा भएका पुराना सडकहरु पुनःबन्द हुन पुगेको स्थानीयको भनाई छ ।