बाढी­पहिरोको विपद : राहत र उद्धारलाई थप प्रभावकारी बनाउने निर्णय

बाढी­पहिरोको विपद : राहत र उद्धारलाई थप प्रभावकारी बनाउने निर्णय

काठमाडौँ, २८ असार ।    सरकारको विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको बैठकले आवश्यकतानुसार राज्यका सबै अङ्ग परिचालन गरी विपद जोखिम न्यूनिकरण र उद्धारमा लाग्ने निर्णय गरेको हो । 


बैठकमा उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा, बादल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, विभिन्न मन्त्रालयका सचिव तथा सरकारी एवं सुरक्षा अधिकारीहरुको सहभागिता थियो । 

उक्त बैठकले आवश्यक स्थानमा हेलिकप्टर प्रयोग गर्दै अबरुद्ध राजमार्गहरु तत्काल खुलाउने, खानेपानी र खाद्यान्नको व्यवस्थापनमा सबै निकाय चुस्त भएर लाग्ने निर्णय समेत गरेको छ । बाढी र पहिरोबाट उत्पन्न समस्या समाधान गर्दै दैनिक जीवनयापन सहज बनाउनका लागि थप क्रियाशील हुन बैठकले स्थानीय तहलाई निर्देशनसमेत दिएको छ ।  


रोग व्याधी फैलन नदिन तत्कालै स्वास्थ्यकर्मीको परिचालनका साथै क्षति रहेको सडक, पोल लगायत भौतिक संरचना तत्काल निर्माण गरी सञ्चालनमा ल्याउने र  घर, कार्यालयलगायत अन्य निर्माणका लागि योजना बनाएर अघि बढ्नेसमेत बैठकले निर्णय गरेको छ ।  


बैठकमा बोल्दै उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राहतको कामलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै विपद सम्बन्धी गतिशिल किसिमको स्थायी संरचना आवश्यक भएको बताए । उनले विपदको क्षतिबारे एकद्वार प्रणालीबाट जानकारी दिने व्यवस्था मिलाउन समेत आग्रह गरे ।


बैठकमा बोल्दै गृह मन्त्री रामबहादुर थापा, बादलले सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गरिएको जानकारी दिंदै घटना लगत्तै जोखिम न्यूनीकरण, उद्धार तथा राहतमा सबै संयन्त्रहरु प्रिचालन भएको जानकारी गराए । 


उनले लगातारको बर्षाका कारण शुक्रबार हेलिकप्टर उडान गर्न समस्या भएको जानकारी दिंदै आज आवश्यकता अनुसार प्रयोग गरिएको तथा पर्याप्त डुङगा नहुँदा उद्धारमा केही कठिनाइ उत्पन्न भएको बताए । गृहमन्त्रीले एकद्वार प्रणालीमार्फत राहत वितरणको व्यवस्था मिलाउन लागिएको समेत बैठकमा जानकारी दिए ।

गृहमन्त्री थापाको अध्यक्षतामा बसेको समितिको बैठकबारे जानकारी दिंदै गृह सचिव प्रेमकुमार राईले अहिलेसम्म भए गरेका काम र घटनाको विषयमा समीक्षा भएको जानकारी दिंदै विभिन्न जिल्लामा राहत र उद्धार कार्यलाई तिब्रता दिएको बताए ।