प्रदेश २ सरकारद्वारा बाढीमा मृत्यु भएका परिवारलाई ३/३ लाख राहत दिने निर्णय, सिरहाका पाँच हजार घर डुबानमा

प्रदेश २ सरकारद्वारा बाढीमा मृत्यु भएका परिवारलाई ३/३ लाख राहत दिने निर्णय, सिरहाका पाँच हजार घर डुबानमा

जनकपुर, २८ असार । बाढी पहिरोका भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश २ सरकारले मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

बिगत केही दिन यताको अविरल वर्षाले प्रदेशभरिकै जनजीवन आक्रान्त भएको भन्दै आज बसेको प्रदेश मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धार लाई निरन्तरता दिदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

यस्तै बैठकले राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १० /१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।
 
मन्त्री परिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ । 

बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भई रहेको मन्त्री यादवले बताए ।
 

बाढीका कारण सिरहाका पाँच हजार घर डुबानमा

यसैगरी अविरल वर्षासँगै कमला नदीसहित बिभिन्न खोलाको बाढीले सिरहाको अधिकांश गाउँ डुबानमा परेका छन् ।

बाढीका कारण अहिलेसम्म सिरहामा करिब पाँच हजार भन्दा बढी घर डुबानमा परेका छन् भने दुई हजार भन्दा बढी परिवार विस्थापित भएका छन् । 

कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, औरही गाउँपालिका लगायतका बिभिन्न स्थानीय तहको अधिकांश वडाहरु डुबानमा परेका छन् ।

डुबानमा परेका ती स्थानका करिब दुई हजार भन्दा बढी परिवारलाई सुरक्षाकर्मीहरुले सुरक्षित स्थानमा सारेका छन् । 

कमला नदीको बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका १२ स्थित सारस्वर, सिरहा नगरपालिका ६ स्थित बसबिट्टा र कल्याणपुर नगरापालिका १२ गम्हरियाकट्टी लगायतको अधिकांश वडा डुबानमा परेको छ भने सदरमुकामका अधिकांश कार्यालयहरु जलमग्न भएका छन् । 

निरन्तरको बर्षाका कारण गाउँ गाउँमा जलस्तर बढ्दै गएको र सडक तथा घरहरु भत्किएका कारण स्थानीयहरुलाई उद्धार गर्न समस्या भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जानकारी दिए । 
 
बाढीबाट प्रभावित बस्तीहरुमा सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार कार्यलाई जारी राखेको प्रअिज अधिकारीको कथन छ ।