हेलिकप्टरबाट बाढीमा फसेका नौ जनाको ४८ घण्टापछि उद्धार, बाढीले बगाउँदा एक बेपता, बालिकाको मृत्यु
सिरहा, २८ असार । नेपाली सेनाको हेलिकप्टरले आज साँझ कमला नदीको बाढीमा फसेका इन्जिनियरसहित नौ जना कामदारलाई ४८ घण्टापछि सकुशल उद्धार गरेको छ ।
कमला नदीमा निर्माणाधिन पुलको काममा खटिएका इन्जिनियरसहित नौ कामदारहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट साँझ ६ ः २० बजेतिर सकुशल उद्धार गरिएको हो ।
गत बिहीवार साँझबाट बाढीको बीचमा फसेका उनीहरुले पुलमा बसेर साथमा रहेको मोबाइलबाटै आफन्त तथा जिल्लास्थित प्रहरीमा हारगुहार गर्दै ज्यान जोगाइदिन याचना गरिरहेका थिए ।
निर्माणाधीन पुलमै बसेर उद्धारको प्रतिक्षा गरिरहेका इन्जिनियरसहितका कामदारहरलाई हिजोदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र गोताखोरले उद्धारको प्रयास जारी राखेका थिए । तर नदीमा पानीको बहाव उच्च भएकाले सफल हुन सकेको थिएन भने राजधानीबाट पटकपटक उद्धारका लागि हेलिकप्टर उडान भए पनि मौसम प्रतिकुलताका कारण बाटोबाटै फर्किएकाले उद्धार सम्भव भएको थिएन ।
लामो प्रयास पश्चात आज साँझ सेनाको हेलिकप्टरबाट सबैलाई सकुशल उद्धार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।
यस्तै अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले बगाउँदा सिरहाको कल्याणपुर नगरपालिका ४ का कामेश्वर यादव बेपता भएको छ ।
बाढीमा बेपता भएका यादवको सुरक्षाकर्मीहरुले खोजी जारी राखेको छ । यस्तै सिरहाको मिर्चैयास्थित सडकमा जमेको पानीमा डुबेर स्थानीय ११ बर्षीया रागिनी कुमारी महतोको मृत्यु भएको छ ।
बाख्रा चराउन गएकी रागिनीको शब साँझ खाँल्डोमा डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जानकारी दिए ।
प्रतिक्रिया