अमेरिका आगोसँग खेल्न खोजेको चीनको चेतावनी

अमेरिका आगोसँग खेल्न खोजेको चीनको चेतावनी

काठमाडौ । चीनले ताइवानलाई  हतियार बेच्ने अमेरिकी निर्णयलाई आगोसँग खेल्ने निर्णय भएको भनी चेतावनी दिएको छ ।

अमेरिकाले ताइवानलाई २ अर्ब भन्दा बढी मूल्य बराबरको हतियार र टयांक बेच्ने निर्णय गरेपछि चीनको यस्तो चेतावनी सार्वजनिक भएको हो ।

साथै चीनले यस्तो हतियार बेच्ने कम्पनीमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको यो निर्णयलाई चीनले आफ्नो राष्ट्रिय अखण्डता र सार्वभौमिकता तथा राष्ट्रिय सुरक्षामा खतरा भएको बताएको छ ।

चीनले भन्यो – अमेरिकाको यो निर्णय आगोसँग खेल्ने जस्तो छ ।”

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी विदेश विभागले ताइवानलाई १०८ अब्राहम टयांक र २५० स्टिंगर मिसाइल बिक्री गर्न पाउने अनुमति दिएको जनाएको थियो ।

पेन्टागनले यो हतियार सम्झौताबाट यस क्षेत्रको सैन्य सन्तुलनमा कुनै असर नपर्ने जनाए पनि चीनले भने यो हतियार सम्झौताप्रति आपत्ति प्रकट गरेको हो ।

ताइवान प्रमुख साई इंग वेन अमेरिका र क्यारेबियन देशको यात्रामा रहेका बेला चीनको यो आपत्ति सार्वजनिक भएको हो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता जेङ्ग शुआङ्गले अमेरिकाले औपचारिकरूपमा एक चीन नीतिलाई मान्यता दिएकोमा ताइवानसँगको यो सम्झौताले त्यो सिद्धान्तको उल्लंघन भएको जनाए ।

अमेरिकी विदेश विभागले चीनको यो अभिव्यक्तिप्रति टिप्पणी गर्न इनकार गरेको छ ।

हतियार बेच्ने कम्पनीले पनि कुनै जवाफ दिन मानेको छैन् ।