यात्रा अघि सडकबारे जानकारी लिन सरकारको आग्रह

 यात्रा अघि सडकबारे जानकारी लिन सरकारको आग्रह

काठमाडौ । सरकारले यात्रा गर्न अघि सडकको बारेमा जानकारी लिएर सडक यात्रा गर्न सबैमा आग्रह गरेको छ ।

अविरल वर्षाले निम्त्याएको  बाढी पहिरोले धनजनको क्षतिका साथै विभिन्न ठाउँका सडक बाटाहरू अवरूद्ध हुन पुगेका छन् ।

यस्तोमा लामो दूरीको यात्रामा जानेहरूले सडकको बारे जानकारी लिएर जाँदा ठीक हुने भनेर त्यसबारे जानकारीका लागि नेपाल प्रहरीले ०१–४४१२७८० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय सञ्चालन विभागको यो नम्बरले सडकहरूको जानकारी उपलब्ध गराउँछ ।

बाढी र पहिरोले गर्दा अहिलेसम्म कम्तीमा ४३ जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १८ जना महिलो र २५ जना पुरूष रहेका छन् । कम्तीमा २० जना घाइते भएको र २४ जना हराइरहेको नेपाल प्रहरीको एक प्रतिवेदनमा उल्लेख छ ।

ललितपुर, भोजपुर, मकवानपुर, काठमाडौ, ओखलढुंगा, काभ्रेपलान्चोक, खोटाङ,झापा, सिन्धुली, धादिङ, सुनसरी, बारा, रौतहट, धनुषा, चितवन, पाल्पा, रामेछाप , इलाम र डोल्पामा बाढी पहिरोबाट मृत्यु भएको जनाइएको छ ।

विगत दुई दिनमा बाढीबाट १०,३८५ घरधुरी ढुबानमा रहेका थिए । विशेषगरी सिरहामा ५ हजार, सर्लाहीमा ३ हजार , मोरङमा १ हजार ६सय ६५ घरपरिवार विस्थापित भएका छन् ।

प्रहरीले १ हजार १ सय ४ जनालाई सो प्रतिवेदन बनाउँदासम्म उद्धार गरेको थियो ।

उपत्यकामा मात्रै प्रहरीले १८५ जनाको उद्धार गरेको छ ।

बाढी पहिरोमा फेसकाहरूका उद्धार गर्न २७ हजार ३८० प्रहरी जवान परिचालित भएका छन् ।

ती मध्ये काठमाडौमा मात्रै ८ हजार ८५६ प्रहरी जवान परिचालित छन् ।