भारतबाट उड्ने विमानहरूका लागि पाकिस्तानी हवाई मार्ग खुला

भारतबाट उड्ने विमानहरूका लागि पाकिस्तानी हवाई मार्ग खुला

काठमाडौ । पाकिस्तानले १३९ दिनपछि भारतबाट उड्ने विमानहरूका लागि आफ्नो हवाई मार्गमा लगाएको बन्देज फुकुवा गरेको छ ।

पाकिस्तानको बालाकोट क्षेत्रमा भारतबाट भएको हवाई आक्रमण पछि  यो बन्देज लगाइएको थियो ।

सोमबार रातिदेखि पाकिस्तानले भारतलगायत सबै विमानहरूको उडानका लागि आफ्नो हवाई मार्गलाई फेरि खुला गरेको हो ।

युरोपियन, उत्तर अमेरिका र खाडी देशहरूमा जाने र त्यहाँबाट आउने यात्रु विमानको लागि पाकिस्तानले आफ्नो हवाई मार्ग बन्द गरेको थियो ।

भारतीय सेनाले बालकोटमा रहेको जैश ए मोहम्मदको आतंकवादी शिबिरमा बिना पूर्व जानकारी फेबु्रअरी २६मा गरेको  हवाई आक्रमण पछि यो बन्देज लगाइएको थियो । 

त्यसपछि  भारतबाट उडान भर्ने र भारत आउने सबै विमानहरूलाई गुजरात प्रदेशको माथिबाट अरबसागरलाई पार गरी जाने हवाई मार्गको प्रयोग गर्नु परेको थियो ।

गत महिना संघाई सम्मेलनमा भाग लिन कीर्गिस्तान जाने बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ४८ घन्टा सम्मका लागि हवाई मार्ग पाकिस्तानले खोलेको थियो ।

त्यसपछि पाकिस्तानले हवाई मार्ग खुला गर्ने अपेक्षा गरिएको थियो ।

यसबाट भारतको ध्वजबाहक विमान सेवा एयर इन्डियालाई करोडौं रूपैयाको घाटा भएको छ ।

एक अनुमान अनुसार ४ अर्ब ९१ करोड भारु बराबरको  घाटा भएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका अनुसार यस बन्देजबाट २३३ विमानका यात्रुहरूलाई दैनिक हैरानी भोग्नुपर्ने थियो।