ट्रम्प आफ्नो रङ्गभेद नीतिमा कायमै

 ट्रम्प आफ्नो रङ्गभेद नीतिमा कायमै

काठमाडौ । रङ्गभेद नीतिलाई प्रोत्साहन गरेको भन्दै कारबाहीको माग उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भनाइमा धेरै अमेरिकी सहमत भएको बताएका छन् ।

प्रतिपक्षी डेमोक्रेट्स पार्टीकी चार महिला सांसदहरूलाई ‘षडयन्त्रकारी चार’(स्क्वाड) भनी सम्बोधन गरी उनीहरूलाई जुन देशबाट आएको त्यही देशमा जानु भनेर अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गरेपछि अमेरिकामा  उनका विरूद्ध कारबाहीको माग उठिरहेको छ ।

तर आफू त्यस भनाइमा कायम रहेको बताउँदै  ट्रम्पले डेमोक्रेट्स पार्टीका ती चार सांसदलाई फेरि यहाँ खुशी नभए आफ्नै देश फर्क भनेका छन् ।

ट्रम्पले भने “मैले जे भनेको छु त्यसले मलाई फर्क पार्दैन् किनकि धेरै मानिस मसँग सहमत छन् ।”

उनले सन् २०२०को निर्वाचन जित्न यस्तो राजनीतिक लाइन लिएको कतिपयको बुझाइ छ ।

रिपब्लिकन सिनेटर मिट्ट रोम्नीले ट्रम्पको भनाइलाई ध्वंसात्मक र अपमानित खालको भएको टिप्पणी गरेका छन् ।

मिन्टोसाबाट इल्हान ओमार, न्यूयोर्कबाट अलेग्जन्ड्रिया ओकासियो कोर्टेज, म्यासाचुसेट्सबाट अयान्ना प्रेसली र मिचिगनबाट रसिदा त्लाइबसमेतलाई संकेत गरी ट्रम्पले उनीहरूलाई जहाँबाट आएको भए त्यही जाउँ भनेका थिए । यी चार मध्ये तीन जना अमेरिकामै जन्मेकी छिन् ।