फेक, जङ्क र स्यूडो समाचार

फेक, जङ्क र स्यूडो समाचार


भवानी बराल

फेक न्युज वा फेक समाचार मूलधारको पत्रकारिता, सामाजिक सञ्जाल र राजनैतिक वृत्तमा खुबै सुनिने नाम हो । अंग्रेजी शब्द सागरमा यस्तो समाचार फेक, जङ्क र स्यूडो (Pseudo) नामले परिचित छ । भर्नाकुलर नेपाली भाषामा यस्ता समाचारलाई खोटा, मिथ्या, छद्म, कृत्रिम, बनावटी, नक्कली, असत्य, झुटो, कपोलकल्पित, पाल्सी आदि अनेक नाम दिन सकिन्छ । अन्ततः पत्रकारिताको शब्दकोशमा चेक बुक पत्रकारिता वा पीत पत्रकारिता पनि भनिन्छ ।

नेपालमा पनि यस प्रकारको समाचारको खेतीपाति लगाउने पत्रकारिता फस्टाउँदो छ । गज्जव त के छ भने यस्तो पत्रकारिता गर्नेहरुको राष्ट्रिय सञ्जाल नै छ । यसको केन्द्रीय हेडक्वार्टरको नेतृत्व काठमाडौंका पीत पत्रकारिता गर्नेहरुले गर्छन् । यस किसिमका पत्रकारितामार्फत् विगतमा ऋतिक रोसन काण्ड, श्रीषा कार्की मृत्यु प्रकरणसम्मका दुर्घटना भएका थिए । यसका अतिरिक्त फेक समाचारबाट पीडित हुनेहरुको लामो फेहरिस्त बन्छ । तर, जानाजान फेक समाचार उत्पादन, सम्प्रेषण गर्ने व्यक्ति (सम्पादक/प्रकाशक) र सञ्चार संस्था आजसम्म दण्डित भएका छैनन् । पीडितले न्याय पाउने त कुरै भएन, उदाहरणसम्म छैन ।

उत्पत्तिको कथा

फेक (खोटा, छद्म) समाचारको उत्पत्तिको कथा भने लामो छ । पूर्वीय दर्शनको आधारमा भन्ने हो भने रामायण, महाभारतकालीन साहित्यमा छद्म समाचारको उल्लेख पाइन्छ । ‘नरो वा कुञ्जरो, अश्वस्थामा हतोहत’ यस्तो पाल्सी सूचना त्यहाँ प्रस्तुत भएको थियो ।

पछिल्लो पटक युद्धकालीन समयमा छद्म समाचार सुरु भयो । पहिलो र दोस्रो विश्वयुद्धमा छद्म समाचारलाई संस्थागत गरियो । राजनीतिले नै यस्तो छद्म समाचारलाई मान्यता दियो ।

पहिलो विश्वयुद्धको आसपासको समयमा अमेरिकामा जर्ज ब्रिक गरेका व्यक्तिलाई प्रोपोगण्डा आयोगको प्रमुख बनाइयो । त्यहीँदेखि फेक (खोटा, छद्म) समाचारको आधुनिक युग सुरु भएको मानिन्छ । जर्जले सरकारी स्तरमा फेकलाई संस्थागत रुप दिए । सन् १९१६ मा अमेरिकी र गैरअमेरिकी, गोरा र कालाबीच अविश्वास पैदा गराउन फेकको भरपुर प्रयोग भयो ।

छद्म पनि भ्रष्ट

सुरुसुरुमा छद्म समाचार शत्रु देशका विरुद्ध प्रकाशन ÷प्रसारण गरिन्थ्यो । आफ्नो देशको हितका निमित्त छद्म समाचार छापिन्थे । आफ्नो देशको दुनो सोझ्याउने रणनीति छद्म समाचारमार्फत् गरिन्थ्यो । तर, समय वित्दै जाँदा छद्म पनि भ्रष्ट भयो । छद्म समाचारलाई अन्तरदेशीय मामिलामा पनि प्रयोग गरिन थालियो । 

यतिमात्र होइन, अन्तरसमुदाय, अन्तरजातीय, अन्तरलिङ्गीय मामिलामा प्रवेश गर्ने, घृणा फैलाउने, भ्रम फैलाउने र भड्काउने औजारको रुपमा यो प्रयोग हुन थाल्यो । अहिले छद्म समाचारलाई यति पतन गराइएको छ कि यो हतियार व्यक्तिलाई खुइल्याउने, मानमर्दन गर्नेसम्मको औजार बनेको छ । 

 

महिला, दलित, उत्पीडित, अल्पसङ्ख्यक, सीमान्तकृतहरुलाई मानमर्दन गर्ने फेक समाचार सहज हतियार बनेको छ । नेपालमा पिछडिएको सामाजिक सांस्कृतिक मान्यताले घर गरिरहेका बेला महिलाहरुलाई एउटै फेक समाचार काफी हुन्छ । फेक समाचार एउट व्यवस्थाका विरुद्ध अर्को व्यवस्था वा शासन तन्त्रलाई जोगाउने अभियान अन्तर्गतमात्र सीमित छैन । यो पूरै व्यक्ति–व्यक्तिसँग मोलतोल गर्ने, मोलतोल मिले समाचारलाई थन्क्याउने, पहिलो पटक साङ्केतिक रुपमा प्रकाशन गर्ने बाँकी आगामी अङ्कमा आउने सङ्केत दिने र मोलतोल गर्ने गरिन्छ । यस्तो मामिलामा नेपालका थुप्रै नेता, कर्मचारी, न्यायाधीश, व्यापारी, सामाजिक कार्यकर्ता पीत पत्रकारको रजिष्टरमा दर्ता छन् । मोलतोल नमिलेका बखत तिनको फेक समाचारबाट दोहोलो काढिनेछ । कुनै एउट काल्पनिक ‘मि–टु’ कथामा पात्र उभ्याएर मार्नमर्दन गरिन्छ, गरिनेछ र गरिँदै आएका प्रशस्त उदाहरण छन् । 

प्रोपोगण्डा र छद्म (फेक) पत्रकारिता

प्रोपोगण्डा छद्म (खोटा) पत्रकारिताको समानार्थी शब्द होइन । प्रोपोगण्डा सत्यतथ्यको आधारमा निर्माण गरिने समाचार हो । प्रोपोगण्डामा सत्यतथ्यको निश्चित अंश हुन्छ । सत्यतथ्यको आधारमा बढाइचढाई गरेर उत्पादन गरिने सूचना नै प्रोपोगण्डा हो । यस्ता समाचारमा सच्चाइको आभाषसम्म हुन्छ । तर, छद्म (खोटा) समाचार शतप्रतिशत कपोलकल्पित हुन्छ ।

छद्म (खोटा) पत्रकारिताले स्थापित आस्था र विश्वासमाथि प्रहार गर्छ । ‘कु’तर्क र ‘कु’शैलीको सहयोगमा आस्था र विश्वास डगमगाउने हदको सूचना प्रवाह हुन्छ । निश्चित वैज्ञानिक दर्शन र राजनैतिक विचारलाई कुनै पात्र विशेषको वैयक्तिक दैनिकीसँग जोडेर तेजोबध गर्ने गरिन्छ । यसरी आस्थामाथि अविश्वास पैदा गरेर वैचारिक पलायन गराउने र पाठकलाई मुख्य मुद्दाबारे भ्रम दिई अन्यत्र मोड्ने काम गरिन्छ । यस्तो समाचारले भ्रममात्र फैलाउँदैन, घृणा पनि फैलाउँछ र मृत्युको मुखसम्म पु¥याउँछ ।

खोटा समाचार : राजनैतिक औजार

खोटा समाचार राजनैतिक औजारको रुपमा पनि व्यापक प्रचलनमा छ । सामाजिक सञ्जालका विभिन्न माध्यम फेसबुक, ट्वीटर, वाड्सएप, ब्लगलगायत विभिन्न माध्यमबाट यस्ता खोटा सूचना दिइन्छ । र, ती सूचनालाई अत्याधिक (बुस्ट या अन्य तरिका अपनाएर) प्रायोजन गरिन्छ । यस्तो काममा सोझै नेताहरु पनि लागेका हुन्छन् ।

यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘फेक न्युज’को शिकार भएको विश्वव्यापी प्रचारमा लागेका छन् । तर निर्वाचनको समयमा उनले पनि फेक न्युजको सहारा लिएको दृष्टान्त पाइन्छ । ट्रम्पले निर्वाचनको समयमा लोकप्रिय हुने नाममा पूर्व राष्ट्रपति बाराक ओबामामाथि यस्तै फेक न्युजको सहारा लिएर आक्रमण गरेका थिए । उनले ओबामाको जन्म मिति गलत भएको टिप्पणी गरेका थिए । जसको कतै पनि पुष्टि भएन ।

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन फेक न्युजबाट पीडित हुने सबैभन्दा शीर्ष नेता हुन् । उनलाई सन् २०१५ मा जनावरसँग शारीरिक सम्बन्ध भएको व्यक्तिको रुपमा प्रस्तुत गरिएको थियो । हलिउडको एउटा चलचित्रको काल्पनिक कथाको आधारमा यस्तो फेक समाचार बनेको थियो । 

भारतमा खोटा समाचार

भारतीय मिडिया विश्लेषक विनित कुमारका अनुसार भारतमा सांस्कृतिक राष्ट्रवाद र हिन्दु गौरवको तथाकथित सूत्रलाई छद्म समाचारमार्फत् महिमामण्डित गरिँदोछ । अन्य संस्कृति र राष्ट्रियतालाई होच्याउने यो नौलो फेक पद्दति हो । यसले भारतको लोकतन्त्र मुद्दामा आधारित नभएर धर्म, जात र संस्कृतिको आधारमा विभाजन हुने खतरा बढेको बढ्यै छ ।

अमेरिकामा ट्रम्पले अमेरिकी सर्वश्रेष्ठ राष्ट्रवादको नारा उछालेका छन् । मोदीले ‘हिन्दु गौरव र हिन्दु सांस्कृतिक राष्ट्रवाद’मार्फत् राजनैतिक दर्शनमाथि अविश्वास पैदा गराएका छन् । हिन्दु धर्म र संस्कृतिमा आमभारतीयहरुमा जबर्जस्त विश्वास पैदा गराएका छन् । यसरी यो विश्वासमाथि प्रश्न उठाउन नसक्ने गरी समुदायमा भ्रम पैदा भएको छ । जब कुनै पनि विषयमा विश्वासमात्र पैदा हुन्छ, यस्ता अवस्थामा सवाल उठाउने हिम्मतको अन्त्य हुन्छ । 

यस्तै छद्म समाचारको विशेषतामाथि चर्चा गर्दै विनित कुमारले भनेका छन्, ‘यस्ता समाचारमार्फत् पहिले निश्चित विषयमा आस्था पैदा गराइन्छ । आस्था जागेपछि र विश्वास बढेपछि आस्थामा सवाल कसैले गर्दैन ।’

यसरी नै भारतका अर्का छद्म समाचारका अध्येता प्रतिक सिन्हाका अनुसार नेताहरुले कार्यकर्तालाई छद्म समाचारमार्फत् चेतनाशून्य बनाउने काम गर्छन् । यसपछि कार्यकर्तामार्फत् सूचनालाई व्यापक प्रचार गरेर अन्यत्र फैलाइन्छ जसले आमसमुदायलाई भ्रमित तुल्याउँछ । यसरी कार्यकर्ताको मानसिक सक्रियता समाप्त भएपछि नेताको हालीमुहाली स्वतः बढ्छ । सवालजवाफ गर्ने, प्रश्न सोध्ने चेतनाको अन्त्य हुन्छ ।

गोयबल्स र खोटा समाचार

जर्मन नाजी पार्टीका प्रोपोगण्डा (सञ्चार) मन्त्री जोसेफ गोयवल्सले खोटा (छद्म) समाचारलाई स्थापित गराउने अनेक (१९ सूत्र) निकालेका थिए । नाजी फासीवादलाई स्थापित गराउन उनले एउटा झुटलाई सत्य बनाउन हजार पटक प्रचार गर्नुपर्ने प्रमुख सूत्र प्रयोग गरेका थिए ।

रमाइलो त के छ भने एडल्फ हिटलरले पहिलो पटक ‘रिच मिनिष्ट्री अफ पब्लिक इन्लाइटमेण्ट प्रोपोगण्डा’ नामको नयाँ मन्त्रालय गठन गरेर गोयवल्सलाई जिम्मा दिएका थिए । प्रोपोगण्डा मन्त्रालय नै पछि सूचना सञ्चार मन्त्रालयको नाममा स्थापित भयो । यसैले अझै पनि कतिपय देशमा सञ्चारमन्त्री नै सरकारको प्रवक्ता राख्ने चलन छ, सरकारी प्रोपोगण्डाका लागि । सम्भवत ः प्रोपोगण्डाको प्रतीकस्वरुप हुनसक्छ । 

प्रोपोगण्डा मन्त्रालयमार्फत् गोयवल्सले रेडियो, प्रेस, सिनेमा, नाटक र जर्मन संस्कृतिमाथि वर्चस्व स्थापित गरे । यिनै औजारको सहायताले आमजर्मनी मनोविज्ञानमा नाजी वर्चस्व स्थापित भयो । दोस्रो विश्वयुद्धको दौरान यहुदीमाथि यिनै माध्यमबाट प्रसारित छद्म समाचार यहुदीको नरसंहार गर्न फासीवादी नाजीहरुलाई सहायकसिद्ध भयो । 

रुवाण्डाको नरसंहारमा पनि यस्तै फेक र घृणा फैलाउने प्रस्तुति रेडियो र पत्रपत्रिकाको हात रहेको पछिल्लो घटना हो ।

लोकतन्त्र र खोटा समाचार

झुटसँग नलडे लोकतन्त्र संस्थागत हुन सक्तैन । नेपाली लोकतन्त्रको अपहरण झुटको खेती र झुटसँग लड्न नसक्दा भएको हो । लोकतन्त्र भनेको बालिक मताधिकारमा आवधिक निर्वाचन गर्नु मात्र होइन । २०४७ सालको संविधानलाई उत्कृष्ट संविधान भएको तथा यसको अल्पविराम र पूर्णविराम पनि संशोधन गर्न जरुरी नभएको व्यापक प्रचार थियो । अर्थात् छद्म सूचनामार्फत् यसलाई संसारकै उत्कृष्ट संविधानको रुपमा व्यापक प्रचार गरियो । 

नेपाली समाजको आधारभूत अन्तरविरोध, आर्थिक सामाजिक रुपान्तर गर्न खोजिएन । फलतः यो लोकतन्त्र संस्थागत नहुँदै अपहरणमा प¥यो । लोकतन्त्रलाई संस्थागत गर्न आएको संविधानमाथि प्रश्नहरु उठे । तत्कालीन सत्ताधारी दलले नेपालको आन्तरिक अन्तरविरोधलाई खुट्याउन सकेनन् वा चाहेनन् । सामन्ती एकात्मक राज्यव्यवस्थाको जगमा उभिएको लोकतन्त्रलाई स्वर्गीय ‘स्विजरलेण्ड’ ठाने । शान्तिपूर्ण परिवर्तनको बाटो अवरुद्ध हुन पुग्यो । यसैको फलस्वरुप भीषण सशस्त्र सङ्घर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र जबरन स्थापना भयो ।

तर, यतिले नै यो व्यवस्थाको पनि संरचना संस्थागत र विकास हुन भने सक्दैन । समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसका तीन तहका संरचनागत ढाँचाको संस्थागत विकास आवधिक निर्वाचनले मात्र हुने होइन । समाजवादको अमूर्त गन्तव्य देखाएर मात्र पनि हुँदैन र गुरु गम्भीर रुपरेखा बेगरको समाजवादको यसै पनि अर्थ हुन्न । यो कितावको भण्टासरह मात्र हो । विकास र समृद्धिको नारा जपेर त झनै हुने छैन ।

 

समानतामा आधारित विकास, राष्ट्रिय अर्थतन्त्रसहित सामाजिक, आर्थिक रुपान्तरण र राष्ट्रियताको आधारमा राजनैतिक व्यवस्थापनको रुपरेखासहितको वैज्ञानिक समाजवादले मात्र यसको दीर्घ जीवनको कल्पना गर्न सकिन्छ । यसका लागि संविधान संशोधन, परिमार्जन र पुनर्लेखनसम्म आवश्यक हुन्छ ।

समाजवाद, विकास र समृद्धि शब्द सागरमा गरिने व्याख्या, प्रवचन र सम्भाषण मात्र गरिने हो भने यो व्यवस्था पनि खोटा, मिथ्या, छद्म, फेक, जङ्क वा स्यूडो समाचारभन्दा बढी हुने छैन । 

गोयबल्सको पतन

सूचना प्रविधिको विकास नभएको सन्दर्भमा गोयवल्सको पतन हुन त्यो समयमा पनि एक दशक बढी मात्रै लाग्यो । आज निमेषमै गोयवल्सहरुको पतन हुन सक्छ । सन् १९३३ मा उदय भएका गोयवल्सको मृत्यु १ मे १९४५ मा भयो । उनको सहज पतन वा मृत्यु भने भएन । उनले आफ्ना ससाना अवोध छोराछोरीलाई मर्फिन इञ्जेक्शन दिएर परिवारसँगै आत्महत्या गरे ।

गोयवल्सको नियन्त्रणमा के थिएन ? रेडियो, प्रेस, सिनेमा, नाटक र जर्मन संस्कृतिमाथि वर्चस्व थियो । यहुदीविरुद्ध आममनेविज्ञान उनको पक्षमा थियो । नाजीविरुद्ध पात हल्लाउने ताकत प्रेसको थिएन ।

तर आधुनिक गोयवल्स प्रवृत्ति अझै बाँकी छ । छद्म प्रेसका आदिगुरुले स्थापित गरेको यो सूत्र झाङ्गिएर सञ्चारगृह र व्यक्ति प्रमुख सञ्चारका साधनसम्म फैलिएको छ । फरक यति हो गोयवल्सले जर्मनी फासीवादको रक्षार्थ फेक प्रयोग गरेका थिए । आजको प्रेसका केही घरानाले कर्पोरेटको हित रक्षा गर्न, शक्ति र पैसाका लागि यो छद्म प्रवृत्तिलाई अंगालेका छन् । अर्को घरेलु उद्योगजस्तो मिडिया सञ्चालन गरेका केहीले यसलाई कमाइखाने भाँडो बनाएका छन् । तर सूचना प्रविधिको विकासले यो प्रवृत्तिको विकास गर्ने सँगै काउण्टर गर्ने अवसर पनि दिएको छ ।

रहलपहल

धेरै अघि भारतीय पत्रकार गणेशशंकर विद्यार्थीले समाचारपत्र मेशिन र पत्रकार मेशिनको पुर्जा भएको उल्लेख गरेका थिए । यो भारतमा अंग्रेजको उपनिवेश कायम हुँदा बखतको कुरा हो । अहिले पनि यसमा तात्विक भिन्नता आएको छैन । उतिबेला शासकको दासत्व स्वीकार्न बाध्यता थियो । अहिले त्यसको ठाउँ कर्पोरेट हाउसले लिएका छन् । खोटा पत्रकारिताको मूल यहीँबाट फुट्ने गरेको छ । केही साना, मझौला छापा, विद्युतीय माध्यमले पनि आफ्नै हितमा शक्ति र पैसाका लागि खोटा, मिथ्या, छद्म, फेक, जङ्क वा स्यूडो समाचार प्रकाशन गर्दै भ्रम दिँदै आएका छन् । तिनले पत्रकारिताको कुटिर उद्योग खोलेर कारोबार चलाएका छन् । पत्रकारिताको विकास र विश्वसनियता बढाउन फेक प्रवृत्तिको अन्त्य यसकारण जरुरी छ । समयबद्ध साप्ताहिकबाट