भेनेजुएलाका राष्ट्रपतिको छोराको भ्रमणले कूटनीति क्षेत्रमा तरंग

भेनेजुएलाका राष्ट्रपतिको छोराको भ्रमणले कूटनीति क्षेत्रमा तरंग

 
काठमाडौ । सत्ताधारी दलका नेताहरू र  अनौपचारिक व्यक्तिगत भ्रमणमा आएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो गुएराका छोरा निकोलस अर्नेस्टो मदुरोबीचको भेटवार्ताले नेपालको कुटनीतिक सम्बन्धहरूमा तरङ्ग ल्याउन सक्ने देखिएको छ ।

विभिन्न सत्तारुढ दलका नेताले छोरा मदुरोसँग भेटेपछि नेपालको कुटनीतिक सम्बन्धहरूमा अनावश्यक तरङ्ग उत्पन्न गराउने देखिएको कतिपय कुटनीतिज्ञहरूले झिल्कोसँग बुझाइ साझा गरेका छन् ।

छोरा मदुरोले नेकपाका अध्यक्ष प्रचण्डसँग पनि भेटेका छन् । अमेरिकाले भेनेजुएलाका सत्ताधारी दलका नेता र तिनका परिवारहरूमाथि आर्थिक नाकाबन्दी लगाएको छ । छोरा मदुरोलाई पनि यो सूचीमा अमेरिकाले राखेको छ ।

भेनेजुएलाको राष्ट्रिय सभाका सदस्य समेत रहेका छोरा मदुरोको नेतृत्वमा शनिबार काठमाडौं आएको टोलीले नेकपाका नेताहरू झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटिसकेको छ । पूर्व प्रम माधव नेपालसँग पनि भेटेको चर्चा वाहिर छ । उनीहरूको प्रयास प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गर्ने रहेको थियो । 

सत्तारूढ पाटीको युवा संगठनका प्रमुख रामप्रसाद सापकोटाको निम्तोमा यो टोली नेपाल आएको हो । सापकोटा अनुसार टोलीमा सहभागीहरूमा चार जना सांसद र तीन जना कनिष्ठ मन्त्रीहरू रहेका छन् ।


सरकारसँग यो भ्रमणको कुनै सम्बन्ध नभएको सापकोटाले जनाएजस्तै परराष्ट्रमन्त्रालयले यो भ्रमणको जानकारी आफूहरूलाई नभएको जनायो ।

यो भ्रमणको उद्देश्य नेपालको समर्थन भेनेजुएलाको राष्ट्रपति मदुरोलाई प्राप्त होस भन्ने रहेको छ । यो भ्रमण भिएतनामबाट यहाँ आएको छ । यहाँबाट चीन र उत्तर कोरियाको भ्रमण गर्ने छ । नेकपा नेता बलराम बास्कोटाको समन्वयमा यो टोली आएको हो ।

अमेरिकासँग सम्बन्धका कारण नेपालको कुटनीतिक सम्बन्ध तातिएको बेला भेनेजुएलाको यो टोलीलाई यसरी स्वागत गर्नु नेपालको कुटनीतिमा तरङ्ग ल्याउन सक्ने देखिएको छ ।

यसअघि दलाई लामाको एजेन्ट भनी अमेरिकी नागरिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको विषयबाट अमेरिकासँगको कुटनीतिक सम्बन्धमा खलल परेको कतिपयको बुझाइ छ । 

भेनेजुएलाको विषयमा नेकपा अध्यक्षले विज्ञप्ति जाहेर गरेर समर्थन जनाउनसम्मको व्यवहार एक हदसम्म ठीकै भए पनि यस किसिमको व्यवहारलाई कुटनीतिक अपरिपक्वताको रूपमा लिइने विज्ञहरूको बुझाइ छ ।